तीन भाइ बहिनीकी एक्ली अभिभावक १३ वर्षीया सुशीला

 बैशाख १५, २०७६ आइतबार ११:२१:४ | किरण लोहनी
unn.prixa.net

गोरखा – वैशाख १३ गते शुक्रबार, दिउँको १ बजेतिर सानो बालकलाई डोहोर्‍याउँदै एक किशोरी जिल्ला प्रशासन कार्यालय परिसरमा आइपुगिन् । थोरै मैलो र आफ्नो ज्यानमा ठ्याक्कै नमिलेको घाँघर लगाएकी किशोरीको अनुहारमा चिन्ता, भय र अन्यौल सजिलै पढ्न सकिन्थ्यो । उनको साथमा भएका बालकको हात प्लास्टर गरिएको थियो । सामान्य कुराकानीबाट थाहा भयो, उनीहरु दिदी भाइ रहेछन् । दिदी १३ वर्षकी सुशीला विक र भाइ ६ वर्षका सुवास । ठेगाना, शहीद लखन गाउँपालिका –८ बुंकोटको मैलुङ ।

वैशाख १२ गते साँझतिर साथीहरुसँग खेल्ने क्रममा  सुवासको हात भाँचियो । झटपट उपचारका लागि स्वास्थ्य संस्थामा जाने मेसो मिलेन । कारण, भाइ सुवाससहित अन्य दुई बहिनीको अभिभावकत्व लिएकी  सुशीलाले यो सबै बोझ उठाउन सक्ने कुरै भएन ।

आफैँ अभिभावकको आश्रयमा रमाउने उमेरकी  सुशीला एक महिना यता दुई बहिनी र एक भाइको संरक्षक बन्नु परेको छ । घर नजिकै मामाघर छ, त्यहाँसम्म खबर पुगेपछि मामाघरकी हजुरआमालाई साथ लिएर उनीहरु गोरखा अस्पताल आइपुगे । सुवासको हातमा गम्भीर चोट लागेको चिकित्सकहरुले बताए । जिल्ला अस्पतालमा हुनेसम्मको उपचारपछि उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ जान सल्लाह दिइयो । 

‘डाक्टरले छिटो उपचार गर्नु भनेका छन्, काठमाण्डौ जान, उपचार गर्न, त्यहाँ बस्न खर्च धेरै लाग्ने भएपछि मद्धत माग्न आएको’ प्रशासन कार्यालयमा उज्यालोसँग कुरा गर्दै सुशीलाले भनिन्, ‘अस्पतालमा भेटिएका अरु मान्छेले यहाँ आएपछि मद्धत मिल्छ भने त्यही भएर यहाँ आएको ।’

जुन कार्यालयमा उनी भाइको उपचारका लागि आर्थिक सहयोगको याचना गर्दै थिइन्, त्यसको ५ सय मिटरमात्रै तल रहेकी उनकी आमा कालीमाया विकलाई छोराको हात भाँचिएको र छोरी सहयोग माग्दै हिँडेको पत्तो थिएन । किनकी, कालीमाया १३ दिनयता जिल्ला कारागारमा थुनामा छिन् । 

छिमेकीलाई गाली गलौज र कुटपिट गरेको कसुरमा जिल्ला कारागारबाट कैद सजाय भोगिरहेकी कालीमाया जेलमुक्त हुन ५ महिना लाग्छ, तर सुवासको उपचार एक दुई दिनभित्रै गर्नुपर्नेछ । सार्वजनिक हितविरुद्धको मुद्धामा जिल्ला प्रशासनले मागेको ३८ हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि कालीमाया कारागार पुगेकी हुन् । ‘आमालाई भेट्न र धरौटी रकम खोज्न भनेर घरबाट निस्किनुभएका बुवा पनि बेपत्ता हुनुहुन्छ’ सुशीलाले भनिन्, ‘मामाघरबाट पनि सहयोग माग्ने अवस्था छैन, तीनैजना मामा पनि जेलमै हुनुहुन्छ ।’

सुवासको हातको कुहिनो माथिको भाग भाँचिएर हाडले ठाउँ छोडेको जिल्ला अस्पतालले जनाएको छ । ‘यहाँ हुने उपचार गरिएको छ, अपेरशन ठूलै चाहिने भएकाले वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर गरिएको छ’ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक एवम् सूचना अधिकारी कृष्ण ढकालले भन्नुभयो, ‘वीरमा फोन गरेर बालकको सबै पारिवारिक अवस्था बताएर सकेसम्म निःशुल्क उपचारका लागि आग्रह गरेको छु ।’ स्थानीय तहको सिफारिस लिएर गएमा निःशुल्क उपचार हुने देखिन्छ । 

तर त्यसपछिको बाटो भने पूरै अनिश्चित छ । १३ वर्षकी सुशीलाले दुई कक्षामा पढ्दापढ्दै पढाइ छोडेको ५ वर्ष भैसकेको छ । ठूली बहिनी १० वर्षकी मिना स्थानीय रामेश्वरी माविमा ४ कक्षामा पढ्छिन् । भाइ सुवाससँगैकी जुम्ल्याहा सुजिता भने विद्यालय भर्ना भैसकी छैनन् । 

सुवास भर्खरै शिशु कक्षामा भर्ना भएका छन् । ‘यिनीहरुको हेरबिचारदेखि स्कुल पठाउने सकै काम मैले नै गर्नुपर्छ’ अँध्यारो अनुहार बनाउँदै सुशीला भन्छिन्, ‘मैले त पढ्न पाइन, भाइ बहिनीलाईचाहिँ पढाउँछु भन्ने लागेको छ ।’ उसै त विपन्न परिवारका उनीहरुलाई हेर विचार गर्ने नजिकको आफन्त खासै छैनन् । त्यसैले दुई बहिनी र भाइको लालनपालनको सबै जिम्मा सुशीलाकै काँधमा छ । ‘ढुंगा बालुवा बोक्न जान्छु, कहिले छिमेकको बारीमा मल बोक्ने काम पाइन्छ, दिनमा ४ सय रुपैयाँसम्म कमाइ हुन्छ’ उनी भन्छिन्, ‘त्यति कमाइले नुत, तेल, चामल किन्न पनि मुश्किल छ ।’

मदिरा खाएर छिमेकीसँग झगडा गर्ने आमाबाट पनि ठूलो भरोसा पाइन्छ भन्ने आशा छैन उनलाई । ‘रक्सी खानुहुन्छ, सुरको कुरै गर्नुहुन्न, झन् जेलमा परेपछि के–के भन्नुहुन्छ, जेलमा भेट्न जाँदा पनि सुरको कुरा गर्नुहुन्न ।’ आमाको पछिल्लो अवस्थाबारे सुशीलाले भनिन् । अप्ठ्यारो बेलामा कलिला छोराछोरी छोडेर हिँड्ने बुवा प्रकाश छिट्टै घर फर्किन्छन् कि भन्ने आशामा छन्, उनीहरु । कलिलै उमेरमा पारिवारिक बोझ बोक्न वाध्य सुशीलाले भनिन् ‘नफर्किए पनि पीर छैन, तीन दिदी बहिनीको एउटा भाइ हो, यसलाई राम्रो गर्न पाए भोलि हामीलाई हेर्छ कि भन्ने आशा छ ।’   
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

2 Comments

  • Sudesh

    April 28, 2019, 1:34 p.m.

    How can we help her? Let us know. 9851024902

  •  0 Reply
  • Kumar kafle

    April 28, 2019, 12:01 p.m.

    हाल अहिले यी नानी हरु कहाँ बस्दै छन?? सम्पर्क कसरी गर्न सकिएला ??

  •  0 Reply

तपाईको प्रतिक्रिया