शहरमा बोतलको पानी : गाउँमा स्लिम कान्छी नानी !

 बैशाख १४, २०७६ शनिबार ८:७:२२ | मिलन तिमिल्सिना
unn.prixa.net

मान्छेहरु भन्छन्, अब तेस्रो विश्वयुद्ध पानीका लागि हुन्छ । तर यसो भन्नेले थाहै पाएका छैनन् कि विश्वयुद्ध भन्दा पहिले गृहयुद्ध सुरु भैसकेको छ ।

गाउँगाउँमा हेर्नुहोस् । टोलटोलमा हेर्नुहोस् । शहरमा हेर्नुहोस् । गाउँमा हेर्नुहोस् । तपाईँको घरमा हेर्नुहोस् । भान्सामा हेर्नुहोस् । छिमेकमा हेर्नुहोस् । पानीका लागि सधैँ युद्ध हुन्छ । 

पेट्रोल पम्पमा भन्दा लामो लाइन हुन्छ धारामा । अस्पतालमा बिहान टिकट लिन गएजस्तो मान्छेहरु मध्यरातमै धारामा पुगेर पालो कुर्न पुग्छन् । ग्यालेन, बाल्टीको हानाहान, ठोकाठोक । पानीको लागि गृहयुद्ध । सबैतिर युद्धैयुद्ध । तुरतुरे धारोमा खहरे खोला उर्लिएजस्तो होहल्ला र खैलाबैला । 

शहरमा रक्सी बरु सजिलै पाइन्छ, पानी पाइँदैन । साथीको कोठामा खै एक गिलास पानी दे त भन्दा छैन भन्छ । रक्सी खाउँ न त भन्दा ल बसौँ आइज भनेर मख्ख पर्छ । पसलमा पानीको बोतलभन्दा रक्सीकै बोतल धेरै देखिन्छ । सडकका ठाउँठाउँमा रहेका धारो सुकेर नाम मात्रको कलधारा भएका छन् । त्यही कलधाराको छेउमा रक्सी र बियरको गाडी रोकिन्छ । बोतलका बोतल रक्सी बियर पसलमा ओरालिन्छ । बोतलमा नभएर पानी थाप्ने बाल्टी र गाग्रीमै रक्सी भर्नुपर्ला जस्तो । 

धारामा पानी आउँदैन । ट्यांकरबाट किन्नुपर्छ । ट्यांकरले बाग्मतीको उभाएर ल्याउँछ कि पोखरीको त्यो थाहा हुन्न । नदेखेपछि टन्टै साफ । फोहोर छ भनेर शंकै लागे पनि त्यही पानी नपिइकन सुखै छैन ।

ट्यांकरबाट पानी ल्याउनुपर्यो, त्यहीँ घाटा । बोतलको किन्नुपर्यो, पानी भए पानी नभए रक्सी त्यहीँ खर्च । अनि पानी नभएपछि मज्जाले नुहाउन पाइँदैन । मिचीमिची कपडा धुन पाइँदैन । मयल परेको ज्यान र कपडा लगाएर अफिस, कलेज र बाटोघाटोमा जाँदा मान्छेले फर्केर हेर्दैन । पर्खेर बस भन्नेले पनि फर्केर हेरेन भने त बर्बाद हुन्छ । त्यसैले मयल परेको ज्यान र लुगामा बासना जगाउन  बास्ना आउने पदार्थ दल्नुपर्यो । यसमै पैसा खर्च । 

कपालको फेदतिर मयलै हुन्छ । रौ चाहिँ टल्केको हुन्छ तेलले । फेदको मयल निखार्न त पानी पनि हुनुपर्यो नि । कपडा त टक्टक्यार लगाउने हो सधैँ । जिन्सको पाइन्टमा मैलो त्यति देखिँदैन क्यारे । थुक लगाएर यसो माड्यो, अनि भिर्यो हिँड्यो । 

पानी छैन भनेर आफ्नै बेइज्जत पनि कति गर्ने । पानी छैन मात्र होइन, छ पनि । सडकमा हेर्नुहोस् । सडकभरि जताततै पानी र ढल । पानी पर्ने बित्तिकै खोलो । धारामा हुँदैन । सडकभरी भल । खै समावेशी ? पानी समावेशी भएन भन्दै आन्दोलन भयो भने । 

सडकको यो हालत । पानी छ पनि छैन पनि । धारामा पानी आउँदैन, सडकमा भल बग्नेगरी पानी । पिउन पानी हुँदैन, ज्यान हल्लिने गरी पसलमा बोतलको पानी । 
यो त शहरको कुरा भयो । गाउँमा पनि हालत उस्तै छ । अलि पहिले त गाउँमा मज्जाले पानी पाइन्थ्यो । यतै धारो, उतै धारो, खोल्सीपिच्छे कुवा, सुसाउँदो खोला । आहाल, पोखरी, नदीनाला जताततै पानी । 

तर अहिले शहरको फेसन गाउँ पसेको छ । सबै फेसन गाउँपसेपछि शहरमा पानी नपाइने फेसन पनि पस्ने नै भयो । त्यसैले हिजोआज गाउँघरका खोलाखोल्सी, कुवा, पँधेरोमा समेत पानी पाइँदैन । पानी नभएपछि मान्छेले गाईबस्तु पाल्न छाडे । आहाल, पोखरी त एकादेशको कथा जस्तो भैसक्यो ।

नजिकै पानी नभएपछि टाढा पर खोला नदीबाट भए पनि पानी बोकेर ल्याउनुपर्यो । पहिले ढिंकीजाँतो, गोबर घस्यौटा, लिपपोत, पानी पँधेरो सबै भ्याउने हजुरआमा र आमाहरुलाई अहिले एक खेप पानीले नै दिन बिताउँछ । एक हिसाबले भन्दा सजिलो पनि भयो । अर्थोक भ्याइँदैन, पानी मात्रै बोके भयो ।

आफैलाई डोकोमा बोक्नुपर्ने बेला भैसक्नुभएकी हजुरआमै बिहानै डोको बोकेर पानी थाप्न पँधेरामा जानुहुन्छ । टिरटिर अलार्म बजाउन हातमा घडी छैन । कुखुरोको भाले कुन बेला कराउँछ र पँधेरामा जाने भनेर पर्खनुपर्छ । तर बिचरो भालेले नै पानी खान पाएको हुँदैन । पानी नपाएपछि उ कसरी कराओस् ।

भाले नकराए पनि हजुरबाले बेलाबेला खोक्नुहुन्छ । त्यही खोकीले हजुरआमालाई बिउँझाउँछ । सकिनसकी हजुरआमा डोकोमा गाग्री राख्नुहुन्छ । राति नै पँधेरो पुग्नुहुन्छ । सकिनसकी पानी बोकेर ल्याउनुहुन्छ । आमा र काकीहरुको हालत पनि यही हो ।

पानी बोक्दा बोक्दा हजुरआमा र आमाहरु सधैँको सिलिम । कान्छी नानी पनि सिलिम । जेठी आमै पनि सिलिम । कति चिलिम फर्के पनि धेरैजना अझै सिलिम हुनुहुन्छ । सुख खोज्न शहर आएर सिलिम हुन खोज्ने दिदीबहिनीहरुलाई सल्लाह – सिलिम हुन मन छ भने शहरमा होइन, गाउँ जानुपर्छ । डोकोमा पानी बोकेर उकाली ओराली गरेपछि कि सिलिम भइन्छ कि चिलिम फर्किन्छ ।

शहरमा जस्तै गाउँमा पनि जाँडरक्सीको घ्याम्पा जताततै पाइन्छ । प्लाष्टिकको थैलोमा पाइने बाहुनपोकाको जमाना त गयो । तर बोतल र घ्याम्पाको चलन हराएको छैन । यसले गर्दा गाउँमा पनि शहरमा जस्तै जाँडरक्सी र ठर्राले पानीको गर्जो टार्न सहयोग गरेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया