सिन्धुलीको सुन चोरी काण्ड थप रहस्यमय बन्दै

 बैशाख १६, २०७६ सोमबार १५:४२:३ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ को सागर सुनचाँदी पसलमा कालीगढको रुपमा काम गर्ने सुरजित सरकारको डेराबाट गएको चैत ६ गते हराएको एक सय २० तोला भनिएको सुनको अनुसन्धान थप रहस्यमय बन्दै गएको छ । 

भारत पश्चिम बंगाल घर भई कमलामाई नगरपालिकाको कुमारी मिश्रा खड्काको घरमा डेरा बस्दै आएका सुरजित २० वर्षदेखि त्यही सुनपसलमा काम गर्दै आइरहेका थिए । उनको डेराबाट हराएको सुन एक सय २० तोला नभई ६१ तोला भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले सुन काण्ड सार्वजनिक गर्न सोमबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा चोरीमा संलग्न आठ जना मध्ये पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको छ । ‘घटना हुने बित्तिकै उद्योग वाणिज्य सङ्घले सुरजित सरकारको कोठाबाट एक सय २० तोला सुन हराएको भनी प्रेस विज्ञप्ति निकालेको थियो’, प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले भन्नुभयो, ‘तर सुरजित सरकारले दिएको जाहेरीमा विभिन्न किसिमका सुनका गरगहना ५२ तोला र सुनको बुट्टा नौ तोला चोरी भएको उल्लेख छ ।’ 

चोरी भएको सुनमध्ये दुई वटा औठी योजनाकार विनोदकुमार दियालीले मासेर खाइसकेको अरु सुन फरार अभियुक्तले लिएर गएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार, सुन चोरी काण्डमा आठ जनाको योजनाबद्ध संलग्नता रहेको अनुसन्धानको क्रममा खुलेको छ । 

यीमध्ये सुन काण्डका मुख्य योजनाकारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेर डकैती अभियोगमा जिल्ला अदालतमा मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाएको छ । अदालतबाट अभियोग प्रमाणित भएमा अभियुक्तहरुलाई जनही सात वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्म जरिबाना हुने छ ।

पक्राउ पर्नेहरुमा मुख्य योजनाकार कमलामाई नगरपालिका ५ बस्ने २५ वर्षीय विनोदकुमार दियाली, २१ वर्षीय बुद्ध दियाली, १८ वर्षीय प्रदीप दियाली, मोरङ जिल्ला घर भएका र सिन्धुलीमाढीको सगरमाथा सुनचाँदी पसलमा सुनको कालिगढको रुपमा काम गर्ने १९ वर्षीय सुनिल बराईली र कमलामाई नगरपालिका ७ ठूलीटार बस्ने ३४ वर्षीय हरि खत्री रहेका छन् । 

‘ती अभियुक्तले चोरी गरेको सुन वैध हो कि अवैध हो, त्यसमा आशंका छ । यो पनि अनुसन्धानको विषय बनेको छ,’ उपरीक्षक सिंहले भन्नुभयो, ‘नयाँ सुन ल्याएर अर्डर दिएको देखिँदैन, पुरानै सुन अर्डर दिएको देखिन्छ ।’ 

यता सिन्धुली उद्योग वाणिज्य सङघका अध्यक्ष अमरेशचन्द्र बैदारले भने फागु पुर्णिमाका दिन अचेत अवस्थामा रहेका सुरजितका मामा प्रेम सरकारले दिएको जानकारीका अधारमा १२० तोला सुन चोरी भएको उल्लेख गरि प्रेस विज्ञप्ति जारी गरेको बताउनुभएको छ । 


 

अन्तिम अपडेट: चैत १०, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया