दुर्घटनापछि सडकमा लडेका दुई जनाको ट्रकले ज्यान लियो

 बैशाख १८, २०७६ बुधबार १८:३:० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - गल्छी गाउँपालिका-४, बेल्खु पृथ्वी राजमार्गमा बुधबार दिउँसो भएको दुर्घटनामा दुई जनाकाे ज्यान गएकाे छ।

मोटरसाइकल र माइक्रोबस एक आपसमा ठोक्किएर भएको दुर्घटनापछि पछाडिबाट आएको ट्रकले किच्दा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । 

चितवनबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल र काठमाण्डौबाट नवलपरासीतर्फ जाँदै गरेको  बा ४ ख ५१०३ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा सवार काठमाण्डौ चन्द्रागिरी नगरपालिका-५ का २९ वर्षीय राज महर्जन र चन्द्रागिरी नगरपालिका-१२ का ३० वर्षीय कवि कुमार महर्जन सडकमा लडेका थिए ।

त्यही समयमा चितवनबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकले किच्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो ।

घटनापछि माइक्रोबस चालक र ट्रक चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको छ भने राजमार्गमा कुनै अवरोध छैन । 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया