बजेट र आवश्यक उपकरणको अभावमा पृथ्वी राजमार्ग ट्रमा सेन्टर अलपत्र

 बैशाख २१, २०७६ शनिबार १३:५७:२४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - पृथ्वी राजमार्ग क्षेत्रमा पटक-पटक हुने साना ठूला दुर्घटनाका घाइतेहरुको उपचारका लागि लक्षित गरेर बनाइएको पृथ्वी राजमार्ग ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन ।

६ करोड रुपैयाँको लागानीमा एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन नसकेको हो । 

अस्पताल निर्माण पक्षले काम सम्पन्न गरी हस्तान्तरण गरेको एक वर्ष बढी समय हुँदा समेत अस्पताल सञ्चालनमा आउन सकेको छैन । अपाङ्गमैत्री सुविधा सम्पन्न सेन्टरमा सख्त, मध्यम र सामान्य घाइतेलाई राखेर उपचार गर्ने छट्टै कक्ष, घाइतेको सामान्य शल्यक्रिया गर्ने कक्ष, ‘ड्रेसिङ्ग’ कक्ष, औषधि पसलको संरचना रहेका छन् । 

अमेरिकी सरकारको आर्थिक सहयोगमा निर्माण भएको पृथ्वी राजमार्ग ट्रमा सेन्टर २५ शैयाको यस अस्पतालको लेभल चार मापदण्डको छ । यस राजमार्ग क्षेत्रमा आवश्यकताको महसुस गरी अमेरिकी सरकारको सहयोगमा बनेको ट्रमा सेन्टर सञ्चालनमा बजेट र आवश्यक स्वास्थ्य उपकरणको अभावमा अलपत्र जस्तै छ ।

दुर्घटनापश्चात् हुने चोटपटकको उपचारका लागि काठमाण्डौ, भरतपुर ल्याउनुपर्ने बाध्यता हटाउन र उपचारका लागि टाढा लैजाँदा बाटोमै हुने सम्भावित मृत्युलाई टार्नका लागि ६ करोडको लागतमा ट्रमा सेन्टर निर्माण भएको हो । 

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय परिसरमा निर्माण भएको ट्रमा अस्पताल सञ्चालनमा ल्याउनका लागि पहल गरिरहेको शिक्षालयका समादेशक एसएसपी किशोर प्रधानले बताउनुभयो ।

प्रधानले अस्पतालको भौतिक संरचना तयार भए पनि बजेट र उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण नहुँदा सञ्चालनमा ल्याउन नसकिएको बताउनुभयो । संगठन प्रमुख, सम्बन्धित मन्त्रालय, स्थानीय तहलाई पनि पटक पटक अनुरोध गरेको बताउदै उहाँले बजेट अभावले गर्दा नै निर्माण भएको एक वर्षसम्म पनि सञ्चालन गर्न नसककेको बताउनुभयो । 

२४ सै घन्टा इमरजेन्सी सेवा दिइने ट्रमा सेन्टरमा भविष्यमा थप सेवा विस्तार गर्दै लैजाने लक्ष राखिएको थियो । राजमार्गमा हुने सवारी दुर्घटना र अन्य दुर्घटनमा परी घाइते हुनेहरुका लागि यो ट्रमा सेन्टर अति आवश्यक रहेको बताउँदै यसै क्षेत्रका सांसद कृष्णभक्त पोखरेलले अस्पताल शीघ्र सञ्चालनको लागि सम्बन्धित मन्त्रालय र विभागमा कुरा गर्ने बताउनुभयो । 

पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडकखण्डमा दिनहुँजसो साना–ठूला दुर्घटना हुने गरेको छ । करोडौंको लागतमा संरचना बनेर प्रयोगमा नआउनु दुःखको विषय भएको बताउँदै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले तत्काल सञ्चालनमा ल्याउनका लागि सहयोग गर्ने बताउनुभयो । 

अस्पताल सञ्चालन गर्नका लागि गाउँपालिकाको मात्रै बजेटले सम्भव नहुने भएकाले अन्य क्षेत्रबाट पनि आर्थिक सहयोगको अपेक्षा राखिएको इच्छाकामना गाउँपालिकाकी प्रमुख गीता गुरुङले बताउनुभयो । गाँउपालिका क्षेत्रमा अन्य साना मेडिकल मात्र रहेको र बनेको यो अस्पताल समयमै सञ्चालनमा आउन नसक्दा समस्या रहेको उहाँले बताउनुभयो ।

सेन्टरका लागि उपचारमा आवश्यक पर्ने उपकरण र नियमित सञ्चालन गर्ने खर्च प्राप्त भएमा सशस्त्रका चिकित्सक टोलीले नै अस्पताल सञ्चालन गर्न सक्ने अवस्था छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया