आगलागी हुँदा डाेटीमा ७ सय ४४ हेक्टर वन नष्ट

 बैशाख १७, २०७६ मंगलबार १२:४२:३८ | विमल बिष्ट
unn.prixa.net

डोटी - विभिन्न सामुदायिक तथा कबुलियती वनमा आगलागी हुँदा सात सय ४४ हेक्टर वन क्षेत्र नष्ट भएको छ ।

डिभिजन वन कार्यालय डोटीका निमित्त वन अधिकृत सुरेशचन्द्र डिसीका अनुसार, सामुदायिक तर्फका कम्तीमा ४५, कबुलियती तर्फका २ तथा अन्य केही सरकारी वनमा आगलागी भएको हो । 

वनमा लागेको आगो निभाउने प्रयास गरिरहेको भए पनि आगो नियन्त्रणमा आउन नसकेको अधिकृत डिसीले बताउनुभयो । ‘पछिल्ला केही दिन यता पानी नपरेकाले पुरै जङ्गल सुख्खा छ, आगो निभाउने भरपुर प्रयास भए पनि सकिएको छैन, निभाउने प्रयास भइरहेको छ,’ उहाँले भन्नुभयो ।  

डोटीमा तीन सय ६६ सामुदायिक र एक सय ९६ कबुलियती वनहरु रहेका छन् । सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र विरुवा सखाप भएको जोरायल गाउँपालिका-५, गड्सेराको मसानी सामुदायिक वनकी कोषाअध्यक्ष दुर्गादेवी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगोले साना बुट्यान र बिरुवाहरु सखाप पारेको छ, नयाँ बिरुवा उम्रिन लामो समय पर्खिनु पर्ने अवस्था देखिएको छ ।’ 

आगलागीसम्बन्धी जनचेतना गराउँदा गराउँदै पनि धेरै वनमा लागेको आगो नियन्त्रण गर्न नसकिएको वन कर्मचारीको भनाइ छ । कतिपय जङ्गलहरुमा स्थानीयबासीन्दा र उपभोक्ताले नयाँ घास उम्रिने आशले पनि वनमा आगो लगाउने गरेका छन् । अधिकांश वनमा आगो लाग्दा आँखा चिलाउने, सास फेर्न आप्ठ्यारो महसुस हुने, वातावरण धमिलो देखिनेजस्ता समस्या आउन थालेको जोरायल गाउँपालिका-२, का स्थानीय रामबहादुर मल्लले बताउनुभयो । 

यस क्षेत्रको वनमा  बर्सेनि आगलागी हुने गरेको छ । वनमा कसले र किन आगो लगाउँछ भन्ने पत्ता लगाउन नसक्दा जिल्लामा बर्सेनि आगलागी हुँदै आएको केआईसिंह गाउँपालिकाका रामबहादुर लुहारले बताउनुभयो । ‘वनमा आगलागी भएको मात्रै देखिन्छ, कसले र किन आगो लगाउँछ, त्यो विषयमा अहिलेसम्म कसैलाई पनि जानकारी भएको छैन,’ उहाँ भन्नुहुन्छ ।   

कतिपय अवस्थामा गाईवस्तु चराउन गोठालो जानेले खाएको चुरोटको ठुटोबाट पनि आगलागी हुने गरेको छ । बाक्लो तथा घना जङ्गल भएका कारण एक ठाउँमा लागेको आगो सहजै अर्को ठाउँमा सर्ने गरेको रानीवन सामुदायिक वनका तीर्थराज भण्डारीले बताउनुभयो । जङ्गल बाक्लो छ, अग्नि नियन्त्रक रेखा खासै कसैले हालेको छैन, एक ठाउँमा आगो लागे पछि अन्यत्र पनि सहजै सर्ने गरेको छ,’ उहाँले भन्नुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया