६ ओटा स्थानीय तहका स्वास्थ्य संस्था १५ शैयाको प्राथमिक अस्पतालमा स्तरोन्नति

 बैशाख १९, २०७६ बिहिबार १०:५७:३३ | सुजता सुनुवार
unn.prixa.net

इलाम – सरकारले इलामका ६ स्थानीय तहका स्वास्थ्य सस्थालाई १५ शैयाको प्राथमिक अस्पतालमा स्तरोन्नति गर्ने भएको छ । जिल्लाका तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र र तीन वटा स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै पूर्वाधार निर्माण गर्न लागेको हो । 

सूर्योदय नगरपालिकाको केन्द्रमा रहेको फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र, देऊमाई नगरपालिकाको केन्द्रमा रहेको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र र माइजोगमाई गाउँपालिकाको प्याङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्राथमिक अस्पतालमा स्तरोन्नति गर्न छनोट गरिएको छ  । त्यस्तै चुलाचुली गाउँपालिकाको चुलाचुली स्वास्थ्य चौकी, फाकफोकथुम गाउँपालिकाको फाकफोक स्वास्थ्य चौकी र माङ्सेबुङ गाउँपालिकाको इभाङ स्वास्थ्य चौकीलाई समेत १५ शैयाको प्राथमिक अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।

यी स्वास्थ्य संस्थाहरूमा अहिलेको अवस्था, सम्भाव्यता र आवश्यकता पहिचानसहित पूर्वाधार निर्माणका लागि काम थालिएको छ । शहरी विकास तथा भवन निर्माण विभागको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने थप संरचनाको अध्ययन र आवश्यकता पहिचान थालिएको विभागले जनाएको छ ।

गएको वैशाख पहिलो साता विभाग अन्तरगतको झापास्थित सघन शहरी तथा भवन निर्माण आयोजनालाई पत्राचार गरी इलामका ६ वटै स्वास्थ्य संस्थाहरुको सम्भाव्यता अध्ययन र आवश्यकता पहिचानको लागि विवरण मागेको बताइएको छ । आयोजनाले पनि स्थानीय तहलाई सोही विवरण उपलब्ध गराइदिन पत्राचार गरिसकेको जनाइएको छ ।

सम्बन्धित स्वास्थ्य संस्थालाई स्तरोन्नतिका लागि कम्तीमा नौ रोपनी जग्गा आवश्यक पर्नेछ । जग्गा सम्बन्धित संस्थाको नाममा दर्ता भएको जग्गाधनी दर्ता प्रमाण पूर्जा वा अधिकार प्राप्त निकायले जारी गरेको भोगाधिकारको कागजात उपलब्ध गराउनु पर्नेछ । यस्तै प्राथमिक अस्पताल निर्माण स्थलसम्म मोटरबाटोको पहुँच समेत भएको हुनु पर्ने बताइएको छ ।

सबै स्थानीय तहहरूमा कम्तीमा प्राथमिक अस्पताल बनाउने नीति अनुरुप देशैभर यो काम थालिएको छ । प्रदेश नम्बर एकमा विभागले झापाका पाँच, पाँचथर र ताप्लेजुङका २/२ वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत स्तरोन्नति गरी १५ शैयाको प्राथमिक अस्पताल बनाउन अध्ययन सुरु गरेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया