अस्मिना रञ्जितकाे चित्रकला एसियन आर्ट प्राइजकाे अन्तिम सूचीमा, विजेताले ३० हजार अमेरिकी डलर पाउने

 बैशाख १८, २०७६ बुधबार १३:३१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली चित्रकार अस्मिना रञ्जितको चित्रकला ‘द सभरिन एसियन आर्ट प्राइज’ को अन्तिम ३० को सूचीमा परेको छ ।

एसिया प्यासिफिक क्षेत्रका स्वतन्त्र कला विज्ञहरुको छनोट समितिले नेपाली कलाकार अस्मिना रञ्जितसहित ३० कलाकारको चित्रकलालाई अन्तिम सूचीमा राखेको हो । अन्तिम सूचीमा परेका चित्रकला हङकङमा प्रदर्शनीका लागि समेत राखिएको थियाे । अस्मिना रञ्जितको ‘सेक्रेडनेस विदिन एण्ड बियोण्ड : मल्टीपल कैलाश’ शीर्षकको चित्रकला अन्तिम सूचीमा परेको हो । यसमा रञ्जितले साथीहरुसँग कैलाश यात्रा जाँदा अनुभवलाई उतारेकी छिन् । 

रञ्जितले सन् २००६ मा कोलम्बिया विश्वविद्यालयबाट न्यू जान्रा भिजुअल आर्ट्स मा मास्टर्स गरेकी छिन् । रञ्जितले स्थानीय कलाको विश्वव्यापी प्रभाव र विश्वस्तरीय कलाको स्थानीय प्रभाव हुने विश्वास गर्छिन् ।  उनका चित्रकलाको संग्रहस्वरुप ‘साइलेन्स नो लङ्गर : एक्टिभिजम अफ अस्मिना’ प्रकाशित छ ।

विजेता पब्लिक भोटका आधारमा घोषणा गरिनेछ ।  सोभरिन आर्ट फाउन्डेशनको वेबसाइट तथा फेसबुक पेजबाट भोट गर्न सकिनेछ । विजेताले हङकङमा हुने एउटा विशेष समारोहमा ३० हजार अमेरिकी डलर पाउनेछन् ।

बाँकी २९ वटा चित्रकला भने लिलामीका लागि राखिनेछ । लिलामीबाट प्राप्त ५० प्रतिशत रकम कलाकारलाई तथा ५० प्रतिशत रकम च्यारिटीका लागि दिइने फाउन्डेशनले बताएको छ । 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया