रेडियोबाट सबैलाई सुरक्षित हुनुहोस् भन्दाभन्दै थाहा भयो : घर लडेछ, भाइ घाइते भएछ

 बैशाख १२, २०७६ बिहिबार १९:४७:३३ | मिलन तिमिल्सिना
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - भात खाएर थाल धुँदै थिएँ, एकैपटक गुरुरु आवाज आयो र रिंगाउन थाल्यो । के भयो भनेर सोच्न नपाउँदै झ्यालबाट देखियो, वरपरका सबै घर अग्लो बाँस हल्लिए झैं हल्लिँदैछन् ।

‘लौन, ए भगवान, बचाउ, मेरो मेरो,...’ सबैतिर रुवाबासी र चिच्याहट । कहाँ जाने, के गर्ने, एकछिन त होश नै गुमाएजस्तो भो । कसरी कसरी ढोका मुनी पुगेछु । त्यहीँ भित्तो समाएर उभिएँ ।

नजिकको घरका मान्छे भगवान पुकार्दैथिए । अप्ठेरो परेको बेला भगवानलाई सम्झनुपर्छ भन्ने लागेर होला मेरो मुखबाट पनि रामराम, भगवान निस्क्यो । हल्लन थालेको केहीबेरमा थाहा भयो, भूकम्प आयो । उबेला भुइँचालाेआउँदा हजुरआमैले थाम समातेर मेरो मेरो भन्नुहुन्थ्यो । कोठामा समाउने थाम थिएन । ढोका समातेर मेरो मेरो भनें । यतिबेर हल्लाएपछि अब त रोकिएला भनेको रोकिंदैन ।

हल्लिएको हल्लियै भैरह्यो । वरपर घर भत्किएको आवाज आयो । म बस्ने घर पनि पुरानो । कोठामा सँगै भएकी जहान पनि माइत गएकी । जहानसँग भेट नभई मरिने भइयो भन्ने लाग्यो । मृत्युसँग डराउँदा डराउँदै भुइँचालाेसकियो । लौ बाँचियो भन्ने लाग्यो ।

त्यसपछि घरपरिवार, चिनेजाने सबैको याद आयो । सँगसँगै भुइँचालाेआएको कुरा रेडियोबाट तुरुन्तै भन्नुपर्छ, फेरि भुइँचालोको धक्का आउन सक्ने भएकाले यसबारे सबैलाई बेलैमा थाहा दिनुपर्छ भन्ने लाग्यो । त्यसपछि कोठामा ताला मारेर बाहिर निस्कें । माथि बस्ने दिदी सानो बच्चा च्यापेर रुँदै हुनुहुँदो रहेछ । केही हुन्न, तल खुला ठाउँमा बस्नुहोस् भनेर सान्त्वना दिँदै म अफिसतिर दौडिएँ । सडकभरी मान्छे रोइरहेका, वरपर पर्खाल भत्किएका । एउटा, दुईटा फोटो खिचेर दौडिरहेँ ।

बस्ने कोठा र अफिस नजिकै छ । भूकम्प रोकिएको २ मिनेटमै पुगे‌ । साथीहरु सबै तल उभिरहेका । गमला फुटेर यत्रतत्र छरिएको । सबै डराइरहेका । डर भएपनि हाम्रो आफ्नै पेशागत धर्म छ । माथि स्टुडियोमा गएर भुइँचालाेगएकोबारे भन्नुपर्छ भनेर साथीहरुलाई भनें र सबै माथि आयौं । त्यतिबेला १२ बजेर ४ मिनेट गएको हुनुपर्छ । घडी हेरिएन ।

यताउता सोच्दै नसोची म स्टुडियोमा पसें । साथीहरु टंक, प्रकाश, सजना र अच्युत फोन लगाउन र अनलाइनमा पोष्ट गर्नतिर लाग्नुभयो । भुइँचालाेफेरि फर्कनसक्छ भन्ने थाहा हुँदाहुँदै पनि अफिसको तीनतला माथि स्टुडियोमा पसेर म बोल्न थालें । ‘भर्खरै शक्तिशाली भुइँचालाेगयो, फेरि जान सक्छ, सचेत हुनुहोस्..’ कति रेक्टरकाे गयाे भन्ने थाहा थिएन । मैले बाेल्दाबोल्दै साथीहरुले बाहिरबाट ७ दशमलव ६ काे भन्नुभयाे । मैले भित्रबाट त्यही भने‌ । पछि मात्र थाहा भाे ७ दशमलव ८ काे गएकाे रहेछ । ७ दशमलव ८ काे गयाे भन्दाभन्दै फेरि भुइँचालाेगयो । साथीहरु बाहिर टेबलमुनी पस्नुभयो । प्राविधिक साथी सशिन्द्र के गरौं भन्ने अलमलमा पर्नुभयो । मेरो अघिल्तिरको माइक्रोफोन पुरै हल्लिरहेको छ ।

तैपनि हामीले काम छाडेनाै‌‌ । ‘फेरि भुइँचालाेगयो, नआत्तिनुस्, जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित बस्नुहोस्..’ भनिरहेँ । डर लागेपनि मेरो काम यही भन्ने मात्र लाग्यो । स्टुडियोभित्र पसेर भनिसकेपछि बल्ल झसँग भएँ । मैले बाआमा, जहान, भाइबुहारी, आफन्त, नातेदार कसैलाई सम्पर्क गरेको छैन । फोन हेरेको त बाले तीन पटक फोन गर्नुभएछ । म्यासेज पठाउनुभएछ । त्यसपछि बालाई फोन गरें । ‘घर भत्कियो, हामी सुरक्षित छौं, तर भाइहरुको फोन लाग्दैन, बुझ’ बाले भन्नुभयो ।

माइलो भाइ घरबाट काठमाडौं आउँछु भन्थ्यो । आमाले बिगौती समेत पठाइदिन्छु भन्नुभएको थियो बिहान । पहिला माइलो भाइलाई फोन गरें । फोन अर्कैले उठायो । ‘तपाईंको भाइ मोटरसाइकलबाट लडेर घाइते हुनुभएको छ, अहिले गजुरीमा’ सुन्ने बित्तिकै वरपर सबैतिर अन्धकार छायो । भुइँचालाेगएको बेलाभन्दा अहिले डर लाग्यो । डराउँदै सोधें, ‘भाइ बोल्छ ?’ ‘बोल्छ कुरा गर्नुहोस्’ भनेपछि थोरै सास आयो ।

‘दाइ म लडें, के भो थाहा छैन, यहाँ डाक्टरले हेर्न भ्याएका छैनन्’ भाइ रुन थाल्यो । ल नआत्तिकन बस भनेर बालाई फोन गरें । आफैं दौडेर जाऔं जस्तो पनि भयो । तर सम्भव थिएन । बा पुगेपछि मात्र मन हलुका भयो । पछि कान्छो भाइ आफैंले फोन गर्यो । जहान र अरु नातेदार पनि सकुशल रहेको थाहा भयो । आफ्नो घर भत्किएको छ । भाइ घाइते भएको छ । बाआमा बारीको पाटामा खुला आकाशमुनी बस्नु भएको छ । तर सान्त्वना दिन म जान पाएको छैन ।

एक मनले सोचें, ‘थुक्क के काम गरेछु, आफ्नो परिवारलाई समय दिन नपाइने ।’ अर्को मनले भन्यो, ‘आफ्नो परिवार र आफन्त होइन, सबैको बारेमा सोच्नुपर्ने यही त हो नि जिम्मेवारी ।’ त्यसपछि घर र परिवार सम्झँदै काममा लागें । पटकपटक भुइँचालाे गैरह्यो । ‘बाबु त्यति अग्लो अफिसमा नबस्नु, मिल्छ भने तल खुला ठाउँमा बसेर काम गर्नु’ अफिस देख्नुभएकी आमा घरबाट फोनमा भन्दै हुनुहुन्थ्यो । आमाले बरु जागिर नै छाड भन्नुहुन्छ कि जस्तो लागेको थियो, भन्नुभएन ।

‘तिम्रो काम त्यस्तै हो, तर जोगिएर गर्नुपर्छ, अग्लो घरमा नबसेर अन्त खुला ठाउँमा बसेर पनि त रेडियो चलाउन सकिएला नि’ आमाले भन्दा म भावुक भएँ । मेरो कामको बारेमा बुझ्ने आमा भएपछि के चाहियो र ? त्यसपछि फेरि भुइँचालोको जोखिम हुँदाहुँदै अफिसको अग्लो भवनमा बसेर साथीहरुसँगै काममा लागियो । पहिलो भुइँचालो आउँदा बरु त्यति डर लागेको थिएन । तर पटकपटक दोहोरिहँदा भने डर बढ्यो । पहिले बल्लबल्ल बाँचियो जस्तो लागेको थियो । त्यसपछि लाग्यो अब मरिने नै रहेछ । तर मरिएन । शोक र चिन्ताले मात्र सताइरह्यो ।

-उज्यालाे अर्काइभबाट

अन्तिम अपडेट: असार ३१, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया