प्रथम शैलुङ महोत्सव २०७६ सुरु

 बैशाख १३, २०७६ शुक्रबार २०:२४:२३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – प्रथम शैलुङ महोत्सव २०७६ शुक्रबारबाट सुरु भएको छ ।

दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकाको सिमानामा रहेकाे खोलाखर्कमा सुरु भएको महोत्सवको दोलखाका प्रतिनिधि सभा सदस्यद्वय पार्वत गुरुङ, शान्ति पाख्रिन र रामेछापका प्रतिनिधि सभा सदस्यश्यामकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

स्थानीय स्तरमा उत्पादित कृषिजन्य सामग्री, जडिबुट्टी, चौरी गाईकोे दुधबाट बनेका विभिन्न परिकार लगाएत अन्य स्टलहरु रहेका छन् । महोत्सवमा स्थानीय झाँकी, विभिन्न जातजातिका भेषभुषा, मौलिक खानाका परिकार, राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याती प्राप्त कलाकारहरुको बेजोड साँगितीक प्रस्तुती रहने छ ।

शैलुङ क्षेत्रको विकास, समृद्धि र विश्वव्यापी प्रचारप्रसारका लागि आयोजना गरिएको महोत्सव १५ गते सम्म चल्नेछ । शैलुङ समुद्र सतहदेखि झण्डै ३ हजार ३ सय मिटरको उचाईमा रहेको छ । महोत्सवमा सय भन्दा बढी थुम्काहरुको अवलोकन साथै बाघ ढुंगा, डाँफे मुनाल ढुंगा, शैलुङ्गेश्वर महादेवको दर्शन गर्न सकिने शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो ।

दोलखाको शैलुङ गाउँपालिका, मेलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकाको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो । शुक्रबारबाट शुरु भएको उक्त महोत्सव तीन दिन चल्ने र सो महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्ने गरी बिहान ११ बजे राखिएको कार्यक्रममा दिउँसो १ बजेसम्म पनि प्रचण्ड नआएपछि छिमेकी जिल्ला दोलखाका सांसद पार्वत गुरुङ्ग र रामेछापका सांसद श्यामकुमार श्रेष्ठले सयुक्त रुपमा उद्घाटन गर्नुभएकाे हाे । 

प्रचण्ड आउने सूचना पाएसँगै दुवै जिल्लाका नेकपा पार्टीका नेता देखी कार्यकर्ताहरु समेत पुगेका थिए भने सुरक्षाको व्यवस्था पनि अत्यन्तै कडा पारिएको थियो ।

मौसम खराबीले प्रचण्ड आउन सकेनन्

जिल्लाकै उच्च लेकाली भुभागमा पर्ने शैलुङ्ग क्षेत्रमा कुहिरो र हावा हुण्डरी सँगै मौसम खराबी भएका कारण प्रचण्ड आउन नसकेका हुन् । प्रचण्ड आउन नसकेपछि ३ घण्टा ढिलो गरी कार्यक्रम दुई जिल्लाको सांसदद्धारा गराइएको दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिकाप्रसाद गजुरेलले जानकारी  दिनुभयाे ।

महोत्सवमा झण्डै १५ हजार नागरिकहरुले प्रत्यक्ष रुपमा महोत्सवको स्थलगत अवलोकन गर्ने आंकलन गरेकाे र झण्डै ८० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक संस्थाले जनाएको छ ।

जसमध्ये दोरम्बा गाउँपालिकाले २० लाख र मेलुङ्ग र शैलुङ्ग गाउँपालिकाको ५-५ लाख गरी ३० लाख रुपैयाँ विनियोजन गरेका छन् भने बाँकी अपुग रकम अन्यत्रबाट संकलन गरिने दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिनुभयाे । 

शैलुङ्गलाई विश्वसामु चिनाउन महोत्सव

प्रसिद्ध पर्यटकीय केन्द्र, प्रथम साङ्गे म्हार्मोचे, पाँचौ पद्म सम्भव र सातौँ गौतम बुद्धले तपस्या गरेको पवित्र भूमिले परिचित शैलुङ्गलाई विश्वसामु चिनाउने उद्देश्यले आयोजना गरिएको हो ।

शैलुङ्ग महोत्सव अपेक्षा गरे अनुसार सफल भए रामेछाप र दोलखाको मात्रै नभएर भविष्यमा नेपालकै आर्थिक समृद्धि र मुख्य पर्यटकीय गन्तव्य बन्न सक्ने भएकाले महोत्सवलाई सफल सबै पक्षसँग आयोजक संस्थाले अनुरोध गरेको छ । 

शैलुङ्ग क्षेत्र रामेछाप र दोलखाको साझा ठाउँमा भएकाले महोत्सव दुवै जिल्लाको प्रतिष्ठाको विषय बन्ने भएकाले दुवै जिल्लाका स्थानीय तहका प्रमुखहरु महोत्सव सफल पार्न लागि परेका छन् । शैलुङ्गमा १ सय भन्दा बढी प्राकृतिक चुचुरा र थुम्काहरु मुख्य आकर्षकको रुपमा रहेको यस क्षेत्रमा भएको महोत्सव मार्फत आन्तरिक तथा वाह्य पर्यटकहरुलाई शैलुङ्गसम्म ल्याउन सके त्यसवाट ती पालिकाहरुको आर्थिक विकासमा निर्कै सहयोग पुग्ने दावी गाउँपालिकाहरुको रहेको छ । 

महोत्सवमा नेपालको उत्तरी क्षेत्रमा रहेका हिमालको अवलोकन, पदमार्गमा विभिन्न धार्मिक स्थलहरुको अवलोकन, रमणीय हिमश्रृंखलाहरुको अवलोकन, नेपालका ख्यातिप्राप्त कलाकारहरुद्धारा प्रस्तुत हुने सांगीतिक प्रस्तुतिबाट आनन्द लिन सकिने छ ।

महोत्सवमा पुग्न सिन्धुपाल्चोकको मुडे हुँदै ढुंगेखोला खर्क शैलुङ्गसम्म र मन्थली, खिम्ती, फुलासी देबीटार हुँदै शैलुङ्गसम्म अर्काे र सित्खा खाँडादेवीबाट शैलुङ्गसम्मको सडक मार्गलाई प्रयोगमा ल्याउन सकिने आयोजक संस्थाले जनाएको छ । 

 


 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया