फुटबल, क्रिकेट र शारीरिक सुगठनका विजेता खेलाडीहरुलाई सरकारकाे सम्मान

 बैशाख १९, २०७६ बिहिबार १४:१६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले फुटबल, क्रिकेट र शारिरीक सुगठनका विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । 

युवा तथा खेलकुद मन्त्रालयले बिहीबार सिंहदरबारमा यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिजका विजेता क्रिकेट खेलाडी, १२ औं सागमा स्वर्ण पदक विजेता फुटबल खेलाडी र विश्व शारीरिक सुगठनका स्वर्ण पदक विजेता खेलाडी महेश्वर महर्जनलाई नगदसहित सम्मान गरेको हो ।

जस अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नेपाली क्रिकेट टिमका विजेता खेलाडीहरुलाई जनही ५ लाख नगदसहित सम्मान गर्नुभयो । क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी तथा सोमपाल कामी नगद ५ लाखसहित सम्मानित हुनु भएको हो ।

त्यसैगरी क्रिकेटकै पवन सर्राफ, सन्दिप जोरा, भीम सार्की, प्रदिप ऐरी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, ललितनारायण राजवंशी, अविनाश बोहरा, आरिफ शेख र रोहित कुमार पौडेललाई पनि नगद ५ लाख सहित सम्मान गरिएको छ ।

सरकारले क्रिकेट प्रशिक्षक जगत टमाटालाई पनि ३ लाख नगदसहित सम्मान गरेको छ । मन्त्री विश्वकर्माले ब्याटिङका प्रशिक्षक उमेश पटुवा, ट्रेनर नन्डियाडा सुवाषचन्द्र पात्रो, फिजियो दिनेश भट्ट र म्यानेजर रमन शिवाकोटीलाई पनि जनही २ लाख नगदले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान पारख खड्काले सरकारले सो सम्मानबाट आफूहरुलाई झनै उत्साही बनाएको बताउनु भयो । उहाँले त्यस अवसर अझै राम्रो खेल खेलेर नेपालको मान, सम्मान विश्वमा अझै उचाईमा पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सरकारले सन् २०१६ मा भारतमा सम्पन्न भएको १२ औं साग खेलकुद प्रतियोगितामा फुटबलतर्फ स्वर्ण पदक हात पार्न सफल नेपाली फुटबल टिमका खेलाडीहरुलाई पनि जनही ३ लाखका दरले पुरस्कार दिएको छ ।

नगद पुरस्कार पाउने खेलाडीहरुमा कप्तान विराज मर्हजन, एलन न्यौपाने, विकेश कुथु, अनन्त तामाङ, मानबहादुर तामाङ, आदित्य चौंधरी, दिनेश राजवंशी, कमल श्रेष्ठ, जगजित श्रेष्ठ, विशाल राई रहेका छन । त्यसैगरी विक्रम लामा, हेमन राई, प्रकाश बुढाथोकी, सुनिल बल, रञ्जन विष्ट, सुमन लामा, अन्जन विष्ट, नवयुग श्रेष्ठ र विमल घर्तीमगरलाई पनि जनही ३ लाखका दरले सम्मान गरिएको छ ।

कार्यक्रममा विश्व शारीरिक सुगठनका च्याम्पियन महेश्वर महर्जनलाई पनि ५ लाख नगद प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विश्वकर्माले नेपालको मान र शान बढाउने खेलाडीहरुलाई सम्मान गर्न पाएकोमा गौरवको अनुभूति भएको प्रतिक्रिया दिनुभयो । उहाँले नेपालको खेलकुद क्षेत्रको विकास, विस्तार र समृद्धिका लागि आवश्यक पूर्वाधार विकासको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता पनि दोहोर्‍याउनु भयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिना, सदस्य सचिव केशवकुमार विष्टलगायतको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया