थाहानगरमा फस्टाउँदै आलु खेती

 बैशाख १४, २०७६ शनिबार १७:७:१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको थाहा नगरपालिकाको पालुङमा आलु खेती निकै फष्टाएको छ । किसानको मेहनत अनि मौसमले समेत साथ दिएकाले अहिले आलु खेती फष्टाएको हो । अहिले हरेकका बारी र खेतमा आलुका बोट हरियो देख्न सकिन्छ । किसानहरु आलु गोड्ने, औषधि छर्कने लगायतका काममा व्यस्त पनि छन् । 

थाहा नगरका विभिन्न टोल र गाउँका सबै फाँटमा आलु खेतीले पुरै पालुङलाई थप सुन्दर समेत बनाएको छ । थाहा नगरपालिकाका हरेक क्षेत्रमा आलु खेती गरेका किसानहरु यस वर्ष आलु उत्पादनमा वृद्धि हुनेमा आशावादी छन् । अहिले समय समयमा पानी पर्ने, मौसमले पनि साथ दिएकाले आलु उत्पादनमा वृद्धि हुनसक्ने उनिहरुको अनुमान छ ।

बेमौसमी तरकारी उत्पादनका लागि प्रसिद्ध मकवानपुरको पालुङ आलु उत्पादनका लागि पनि उर्वरभूमि मानिन्छ । यस वर्ष समयमै पानी परेपछि पालुङमा आलुको उत्पादन बढ्ने कृर्षि विज्ञहरुको अनुमान छ । थाहा नगरपालिकाको टिस्टुङ–पालुङ र चित्लाङका उर्वर फाँटहरुमा परम्परागत गहुँ लगायत अन्न खेती विस्थापित हुँदैगएको छ । 

यस क्षेत्रमा व्यावसायिक तरकारी खेती भित्रिएपछि आलु र काउलीले गहुँ र अन्य बालीलार्ई विस्थापन गरेको किसानहरु बताउँछन् ।  

अरु खेतीको तुलनामा अहिलेको आलु खेती सजिलाे भएको पालुङका किसान श्याम गोपाली बताउनुहुन्छ । पहिले अरु अन्न बालीले जग्गा मात्र ओगट्ने र तरकारी बालीभन्दा धेरै कम आम्दानी हुने भएपछि विगत ५ वर्षदेखि नै अन्न खेतीको तुलनामा तरकारी र आलु खेती गर्न लागिएको बज्रबाराही, कुन्छालका कृषक सानुकाजी गोपाली बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अबको जमानामा बाबुबाजेले जस्तो परम्परागत हिसाबले खेती गरेर समय र मेहनत खेर फाल्नु हुँदैन ।’ 

जग्गा बाँझो राख्न नहुने मान्यताले गर्दा मात्र किसानहरु, धान मकै लगायतका खेती गर्दै आइरहेका थिए । अहिले बेमौसमी रुपमा पनि आलु, काउली, टमाटर लगायतका तरकारी बालीलाई बढी प्राथमिकता दिइएको किसानहरु बताउँछन् ।

यहाँका किसानले उत्पादित आलु र काउली बेचेर वार्षिक लाखौं रुपैयाँ हात पार्ने गरेका छन् । स्थानीय व्यापारी हाताहातै नगद बोकेर घरघरमै आलु-काउली किन्न आउने भएपछि किसान पनि दंग छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया