लिभरपुलकाे जितपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक

 बैशाख २२, २०७६ आइतबार ८:१०:१ | नेप्लेज मिडिया
unn.prixa.net

काठमाण्डाै - इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ । ३७ औँ चरणको खेल जारी रहँदा शीर्ष स्थानमा रहेको लिभरपुल र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको दूरी जम्मा २ अंक रहेको छ ।

लिभरपुलले जारी लिगमा एउटा मात्रै खेल खेल्न बाँकी छ भने सिटीले २ खेल खेल्न बाँकी रहेकाले उपाधि होड रोमाञ्चक बनेको हो । गएरातिको खेलमा न्यू क्यासल युनाइटेडमाथि ३–२ गोल अन्तरको जीत निकाल्दै लिभरपुल पुनः शीर्ष स्थानमा फर्किएको हो ।

लिभरपुलको शीर्षस्थान पुनरागमन पछि अब अन्तिम खेलको नतिजा पछि मात्रै लिगको उपाधि छिनोफानो हुने सम्भावना बढेको छ । लिभरपुलले अब उल्भरह्याम्पटनसँग मात्रै खेल्न बाँकी छ ।

यसैगरी सिटीले सोमबार लेस्टर सिटी र आउँदो शनिबार ब्राइटनसँग खेल्ने छ । लगातार दुई खेल सिटीले जितेमा १ अंकको अग्रताका साथ सिटीले लिग जित्ने छ भने सिटी पराजित वा बराबरीमा रोकिँदा लिभरपुलले उपाधि हात पार्ने छ ।

गएराति न्यूक्यासलको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन भर्जिन भान डिजिक, मोहमद शलाह र डिभोक ओरिजीले गोल गरेका थिए । न्यूक्यासलका लागि क्रिष्टियन अत्सु र सलोमन रोन्डोनले गोल फर्काएका थिए ।

लिभरपुलका लागि १३ औं मिनेटमा भर्जिन भान डिजिकले गोल गर्दै अग्रता दिलाएका थिए । तर २० औं मिनेटमा न्यूक्यासलका लागि क्रिष्टियन अत्सुले गोल गर्दै खेल बराबरीमा ल्याए ।

२८ औं मिनेटमा मोहमद शलाहले गोल गर्दै पुनः लिभरपुललाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा २–१ को अग्रता बनाएको लिभरपुलले ५४ औं मिनेटमा गोल खान पुग्यो ।

न्यूक्यासलका लागि सलोमन रोन्डोजले गोल गर्दै खेल बराबरी गरेपछि उपाधि होडमा रहेको लिभरपुल दवाबमा आएको थियो । ७३ औं मिनेटमा सलाहलाई रिप्लेस गर्दै मैदान छिरेका डिभोक ओरिजीले लिभरपुलेको उद्दार गरे ।

उनले ८४ औं मिनेटमा गोल गरेपछि लिभरपुल ३–२ गोल अन्तरले विजयी हुँदै तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको हो । प्रिमियर लिग अन्तर्गत  गएराति नै भएका अरु खेलमा क्रिष्टल प्यालेसले कार्डिफ सिटीमाथि ३–२ गोल अन्तरको जीत निकाल्दा वेस्टह्यामले साउथ ह्याम्पटनमाथि ३–० को जीत दर्ता गरेको थियो ।

यसैगरी वर्नमाउथले टोटनह्याम र उल्भरह्याम्पटनले फुलह्याम माथि समान १–० को जीत दर्ता गरे ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया