भूकम्प इन्जिनीयरिङबारे तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु

 बैशाख १२, २०७६ बिहिबार १८:५४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा भक्तपुरमा तीनदिने भूकम्प इन्जिनियरिङ र विपद् पछिको पुनःनिर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । 

सम्मेलनको बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गर्दै चार वर्षपछि पनि भूकम्पको पराकम्पनले समाजलाई तर्साउँदै आएको बताउदै हाम्रो देश भूकम्पीय जोखिमको क्षेत्रमा परेकाले यसबाट मुक्त हुन नसक्ने बताउनुभयो । 

अन्तर्राष्ट्रिय सम्मेलनबाट प्राप्त प्राविधिक परामर्श र निचोडलाई संघीय सरकार, प्रादेशिक सरकारहरू र स्थानीय तहका सरकारहरूलाई सम्बन्धित विषयमा जोखिम न्युनीकरण गर्न ऐन–कानुनहरूको तर्जुमा गर्न कलेजहरूमार्फत् ती सल्लाहबारे अवगत गराउनुपर्ने बताउनुभयो ।  

भवन एवं भौतिक संरचनाहरू निर्माणमा पुराना र प्रचलित आचारसंहितालाई पालना नगर्दा धेरै भवन र सम्पदाहरू नष्ट भएको बताउँदै अध्यक्ष बिजुक्छेँले भवन निर्माण संहितालाई कडाइका साथ लागू गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेमकिपाका सचिव तथा प्रतिनिधिसभाका  सांसद प्रेम सुवालले भूकम्पबाट हुने क्षति घटाउन देशको सन्तुलित विकास आवश्यक भएको बताउदै पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई दिइनुपर्नेमा जोड दिनुभयो । 

यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप इञ्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले २०७२ सालको भूकम्पबाट ७ लाख ६२ हजार ६०४ घर पूर्ण क्षति भएकोमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार ३ लाख ८२ हजार ६०० घरको पुनःनिर्माण सम्पन्न भइसकेको र भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि लाखौं घरहरू पुनःनिर्माण गर्न बाँकी रहेको बताउनुभयो । 

प्रमुख प्रजापतिले भक्तपुर नपाले १७ वटा मन्दिर, ३४ वटा पाटी, ४ वटा द्यो छेँ, ३ वटा प्रवेशद्वार, ५ वटा ढुंगेधारा र अन्य ५ वटा गरी ८३ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको बताउदै ३२ वटा सम्पदाहरू निर्माणाधीन अवस्थामा रहेको र सम्पदा संरक्षणको लागि नगरपालिकाले २३ करोड ३७ लाख ७८ हजार रुपैयाँ खर्च गरिसकेको जानकारी गराउनुभयो ।

नेमकिपा प्रदेश नं. ३ का प्रदेश सांसदद्धय सुरेन्द्रराज गोसाई, सृजना सैंजुलले विदेशी सहयोगले नेपालको पुनःनिर्माण गरिनु उचित नभएको बताउदै भूकम्प गएको चारवर्ष बितिसक्दा पनि पुनःनिर्माणको कार्य सन्तोषजनक हुन नसक्नु दुखद भएको बताउनुभयो । 

सम्मेलनमा भक्तपुर नगरपालिकाका उपप्रमुख तथा आर्किटेक्ट रजनी जोशी, इञ्जिनियरिङ अध्ययन संस्थाका डीन रामचन्द्र सापकोटा,    नेपाल इञ्जिनियरिङ परिषद्का अध्यक्ष डिल्लीरमण निरौला, भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्ट, भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले भक्तपुरको सम्पदा पुनःनिर्माणमा भएका चुनौतीबारे चर्चा गर्नुभएको थियो । 

आउँदाे १४ गतेसम्म सञ्चालन हुने सम्मेलनमा भारत, चीन, जापान, बेलायत, दक्षिण कोरिया लगायतका १२ जना विज्ञहरुले ६१ वटा कार्यपत्र प्रस्तुत गर्ने र नेपाल  अन्य मूलुकमा बसी अनुसन्धान र शोधकार्य गरिरहेका नेपाली प्राध्यापक र शोधनकर्ताका ५० वटा शोध प्रस्तुति रहने कलेजका प्राचार्य सुनिल दुवालले जानकारी दिनुभयो ।

१६ जना विदेशी प्राध्यापक, अनुसन्धानकर्ता र शोषकर्ताहरुको सहभागिता हुने सम्मेलनमा २५० जना प्राज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनमा विभिन्न देशका विज्ञहरुले बृहत छलफल गर्नेछन् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया