राष्ट्रपति भण्डारी बेइजिङमा

 बैशाख १३, २०७६ शुक्रबार ६:५३:३ | रासस
unn.prixa.net

चीन – राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा बिहीबार सान्सी प्रान्तबाट राजधानी बेइजिङ आइपुग्नुभएको छ  । 

उहाँलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ पराष्ट्र मन्त्रालयका उपमन्त्री कोङ सुयानयु तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची र  बेइजिङस्थित नेपाली राजदूतावासका कर्मचारीले स्वागत गर्नुभयो । 

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल’ कोअपरेशन (अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च) मा सहभागी हुनुहुनेछ । 

उहाँले उक्त मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।  राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं  ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहनुभएको छ । 

दुई हजार वर्षको सैनिक सङ्ग्रहालयको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सियानस्थित माटोबाट बनेको सेनाको सङ्ग्रहालय ‘टेराकोटा वारियर्स म्युजियम’  अवलोकन गर्नुभएको  छ ।  अवशेष प्रदर्शनमा विशिष्ट मानिने सो सङ्ग्रहालय आइपुग्दा राष्ट्रपति भण्डारीलाई प्रमुख पुरातत्वविद् होउले स्वागत गर्दै सङ्ग्रहालयका विषयमा जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपतिले आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गर्नुभयो ।

 

योे सङ्ग्रहालयमा दुई हजार वर्षभन्दा पुराना माटाका मूर्ति  छन्  ।  ती किन्सिहुवाङको समाधिका रक्षकका रुपमा देखिन्छन् । समाधिमा दुई भाग  छन् र ती बाहिरी  र भित्री नगरका रुपमा  छन् ।  दुवै नगर चतुर्भुज आकारका छन् । समाधिको भित्री भाग नगरको दक्षिणी भागमा  छ । आरम्भमा सो  समाधिको उचाइ ११५ मिटर रहेकामा दुई हजार वर्ष बित्दा हाल  ७० मिटरमा खिइएको छ । समाधिमा करीब ५०० अन्य साना समाधि फेला परेका छन् । 

सम्राट् किन्सिहुवाङको समाधिबाट करीब १.५ किमी पूर्वमा माटाका सैनिक तथा घोडा छन् । सन् १९७४ मा किसानले इनार खन्दा माटाबाट बनेका कलाका अवशेष फेला पारेका थिए । पुरातत्वविद्को एक समूहले अनुसन्धान तथा उत्खनन् गर्दा ठूलो खाडल फेला पारेको थियो । त्यहाँ माटाका करीब छ हजार सैनिक तथा घोडा फेला परे । 

सन् १९७६ मा उनीहरुले यस्तै अन्य दुई खाडल फेला पारे । त्यसलाई खाडल १, २ र ३ को नाम दिइयो । ती माटाका सैनिक तथा घोडा जीवित आकारका छन् । ती सैनिकले काँसका हतियार लिएका छन् । सैनिक राम्रोसँग लामबद्ध छन् । त्यहाँ रथ, स्थलसैनिक, घोडचढी तथा सशस्त्र सैनिक सबै छन् । 

६५ दशमलव २५ वर्ग किमी क्षेत्रमा रहेको सम्राट्को सो  समाधि बनाउन सात लाख २० हजार श्रमिकलाई ३७ वर्ष लागेको अनुमान गरिएको छ । यहाँ राजदरबार, नगरका पर्खाल तथा ढोका पनि  छन् । 

अहिले यहाँ १४९ खाडल तथा १९६ समाधि फेला परेका छन् । सन् १९६१ मा यहाँको राज्य परिषद्ले सम्राट् किन्सिहुवाङको समाधिलाई प्रमुख ऐतिहासिक तथा सांस्कृतिक स्थलका रुपमा घोषणा गरी यसलाई राज्यबाट संरक्षण दिएको थियो । सन् १९८७ डिसेम्बर ७ मा सो सङ्ग्रहालयलाई युनेस्कोले विश्व सांस्कृतिक सम्पदाका रुपमा घोषणा गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया