पानीको मुहानमै क्रसर : दुई विद्यालय र सात सय उपभोक्ता खानेपानीबाट बञ्चित

 बैशाख २२, २०७६ आइतबार ११:२४:२८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन- खानेपानीको मुहान नजिकै क्रसर उद्योग बनाउने क्रममा पानीको मुहान सुकेपछि गाँउमा पानीको हाहाकार भएको छ । मुहान संरक्षण गर्नुको सट्टा प्रयोग गर्दै आइरहेको पानीको मुहान पनि मास्ने क्रियाकलाप भएको स्थानीयको आरोप छ ।

१५ वर्ष अघिदेखि निरन्तर पिउँदै आएको पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालन गर्न आवश्यक संरचना बनाउँदा पानीको मुहान नै सुकेपछि चितवनकाे कालिका नगरपालिका जुटपानी क्षेत्रका स्थानीय आक्रोशित भएका छन् ।

सात सय घरधुरी र दुई विद्यालयका विद्यार्थीले पानी खाने धाराको मुहानको आडमा क्रसर उद्योग खोल्न जग खन्दा पानी सुकेपछि धारामा पानी आउन छाडेको छ । 

रिङ पोल बनाउन भनेर दर्ता भएको जय मनकामना कंक्रिट उद्योगले क्रसर सञ्चालनमा ल्याउन लागेको हो । भरतपुर महानगरपालिकामा सञ्चालन हुने सडक आयोजनाका लागि अस्थायी क्रसर राख्न खोजिएको उद्योगी पक्षले बताउँदै आएको छ । क्रसर उद्योग सञ्चालन गर्ने क्रममा खानेपानीको मुहान सुकेपछि गाउँमा पानीको समस्या भएको बाँसघारी मझुवा खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष ज्ञान बहादुर कुमालले बताउनुभयो । 

मझुवा बुलबुले खानेपानी अन्तर्गत कालिका नगरपालिका ६ का दुई सय ३० घरधुरीले त्यही खानेपानी प्रयोग गर्दै आएका छन् । स्थानीय आधारभूत विद्यालय गुराउचौरका विद्यार्थीहरुले पनि त्यही खानेपानी प्रयोग गर्दै आएका छन् ।

त्यस्तै बाँसघारी मझुवा खानेपानी अन्तर्गत दुई सय २२ घरधुरी र पृथ्वी माविका विद्यार्थीहरुले पानी प्रयोग गर्दै आइरहेका छन् । कालिका नगरपालिका ८ को जुटपानी बजार नजिकैको खानेपानी मुहानबाट वि.संं. २०६० सालदेखि उनीहरुले खानेपानी प्रयोग गर्दै आएका थिए । पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालनको लागि भवनको जग खन्ने क्रममै खानेपानीको मुहान सुकेपछि गाउँमा पानीको हाहाकार भएको हाे । 

कालिका नगरपालिका ६ का अध्यक्ष विनोद रेग्मीले पहिला स्थानीयलाई पानीको व्यवस्था हुनुपर्ने र त्यसपछि मात्र क्रसर उद्योगको संरचनाको काम अगाडि बढ्ने गरी आफूले पहल गरेको बताउनुभयो । 

क्रसरका लागि भवनको जग खनेपछि धारामा एक हप्तादेखि पानी नआउँदा  गाउँलेहरुले दुःख पाएको मझुवा बुलबुले खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष ज्ञानु कुमालले बताउनुभयो  । धारामा पानी नआएपछि स्थानीयहरु नजिकैको मन्दिरमा रहेको इनारको पानी मोटरले तानेर प्रयोग गर्न बाध्य भएका छन् । क्रसर उद्योग बनाउनेहरुले खानेपानी उपभोक्ता समितिलाई जानकारी नै नदिइ संरचना बनाएको उपभोक्ताको आरोप छ । 

क्रसर संचालकहरुले भने खानेपानीको लागि उपभोक्ताले अनुरोध गरेमा अर्को विकल्प खोजेर बोरिङ खनिदिने बताएको र क्रसर भने त्यहीँ नै सञ्चालन गर्ने बताउँदै आएको एक स्थानीयले बताए । 

विसं २०५९ सालमा फनबोर्ड नेपालको सहयोगमा स्थानीयको आर्थिक र श्रमदानबाट पानीको मुहान सञ्चालनमा ल्याइएकाे थियाे । कालिका नगरपालिकाका १, ६, र ७  खानेपानीका लागि समस्याग्रस्त क्षेत्र हुन् । 

कालिका नगरपालिकाका प्रमुख खोमनारायण श्रेष्ठले तत्कालका लागि बोरिङबाट पानी निकालेर व्यवस्था गर्न उद्योगीहरुलाई आग्रह गर्नुभएको छ । क्रसर स्थापनाका लागि आफूहरुसँग कुनै सल्लाह वा सिफारिस नलिएको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया