आईपीएल: प्लेअफको एकमात्र सिटमा कसको सम्भावना कति ? यस्तो छ गणित !

 बैशाख २१, २०७६ शनिबार १५:२५:० | एजेन्सी
unn.prixa.net

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को अन्तिम चरणको खेल सकिनै लाग्दा झनै रोमाञ्चक देखिएको छ । अब बचेको चार खेलमा सबै टिमले लिग चरणकाे आ-आफ्नै १४औं अर्थात् अन्तिम खेल खेल्दैछन् । 

१२औं सिजनमा अहिलेसम्म तीन वटा टिमले प्लेअफमा आफ्नो सिट सुरक्षित गरिसकेका छन् । सिजनको ५१औं खेलमा गएको बिहीबार सुपर ओभरमा सनराइजर्स हैदराबादलाई हराउँदै मुम्बई इण्डियन्स प्लेअफमा पुग्ने तेस्रो टिम बनेको थियो । यसअघि चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका थिए । 

अब चौथो र एकमात्र सिटका लागि प्रतिस्पर्धा जारी छ । जसका लागि चार टिम आफ्नो ताकत र सामर्थ्यले भ्याएसम्म कोशिश गरिरहेका छन् । 

केही टिम जो विदेशी खेलाडीमा निर्भर रहेका थिए अब उनीहरुले आफ्नो रणनीति बदल्नुपर्नेछ । आईपीएलका लागि बोलाइएका विदेशी खेलाडीहरु आउँदै गरेको विश्व कपको तयारीका लागि आआफ्नो घर फर्किने क्रम जारी छ । अब लगभग सबै टिमले घरेलु खेलाडीकै आडमा जित निकाल्नुको विकल्प छैन । 

प्लेअफमा पुग्ने टिमका लागि आफ्नो प्रदर्शनमा मात्र नभई अरु टिमको खेलमा पनि ध्यान दिनुपर्ने हुन्छ । केही टिमको लागि जित मात्र नभई अरु टिमको हारको पनि आवश्यकता छ । केही टिमका लागि नेट रन रेट र जितको अन्तरको महत्व छ । समग्रमा भन्दा सबै टिमका लागि कम मौका र धेरै चिन्ता र आशंका बढेको छ । 

कोलकाता नाइटराइडर्स 

शुक्रबार राति भएको ५२औं खेलमा कोलकाता नाइटराइडर्सले किंग्स इलाभेन पञ्जाबलाई ७ विकेटले हरायो । यो जितसँगै कोलकाताको प्लेअफमा पुग्ने सम्भावना कायम नै छ । १३ खेलबाट १२ अंकका साथ कोलकाता अंक तालिकाको पाँचौं नम्बरममा छ । कोलकाताले अन्तिम खेलमा तेस्रो स्थानको मुम्बईसँग प्रतिस्पर्धा गर्दैछ । 

किंग्स इलाभेन पञ्जाब

गए राति कोलकाता नाइटराइडर्ससँग हार बेहोरेको किंग्स इलाभेन पञ्जाबले १३ खेलबाट १० अंक बटुलेको छ । अब प्लेअफमा पुग्नका लागि पञ्जाबले आइतबारको खेलमा चेन्नईलाई भारी अन्तरले हराएर मात्र हुँदैन । पञ्जाबले दोस्रो टिमको नतिजामा पनि ध्यान दिनुपर्छ । 

सनराइजर्स हैदराबाद

सनराइजर्स हैदराबाद अंक तालिकाको चौंथो नम्बरमा छ । १३ खेलमा छ खेल जितेको हैदराबादको १२ अंक छ । हैदराबादले प्लेअफमा स्थान बनाउन लिग चरणको अन्तिम खेलमा रोयल च्योलेन्जर्स बेंग्लोरलाई हराउनै पर्छ । तर बेंग्लोरसँग सनराइजले हार्दा त्यसको फाइदा कोलकाता, राजस्थान र पञ्जाबलाई हुन्छ । 

राजस्थान रोयल्स

विदेशी खेलाडी गएसँगै राजस्थान रोयल्स  निकै कमजोर देखिएको छ । राजस्थानका लागि प्लेअफको समिकरण पनि कठिन नै छ । किनकि उसको नेट रन रेट (-० दशमलव ३४३)  निकै खराब छ र एक हारले राजस्थान बाहिरिने निश्चित छ । राजस्थानले अन्तिम खेलमा दिल्ली क्यापिटल्सको सामना गर्दैछ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया