यो वर्षको मनसुनः कतै औसतभन्दा कम, कतै औसत पानी पर्ने सम्भावना

 बैशाख १२, २०७६ बिहिबार १८:२२:२ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै - मौसमविद्ले यस वर्षको मनसुनमा प्रदेश १, २ र ३ का धेरै ठाउँ तथा प्रदेश ५ को पश्चिमी क्षेत्रमा औसतभन्दा कम पानी पर्ने अनुमान गरेका छन् ।

यस्तै प्रदेश ५ को पश्चिमबाहेक गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने औसत पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

गएको सोमबार र मंगलबार काठमाण्डौमा भएको चौधौं दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले गरेको अध्ययनले यो वर्षको मनसुनमा प्रदेश १, २ र ३ का धेरै ठाउँ तथा प्रदेश ५ को पश्चिमी क्षेत्रमा औसतभन्दा कम पानी पर्ने र अरु ठाउँमा औसत पानी पर्ने आँकलन गरेको हो । बिहीबार भएको मनसुन फोरममा विभागले यसबारेमा जानकारी गराएको हो । 

मनसुनी वर्षा प्रशान्त महासागरमा विकास हुने एलनीनोको अवस्थामा निकै निर्भर रहने गर्दछ । साधारणतया एलनीनो पूर्ण विकसित भएको वर्षमा नेपालमा मनसुनी वर्षा कम हुने गर्छ । तर एलनीनो तटस्थ हुँदाको अवस्थामा नेपालको मनसुनमा औसत वर्षा हुने गर्छ ।

अहिले कमजोर अवस्थामा रहेको एलनीनो यो वर्षको मनसुको उत्तरार्धमा अझै कमजोर हुने देखिएकाले कतै औसतभन्दा कम र कतै औसत पानी पर्ने आँकलन गरिएको हो । मञ्चले जलवायु अवस्थाको विश्लेषण तथा मुल्याङकनका आधारमा साझा धारणा तय गरेको हो । 
 
गएको वर्ष नेपालमा औसत वर्षा भएको थियो । नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनालाई मनसुनी अवधि भनिन्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया