धरहरा र रानीपोखरी बन्दैछन्, अरु कहिले बन्लान् ?

 बैशाख १२, २०७६ बिहिबार ७:४९:३० | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – बाजुरा बडिमालिका नगरपालिका – ८ की सीता बराल पाटन दरबारमा सेल्फी खिच्दै हुनुहुन्थ्यो । उहाँ भूकम्पपछि दोस्रो पटक दरबार घुम्न आउनुभएको हो । पहिलोपटक आएकोभन्दा अहिले पाटन दरबार फेरिएको देखेर उहाँ दंग पर्नुभयो  ‘भूकम्प लगत्तै बिजोग देखेको थिएँ’ उहाँले भन्नुभयो, ‘अहिले त धेरैजसो टेको हटिसके छन् ।’

उड्दै गरेका परेवाका साथमा दरबार क्षेत्रको सेल्फी लिंदै बरालले गुनासो गर्नुभयो, ‘सम्पदा पुनर्निर्माणमा सरकारले दिनुपर्ने जति चासो र प्राथमिकता दिएन ।’ उहाँ जस्तै पाटन दरबार घुम्न आउने धेरैले यस्तै गुनासा गर्छन् ।

ललितपुरको पाटन दरबार क्षेत्रमा पहिलेको भन्दा यो वर्ष पर्यटकको संख्या पनि बढेको छ । भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणको काम सुरु भएपछि आन्तरिक र बाह्य पर्यटकको भिड बढेको हो ।

पाटन दरबार क्षेत्रमा कृष्ण मन्दिरसँगै बहादुर शाहको बैठक, मूलचोकको तलेजु मन्दिर र सुन्दरीचोकको पूर्वी भाग पुनर्निर्माण भएको छ । भीमसेन मन्दिरअघिको सिंहस्तम्भ र योगनरेन्द्र मल्लको शालिक पनि बनिसकेका छन् । चार नारायण, हरिशंकर र विश्वनाथ मन्दिरको काम पनि अन्तिम चरणमा पुगेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । पाटनमा जस्तै अरु मुख्य सम्पदामा पनि काम सुरु भएको छ ।

रानीपोखरी फागुनदेखि सुरु

२०७२ सालको माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गर्नुभएको रानीपोखरी गएको फागुन २० गतेदेखि मात्रै काम सुरु भएको छ । शिलान्यासपछि काम सुरु भएको थियो । तर विवादले काम अघि बढ्न सकेन ।

अहिले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु भएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरी रानीपोखरी बनाउने बताउनुभयो । रानीपोखरीमा अहिले ४० जना कामदार खटिएका छन् । गएको माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर बनाउन प्राधिकरणलाई जिम्मा दिएको थियो । रानीपोखरी मल्लकालीन शैलीमै पुनर्निर्माण हुनेछ ।

काष्ठमण्डप पनि बन्दैछ

काष्ठमण्डपमा गएको माघ २७ गते चारवटा मूल थाम ठड्याउने काम भयो । काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यका अनुसार ४ मध्ये तीन खम्बा नयाँ बनाइएको हो । एउटा भने पुरानै प्रयोग गरिएको छ ।

मूल थाम राखेपछि काष्ठमण्डपको कामले गति लिएको हो । आउँदो असार मसान्तसम्म पहिलो तला सक्ने लक्ष्य छ । मन्दिर पुरानै ढाँचामा बन्नेछ । मन्दिरमा तीन तला हुनेछ । त्यस्तै हनुमानढोका दरबार परिसरमा रहेको आगम्छें मन्दिर स्थानीय समुदायले बनाउने भएका छन् । यो मन्दिर जापान सरकारले बनाउने जिम्मा पाएको थियो । तर स्थानीयले विरोध गरेपछि गएको फागुन १४ गते बसेको प्राधिकरणको बैठकले उपभोक्ता समितिबाट काम अघि बढाउन सहमति दिएको हो ।

धरहरा पनि धमाधम

धरहरा पुनर्निर्माणको काम यतिबेला धमाधम भैरहेको छ । विगतमा कहालीलाग्दो भए पनि केही महिना यता भने धरहरा परिसर फेरिएको छ । गएको असोज २४ गतेदेखि धरहरा बनाउने काम सुरु भएको हो । काम भैरहेको देख्दा धरहरा बन्ने भयो भन्ने आशा पलाएको काठमाण्डौ कपनका यज्ञ बुढाथोकीले बताउनुभयो ।

भूकम्पले भग्नावशेष बनेको धरहराको बाँकी भागलाई संरक्षण गरी नयाँ धरहरा बनाउन थालिएको छ । धरहरा जगलाई बलियो बनाउने काम भैरहेको छ । ३ अर्ब ४५ करोड रुपैयाँमा २ वर्षभित्रै सक्ने गरी धरहराको काम थालिएको हो । गोश्वारा हुलाक भत्काउनुपर्नेछ तर अझै पनि यो विषय अलमलमा परेको छ ।

रातो मछिन्द्रनाथको मन्दिर अलपत्र

भूकम्पले क्षतिग्रस्त धरहरा, रानीपोखरी, काष्ठमण्डप तीन वर्षपछि बनाउन सुरु भएको छ । काम सुरु भएकाले बन्ला भन्ने आश पलाएको छ । तर रानीपोखरीसँगै २०७२ साल माघ २ गते शिलान्यास भएको रातो मछिन्द्रनाथको मन्दिर अहिले पनि अलपत्र नै छ ।

श्रीलंकन सरकारले ललितपुर बुङ्गमतीको रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणका लागि काम सुरु गरेको हो । त्यसबेला दुई वर्षमा नै सक्ने भनेको काम तीन वर्ष बित्दा समेत सकिएको छैन । यसमा पनि स्थानीयले निगरानी र चासो राख्दै आएका छन् ।

विवादले ढिलो

विवादकै कारण धरहरा, रानीपोखरी, काष्ठमण्डप बितेका तीन वर्षमा अलपत्र परे । भूकम्प लगत्तै बनाउन थालिएको ललितपुर बुङमतीको रातो मछिन्द्रनाथको काम अझै सकिएको छैन । सम्पदा पुनर्निर्माणमा कालिगढ, निर्माण सामग्रीको अभावसँगै मौलिक शैलीको विवाद बेला बेला बल्झने गरेको छ । स्थानीय तहमा जनप्रतिनिधिलाई पनि सम्पदा क्षेत्रमा काम गर्न हम्मेहम्मे पर्ने गरेको छ ।

महत्वपूर्ण सम्पदामा अलमल पार्ने मात्रै काम भयो भन्नुहुन्छ, काठमाण्डाै महानगरपालिका १८ का वडाअध्यक्ष न्हुच्छेनारायण महर्जन । ‘खै किन हो थाहा भएन, तर सम्पदाप्रेमीबाट काम अगाडि बढ्न दिइएन, हामी पनि सम्पदा जोगाउनुपर्छ भनेरै लागेका छौं ।’

प्रगतिमा पनि ढिलासुस्ती

तथ्याङगत प्रगति केलाउँदा पनि सम्पदा पुनर्निर्माणमा अरु क्षेत्रको तुलनामा ढिलासुस्ती नै देखिन्छ । स्वास्थ्य, शिक्षा र सरकारी भवन पुनर्निर्माणमा झण्डै ६० प्रतिशतसम्म प्रगति छ । तर सम्पदामा अहिलेसम्म मात्रै ३० प्रतिशत प्रगति भएको छ ।

भूकम्प अति प्रभावित १४ जिल्लाका ७ सय ५३ सम्पदामध्ये अहिलेसम्म २ सय २४ सम्पदाको काम सकिएको छ । २ सय २१ मा अहिले काम भैरहेको प्राधिकरणको तथ्याङ्क छ । तीन सय ८ सम्पदा अझै बन्न सुरु भएका छैनन् । अरु १३ सय २० गुम्बा÷विहारको काम पनि सुरु हुन सकेको छैन ।

प्राधिकरणले गुम्बा पुनर्निर्माणको कार्यविधि तय गरी डिजाइन कार्य भैरहेको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली सम्पदाको कलात्मकता जगेर्ना, प्राचीन निर्माण सामग्रीको प्रयोग र स्थानीय समुदायको दैनिक जीवनसँग सम्बन्ध लगायतका कारणले सम्पदा सबैभन्दा जटिल क्षेत्र भएको बताउनुहुन्छ । प्राचीन स्वरूप र मौलिकतालाई ख्याल गरी सम्पदा पुनर्निर्माणको कामलाई गति दिन भने कुनै कञ्जुस्याइँ नगरेको उहाँको दाबी छ ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया