र्‍याफ्टिङ वर्ल्डकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

 बैशाख २१, २०७६ शनिबार १४:३०:११ | रासस

कास्की - यही मे १६ देखि १९ सम्म अष्ट्रेलियाको क्वीन्सल्याण्डको टुली नदीमा हुने ‘र्‍याफ्टिङ वर्ल्डकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । 

अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महासङघको आयोजनामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडीलाई पर्यटन व्यवसायी सोम थापा, दीपकराज अधिकारी र नरेशबहादुर भट्टराईको पहलमा पोखरामा बिदाइ गरियाे । 

राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता २०७५ बाट छनोट भएका खेलाडी सुरज गुरुङ, सुनिल गुरुङ, सविन गुरुङ, शक्तिकुमार गुरुङ, दीपेश गुरुङ, पदमबहादुर गुरुङ र रविल मियाँ वर्ल्डकपमा सहभागी हुँदैछन् । नेपाली टोलीकोे प्र्रशिक्षकमा निमबहादुर मगर हुनुहुन्छ । 

कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारी, पर्यटनका सङ्घ संस्था तथा व्यवसायीले खेलाडीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरेर शुभकामना व्यक्त गरेका थिए । नेपाल ¥याफ्टिङ एशोसिएनशका अध्यक्ष एवं टोली प्रशिक्षक मगरले यस टोलीले दुई महीनायता कालीगण्डकी, माथिल्लो सेती, त्रिशूली र मस्र्याङ्दी नदीमा अभ्यास गरेकाले विगतको भन्दा यसपटक राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । 

सन् २०१७ मा जापानमा भएको प्रतियोगितामा नेपाली टोलीले १३औँ स्थान हासिल गरेको बताउँदै उहाँले यसपटक पदक ल्याउन नसके पनि पनि अन्तिम १० भित्रपर्ने गरी खेलाडीले मेहनत गरिरहेको बताउनुभयो । 

चिलीमा हुने आगामी संस्करणमा सहभागिता जनाउँदा लाग्ने सम्पूर्ण खर्च अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महासङ्घले बेर्होने भएकाले पनि अन्तिम १० मा पर्ने गरी प्रदर्शन गरिने प्रशिक्षक मगरको भनाइ थियो । सो प्रतियोगितामा नेपालसहित २९ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । 

नदीमा खेलिने साहसिक खेल र्‍याफ्टिङको माध्यमबाट नेपालको झन्डा लिएर विश्वका खेलाडी माझ प्रतिस्पर्धामा उत्रिन लागे पनि सरकारी निकायले चासो नदेखाउँदा दुःख लागेको उहाँको गुनासो थियोे । 

विश्वकपमा सहभागी हुन रु ३४ लाख खर्च लाग्ने भए पनि खेलाडी आफ्नै खर्च र सहयोगमा अष्ट्रेलिया जान लागेको भनाइ नेपाली टोलीका कप्तान सुरज गुरुङको थियो ।

हालसम्म त्रिशूली नदी आसपास तथा खेलाडीको आफ्नो घर भएका चितवनको इच्छाकामना गाउँपालिकाबाट रु छ लाख, धादिङको बेनीघाट रोराङ गाउँपालिकाबाट ५ लाख, गोर्खाको गण्डकी गाउँपालिकाबाट २ लाख, शहीद लखनबाट १ लाख तथा मनकामना दर्शन प्रालिबाट ५० हजार रुपैयाँसहित हालसम्म १४ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको र बाँकी खर्च खेलाडीले व्यक्तिगत रूपमा बेर्होनुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाली टोली यही वैशाख २४ गते अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । 

 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया