द्वन्द्वकालमा बेपत्ता भएका ‘काले’ १७ वर्षपछि घर पुगे

 बैशाख १४, २०७६ शनिबार १६:२०:४३ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रताप सिंह घर्ती (काले) झण्डै १७ वर्षपछि घर फर्किएका छन् । ४/५ वर्षको उमेरमा घरबाट हराएका उनलाई त्यतिबेलाको केही कुरा पनि राम्रोसँग सम्झना छैन । मात्र यति थाहा छ माओवादीले उनकी दिदीसँगै  उनलाई पनि आन्दाेलनमा लगेका थिए ।

त्यो २०६०/६१ सालको कुरा हो । तत्कालीन नेकपा माओवादीले उनकी दिदी मनकुमारी सँगै उनलाई पनि आफ्नै फौजमा लगे । कति यातना दिए, कति गाली खानुपर्यो त्यो क्षण सम्झिँदा पनि अहिले उनका आँखा रसाउँछन् । सानो उमेरमै घरबाट टाढा गएपछि उनले घरको माया नै बिर्सेसकेका थिए । सानै उमेरमा क्रान्तिकारीको झण्डा ओढ्नुपर्दा उनले आमाबुबाको माया कस्तो हुन्छ पत्तै पाएनन् । 

तत्कालीन माओवादी र नेपाली सेनाबीच रोल्पाको लिबाङमा भएको दोहोरो भिडन्तमा आफ्नी दिदी बेपत्ता भएपछि उनले दिदीको माया पनि गुमाए । त्यसपछि उनी एकदमै एक्लो भए, आफ्नो भन्ने कोही पनि रहेन ।

दिदीको उमेर १४/१५ वर्षको हुँदा प्रतापसिंह घर्ती (काले) ४/५ वर्षका थिए । दिदी बेपत्ता भएपछि उनी एक्लै भए । सानो उमेर भएका कारण उनलाई माओवादीले आफूसँगै राखेनन् । उनी माओवादीको समूहबाट भागे तर आफ्नो घर जाने बाटो भने पत्ता लगाउन सकेनन् । उनले आफ्नो घरसम्म पुग्नका लागि धेरै प्रयास गरे पनि कहिल्यै घर पत्ता लागेन ।

‘धेरैसँग हार गुहार समेत गरेको थिएँ तर कसैले पनि मलाई मेरो घर पुर्याइदिन चाहेनन्, उल्टै आफूहरुले पाल्ने र आफैसँग बस भनेर भन्थे ,’ उनले पुराना दिनहरु सम्झिँदै भने, ‘मैले सबै कुराको आशा मारे पनि घर जाने आशा भने कहिल्यै पनि मारेको थिइनँ, एक दिन त घर पुगिहाल्छु नि भन्ने लाग्थ्यो ।’

भोकै र चिसो सडकमै सुतेर बिते कैयौँ रात

आफूले नचिनेको ठाउँमा सबै कुरा विराना हुन्छन् ।  कालेलाई पनि कसले चिनेको थियो र ? उनी एक छाक खाना र रातको बास बस्न कहाँ कहाँ भौतारिएनन् ।
कहिले सडक पेटीमा, कहिले बीच जंगलमा जहाँ पायो त्यही सुत्दै उनले कति रातहरु गुजारे । सडकमा जे पायो त्यही खाँदै पेट पाल्न थाले । 

बिस्तारै उनी ठूलो भए कसैले होटलमा भाँडा माझ्ने काम लगाइदिए । त्यो कुन ठाउँ थियो अहिले उनी ठ्याक्कै सम्झिदैनन् । त्यसपछि बिस्तारै उनले मान्छे चिन्न थाले । कहिले होटेलमा भाँडा माझे, कहिले कसैको भारी बोकिदिए त कहिले गाडीमा सहचालकको काम गरेर उनले जसोतसो एकसरो ज्यानलाई पाल्न थाले ।

उमेरसँगै ताकत बढ्यो अनि थाले मजदुरी 

बिस्तारै उनी बालापनबाट किशोरावस्थामा प्रवेश गरे । ओठमा हल्का जुँगाको रेखी टल्कियो । कामको अनुभव बढ्दै गयो । ठेकेदारहरुलाई चिन्न थाले । उनी कामको लागि जिल्ला जिल्लामा पुग्न थाले ।

कामकै सिलसिलामा बझाङको खप्तड छान्ना गाउँपालिकामा पुगेपछि उनको भेट गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायासँग भयो । 

कालेले आफ्नो जिल्ला, गाउँ सबै बिर्सिसकेका थिए । उनलाई आफ्नो घर नजिकैको चिउरी घाँट खोलाको याद थियो । खोजी गर्दै जाँदा उनी रोल्पाको दुर्गम गाँउ माडी गाउँपालिकाको वडा नम्बर एक जबाङ गाँउका भएको पत्ता लाग्यो ।

वर्षौसम्म घरबाट बिछोडिएका घर्ती आफ्नो घर जान पाउने भए । गाउँपालिकाका अध्यक्षसहितको टोलीले शनिबार गाउँपालिकाकै खर्चबाट उनलाई उनको घर सम्म पुर्‍याइदिए । 

गाउँपालिकाका अध्यक्षले जिल्ला प्रशासन कार्यालय बझाङलाई यसबारे जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बझाङले रोल्पा जिल्ला प्रशासनलाई जानकारी गरायो । विभिन्न मिडियामा समाचार प्रकाशन भयो । त्यसपछि त उनको घर समेत पत्ता लाग्यो ।

परिवारमा खुसी 

सानैमा घरबाट बेपत्ता भएको छोरा जवान भएर घर फर्किएपछि उनको  परिवारमा एकाएक खुशी छायो ।

उनका बुबा खलवीर घर्तीले त छोराको आश पनि मारिसक्नुभएकाे थियाे । ‘भिडन्तमा परेर छोराको मृत्यु भैसकेको होला भन्ने सोचेका थियौँ,’ उहाँले आँखा रसिलाे पार्दै भन्नुभयाे, ‘हामीले छोराको खोजी त धेरै गरेका थियौ । तर कतै पनि पत्ता नलागेपछि आशा नै मारिसकेका थियौँ । धन्न छोरा जीवितै रहेछ ।’

प्रताप घर्तीलाई उनको घरसम्म पुर्याउन जानुभएका नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका सचिव शैलेन्द्र रोकायाले भन्नुभयो,  ‘हामीले प्रताप घर्तीलाई उनकै घरसम्म पुरर्‍यायौँ । घरमा पुग्दा छिमेकीहरु सबै जम्मा भए र निकै स्वागत समेत गरे ।’

सबैले युद्धकालमा नै मृत्यु भैसकेको भनेर आशा नै मारिसकेका रहेछन् । प्रताप पनि आफ्नो जन्मभूमी पुग्दा भक्कानिएर रोए । 

प्रतापको घर अहिले पनि खरले नै छाएको छ । ‘हामी जस्ता सर्वहाराका लागि लड्दै छु भनेर माओवादीले त्यत्रो जनआन्दोलन गरे‘, प्रतापका बुबाले टेलिफोन कुराकानी मार्फत दुखेसो पोख्नुभयो, ‘ परिवर्तन त हुने खानेहरुका लागि मात्रै रहेछ । हामीहरुजस्ता दिनदुखीको अवस्थामा भने केही फरक भएको छैन ।’ 

प्रतापकी दिदि मनकुमारी युद्धकालमा बेपत्ता भएकी भन्ने हल्ला थियो । तर उनका बुबा खलविर घर्तीले बताउनुभए अनुसार मन कुमारी पनि अहिले जीवितै छिन् । उनी त्यतिबेला भागेर भारतमा गएकी र उतै विवाह गरेको  उहाँले बताउनुभयो । 


 

अन्तिम अपडेट: भदौ २, २०७६

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया