लक्ष्मण बस्नेत : विपदको तातो भाँडोमा खारिएका नेपाली नायक

 बैशाख १२, २०७६ बिहिबार २०:३४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सड्न सुरु गरेका शवमाथि सुतेर भूकम्पका बेला धेरैलाई जीवितै उद्दार गरेका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक लक्ष्मण बस्नेतलाई लाग्छ ‘नेपाल भूकम्प, बाढीपहिरो, आगलागीजस्ता विपद्का लागि तातो भाँडो नै हो ।’ र, संयोग यो तातोभाँडोमा हप्तौसम्म पुरिएका मानिसलाई बचाएर लक्ष्मण बस्नेत आफै नेपाली समाजको नायक हुनु भएको छ ।

२०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूूकम्पले धेरैको ज्यान लियो, तर भूकम्पले केही साहसी नायकहरु पनि दियो । तिनैमध्येका एक नायक हुन् रौतहटको चन्द्रपुर नगरपालिका–१० सन्तपुरका स्थायी बासिन्दा लक्ष्मणबहादुर बस्नेत ।

भूकम्प गएको ५ दिनपछि मरे भनि ठानिएका अर्घाखाँचीका ऋषिराम खनाल र ६ दिनपछि नुवाकोटका पेम्वा लामालाई जीवितै उद्धार गर्ने टोलीको नेतृत्व गरेपछि एकाएक धेरैले हाई हाई गरेको नाम हो लक्ष्मणबहादुर बस्नेत ! बस्नेतका जेठा दाई सशस्त्र प्रहरीमै काम गर्नुहुन्छ भने बुवाआमा र भाउजु रौतहटमै हुनुहुन्छ । डेढ महिनाकी छोरीसँगै बस्नेतको श्रीमती भक्तपुरको व्यासीमा बस्नुहुन्छ भने भाई काठमाण्डौमा । बस्नेत चाहिँ कुरिनटारस्थित ससस्त्र प्रहरीको विपद व्यवस्थापनसम्बन्धी तालिम केन्द्र चितवनमा काम गर्नुहुन्छ । २०५८ सालमा उच्च शिक्षा अध्ययन गर्न काठमाण्डाै पसेका बस्नेत पढाइ चल्दाचल्दै २०६४ साल असार ६ गतेदेखि ससस्त्र प्रहरीमा सेवामा प्रवेश गर्नुभएको हो । धेरै खालका विपद देखेका र धेरै खालका उद्दारमा सामेल भएका बस्नेत अहिले डिजास्टर म्यानेजमेन्ट युनिटका प्रशिक्षक हुनुहुन्छ । विपदबारे बस्नेतको र भोगाइ उहाँकै शब्दमा । 

वैशाख १२ को भागदौड र आतंक

भूकम्प आउँछ भन्ने त धेरैलाई थाहा थियो । तर कहिले कुन बेला आउँछ र कस्तो संकट आउँछ भन्ने हामीलाई पनि थाहा थिएन । भूकम्प त आयो । तर त्यसपछिका परकम्प त हामीले सोचेको थिएन । हामी धेरैका लागि परकम्प जान्दै नजानेका थिए । १९९० सालको भूकम्प भोग्नेहरु कोही कसैलाई थाहा थियो होला । तर हाम्रो पुस्ताले त पहिलोपटक यस्तो पराकम्प भोग्यो । मलाई सम्झना छ, त्यो दिन मानिस हतास थिए ।

बेला बेला आइरहेका परकम्पले मुटु हाम्रो पनि हल्लाउँथ्यो । स्थिति यति भयावह थियो कि मानिसहरु सडकमा उभिँदा पनि बेला बेला आकाश हेर्थे । खुला चौरमै बस्दा पनि कुदाकुद गरिरहेका थिए । त्यस्तो अवस्थामा हामीले भवनभित्र छिरेर त्यहाँ उद्दारकार्य जारी राख्नुपर्ने थियो । थोरै जनशक्ति, सीमित स्रोत साधनले त्यतिधेरै असुरक्षित तरिकाले भत्किएका भवनमा काम गर्नु अति जटिल थियो । त्यसमाथि १३ र १४ गते पानी पनि परिरहेको थियो । यस्तो बेला काम गर्न कसैलाई सजिलो हुँदैन, हामीलाई त झन् भत्केका र भत्किन ठिक्क परेका ठाउँमा परकम्पले हल्लाउँदा हल्लाउँदै काम गर्नु परेको थियो । 

भूकम्प, परकम्प र मौसमी प्रतिकुलताबिच हामीले साँघुरा गल्लीभित्र काम गर्‍यौ । केहीलाई नयाँ जीवन दिन सक्यौं । वैशाख १२ को भूकम्पलगत्तै आम नागरिक, संघसंस्था, सुरक्षा निकाय, दातृनिकाय पीडितको उद्दार तथा राहतमा खटिए । घाइतेलाई अस्पताल लैजाने, पीडितलाई तत्काल बासको प्रबन्ध गर्ने, राहत दिने, जस्ता काममा सवै एकजुट भएर लागे । तर भूकम्पले भत्काइसकेका वा धराप बनाएका संरचनाभित्र पुरिएकाहरुको खोजी गर्न बेलाबेलामा आइरहने परकम्पले झनै समस्या थपे । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विभिन्न संघसंस्थाका तालिमप्राप्त व्यक्ति र विदेशबाट आएका उद्धारकर्मीले यस्ता सवै जोखिम मोलेरै खोज तथा उद्धारमा लागे ।

ऋषि भन्छन् : मेरै नाम बेचेर अरु लखपति बने, मलाई छाक टार्नै समस्या

भग्नावशेषभित्र च्यापिएका र पुरिएकालाई खोज्न र उद्धार गर्ने मुख्य जिम्मेवारी सुरक्षा निकायको थियो । सुरक्षा निकायले परिवार र आफन्तको माया हुँदाहुँदै पनि जिम्मेवारी र देश सम्झेर काम गर्नुपर्छ । विपदका बेला मानवीय क्षतिसँगै हताहत र कोलाहल पनि हुन्छ । त्यस्ता बेला आफू र आफ्नै परिवार, आफन्तको पनि चासो र चिन्ता हुन्छ । काममा छँदा मलाई पनि परिवार र आफन्तको चिन्ता लागिरह्यो । तर हाम्रा लागि यस्तो बेलामा ज्यान गुमाउँनेको व्यवस्थापन, घाइतेको उपचार, पीडितका लागि सान्त्वना दिने काम मुख्य हुन्छ ।

अरुलाई बचाउन पाउँदाको आनन्द  

वैशाख १२ गते शनिवार गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएपछि मेरो नेतृत्वमा खोज तथा उद्दारका लागि हाम्रो टोली काठमाडौंमा खटियो । हाम्रो टोली काठमाडौंको गोंगबु, नयाँ बसपार्क, मित्रनगर एरियामा खटिएको थियो । त्यसरी परिचालन भएको टोलीमा उद्दार उपत्यका गण, विदेशबाट खटिएको उद्धार टोली पनि सहभागी थियो । टोलीले हिल्टन र सँगै जोडिएको दीपावली गेष्ट हाउसबाट खोज तथा उद्दार सुरु गरेको थियो ।

७ तलाको गेष्ट हाउसबाट १३ गते नै खोजी सुरु भयो । बालक जोन केसीलाई २ दिन पछि १५ गते बिहान जीवितै उद्दार गर्‍यौं । तर उनको अवस्था नाजुक थियो । थप उपचारका लागि भारत पठाएको सम्म याद छ । त्यहाँ टर्किस र चाइनिज टोलीले पनि सहयोग गरेको थियो । त्यस लगतै मित्रनगरको सयपत्री गेष्ट हाउसमा हामीले काम सुरु गर्‍यौं ।

सयपत्री गेष्ट हाउसका मालिक छत्र बस्नेतले गेस्ट हाउसभित्र मानिस पुरिएको हुनसक्ने बताएपछि त्यहाँ हाम्रो खोजी अभियान सुरु भयो । काम सुरु गरेको केही घण्टापछि कोही जीवितै छ भन्ने शंकेत पायौं । भित्र कोही छ भनेर बारम्बार सोध्यौं । आवाज आएन । अनि कराउन चिच्याउन नसक्ने भए जसरी हुन्छ ढक्ढकाउँन आग्रह गर्‍यौ । भित्र पुरिनेले चिच्याउन नसकेपछि हाम्रो संकेत अनुसार ढक्ढकाउनु भयो ।

हामीले घरको माथिल्लो तलामा गएर झ्याल फोर्‍यौं र माथिबाट ढलान काट्दै काट्दै तल झर्‍यौ । वर्ष २८ का ऋषि खनाललाई त्यहाँ जीवितै निकाल्न सफल भयौं । अप्ठ्यारोमा फसेकालाई निकाल्न थालेको काम त्यतिकै छोड्न मिल्दैन । कसरी जिवित निकाल्ने भन्ने मानसपटलमा रही रहन्छ । भोक तिर्खा भन्दा मानिसको ज्यान ठूलो हो भन्ने सम्झेर काम गर्नुपर्छ ।

आफ्नो ज्यानको बाजी लगाएर अरु कसैको ज्यान जोगाउने काम गर्दा गर्व लाग्छ । मिसन सफल भए, उ मात्र होइन उसको परिवार, बालबच्चा र आफन्तको खुसी देखेर आफ्नो मन आनन्दित हुन्छ । सड्न सुरु गरेका शवमाथि सुतेर, ढलान काटेर, पर्खाल हटाएर गरेका उद्दार कार्यमा जिवितै उद्धार सक्दा तालिमको सार्थकता त हुन्छ नै, हाम्रै जीवन पनि सफल भयो भन्ने अनुभव हुन्छ ।  

आनन्द र चुनौतीको नशा

ऋषि खनालको उद्धारका बेला उहाँले हामी २/३ जना यहाँ भित्र छौ भन्नुभएको थियो । शायद त्यहाँ दिन र रात भन्ने थिएन किनभने वरपर अन्धकारै अन्धकार थियो । उज्यालो त बाहिर पो थाहा हुने हो । पुरिएर जीवनको अन्तिम घडी भोग्नेले के हेक्का राख्नु र ? उहाँलाई यो दिन यो रात भन्ने थाहा थिएन । 

निष्पट अध्यारोमा निसास्सिने ठाउँमा खोज्दै जादाँ उहाँले जीवितै भनेका व्यक्तिहरु केही समय अगाडि मात्रै बितिसकेका थिए । भत्केको संरचना भित्र खोजी तथा उद्दारको यो मेरो पहिलो अनुभव थियो । 

करोडको घर छाडेर धरधनी बाहिर पालमा बस्न पुग्दा हामी ढल्केका र भत्केका घर भित्र पसेर, घुँडा टेकेर, हातका औँला छियाछिया हुँदासम्म पनि खोज तथा उद्धारमा खटियौं । एकदमै जोखिमपूर्ण अवस्था थियो । भत्केको संरचना भित्र छिर्नु कठिन काम हो ।

मेसिनको भाइब्रेसन उस्तै चर्को । धुलो धुँवा त छँदैछ । जेनतेन भित्र पसे पनि भित्र पुगेपछि  निसासिन्छ । भित्र अँध्यारो मात्र हुँदैन, अक्सिजनको कमी पनि हुन्छ । अन्य कुनै विकल्प हुँदैन । तालिममा यो कुरा सिकाएको त हुन्छ । तर तालिममा सिके पनि जोखिम मोलेर  काम गरेको अनुभव हामीसँग थिएन । 

वैशाख १२ पछि हामीले ठूलो जोखिमको पहिलो काम गर्‍याैँ । फिल्डमा खटिएपछि अप्ठारोमा परेर जीवन र मरणको अवस्थामा रहेका मानिस जीवित भएको सुन्न र देख्न हामी लालायित हुन्थ्यौ । तपाईँ भित्र हुनुहुन्छ, कोही हुनुहुन्छ ! हुनुहुन्छ भने प्लिज बोल्नुस् हामी सशस्त्र प्रहरी हौं, हामी उद्दारकर्मी हौं तपाईँलाई हामी जीवितै उद्दार गर्छौ भन्यौं ।

यस्तो बेला भित्रबाट कसैले आवाज दिँदा, ढक्ढकाउँदा, कसैले हात उठाउँदा लाग्ने खुशीको क्षण अरु खुशीसँग तुलनै हुन सक्दैन । त्यसबेला हामीमा यति ठूलो सन्नाटा छाउँथ्यो.., ओ हो वर्णन नै गर्न सकिँदैन । त्यसपछि हामीले यति छिटो काम गर्थ्याैँ कि सबैजनालाई एकै खालको नशा लागेको जस्तो, कसैलाई बचाउने आनन्दको नशा, आनन्द र चुनौतीको नशा । हामी सबैले त्यही रफ्तारमा काम पूरा गर्थ्याैँ ।

हाम्रो तालिम, उपकरण र राज्यले दिएको दायित्व त्यही गएर सकिन्छ । हाम्रो जिम्मेवारी र औचित्य पुष्टि हुन्छ । हामीसँग उपकरण हुँदै नभएको होइन तर कतिपय उपकरण यस्ता विपदमा काम लाग्दैनन् । किनभने हाम्रा संरचना र उपकरणको तालमेल मिल्दैन । यहाँ साघुँरा गल्ली छन्, त्यहाँ कसरी ठूला साधन लैैजाने भन्ने समस्या छ । एक हातले गर्नुपर्ने काममा गह्रौ उपकरण कसरी चलाउने समस्या नै छ ।

तर जे थिए त्यसको उच्चतम प्रयोग भने गरेजस्तो लाग्छ । साधारण घरमा काठ र ढुङ्गा माटो हुन्छ त्यसलाई हटाउन सजिलो हुन्छ । तर छड सिमेन्ट जोडिएका भवनमा काम गर्न निक्कै कठिन हुन्छ ।

विपदमा धैर्यले ज्यान बचाउँछ 

प्रकोप आउँछ त्यसले विपद् निम्ताउँछ अनि उद्दार गर्छौ भन्नु भन्दा पनि पूर्व तयारी विपद व्यवस्थापनको महत्वपूर्ण पक्ष हो । विपद पूर्व नै संकेतका लागि साधन, नागरिकमा जनचेतना र भौतिक संरचना व्यवस्थापन गर्नु आवश्यक छ । अहिले पुनर्निमार्णको सुरुवात भएको छ, अबको पुनर्निमार्णमा योजना बनाएर भवन निमार्ण हुनु आवश्यक छ ।

त्यसका साथै भवनहरु बिचको दुरी र वरिपरी खुल्ला ठाउँ हुनुपर्छ ताकि परेको बेला एम्बुलेन्स, दमकल, क्रेन जस्ता साधन तत्काल लैजान सकियोस् । यो विषयमा वैशाख १२ को भूकम्पले पनि पाठ सिकाएको छ । मुख्य कुरा जब हामी भौतिक संरचना भित्र फस्छौ, त्यसबेला कराउँने, चिच्चाउने र मनोबल गिराउँने काम गर्नु हुँदैन । कतिपय अवस्थामा निसास्सिएर ज्यान गुमेको हुन्छ भवनभित्र धुवाँ धुलो र खार हुन्छ ।

यस्तो बेला मुख खोलेर बचाउ बचाउ भन्दा पनि नकारात्मक प्रभाव पर्न सक्छ । यस्तो बेलामा उद्दार कार्य हुन्छ अनि शंकेत दिएर बाचिन्छ भनेर धैर्यसाथ पखिर्नु आवश्यक छ । भागेर आत्तिएर ठूलो भवनबाट झर्दा पनि तल्लो तलामा आइपुग्दा ज्यान गएको उदाहरण छ । त्यसैले बेलैमा सचेत बन्न सके विपदमा ज्यान गुमाउँनु पर्दैन ।

भूकम्पको उद्दारमा अझै तालिम चाहिन्छ 

भवनभित्र पुरिएको र च्यापिएको मान्छेलाई झिक्ने भन्ने टेक्नीकल कुरा हो । विपदका बेला फिल्डमा खटिने मानिसले र्‍याप्लिङ्ग, क्लाइम्विङ्ग, स्वीमिङ्ग, र्‍याफ्टीङ्ग, भत्किएका संरचना भित्रको खोजी तथा उद्धार जान्नैपर्ने हुन्छ । प्राविधिक रुपले पनि दक्ष हुनुपर्छ । आफैमा शारीरिक रुपले स्वस्थ हुनुपर्‍र्यो ।

मनोबल उच्च हुनु झनै आवश्यक छ । म कसरी भित्र जाने, पुरिएकालाई खोज्ने अनि तलमाथि केही भइहालेमा कसरी बाहिर निस्कने भन्ने कुरा महत्वपूर्ण हुन्छ । गगनचुम्बी भवनको भित्र छिरेर, ढलान काटेर खोज तथा उद्दार गर्नु लरतरो काम होइन ।

जिउँदो मान्छे पनि तालिम प्राप्त जनशक्तिले झिक्नु र अरुले झिक्नुमा फरक पर्छ । सानो लापरवाहीले भग्नावशेषमा पुरिनेको त ज्यान जान्छ नै, उद्दारकर्मीको पनि ज्यान जान सक्छ । मेरो मनमा एउटा घटना अहिले पनि ताजा छ । म बिदामा घर गएको थिएँ । घर नजिकै बोर्डिङ्ग स्कूल थियो । त्यहाँ पढ्ने २ बालक पौडी खेल्दै गर्दा नहरमा हराए । त्यसपछि परिवार र छिमेकी गाउँले सबैले हारगुहार गरे, चिच्याउने कराउँने गरे । नहर पानीले भरिएको थियो । मैले जोस्सिएर हाम फाले । यताउँता खोजे तर भेट्न सकिन । बाहिर निस्कँदा म आफै पनि पानीको छालले थिचिँदा घाइते भएँ । 

बाहिर निस्केपछि मात्र मलाई डर लाग्यो, सामान्य पौडी सिकेर हुँदो रहेनछ भन्ने लाग्यो । पानीमा डुब्ने र सर्च गर्ने तरिका हुन्छ भन्ने लाग्यो । त्यसपछि मात्रै म विपद व्यवस्थापन तालिममा लागे । सबैले एउटा फौजी मान्छे हो केही त गर्न सक्छ भन्नु एउटा कुरा हो ।

तर म आफूभित्र त्यो क्षमता छ की छैन भन्नु फरक हुन्छ । त्यतिबेलादेखि नै मलाई तालिमको आवश्यकता महसुस भएको हो । त्यहि प्रेरणा हो म अहिले जे छु जसरी काम गरिरहेको छु । भूकम्पका बेला गरेको उद्दार पनि तालिम र बारम्बारको मेहनतले नै सफल भएको हो ।

-मदन पाैड्यालले तीन वर्षअघि उज्यालाे अनलाइनका लागि तयार पारेकाे सामग्री

अन्तिम अपडेट: साउन २५, २०७६

तपाईको प्रतिक्रिया