तत्काल महाधिवेशन गर्न सभापति देउवालाई कांग्रेस नेता पाैडेलकाे दबाब

 बैशाख २२, २०७६ आइतबार २०:४५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिनुभएको छ । 

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने तर्क समेत गर्नुभयो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा पार्टीका स्वर्गीय नेता एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र देशकै रक्षाका लागि पनि नेपाली कांग्रेस पार्टीमा नयाँ जागरण अभियान सञ्चालन गर्नुको विकल्प नरहेको पनि बताउनु भयो । आन्तरिक रुपमा सबल बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई सफल बनाउनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियाे ।

वरिष्ठ नेता पौडेलले सरकारले लोकतन्त्रको मर्ममाथि प्रहार गरिरहेको पनि दोहोर्‍याउनु भयो । कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिले संघीयता कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो । उहाँले संक्रमणकालका बाँकि कामलाई समेत सरकारले नीति तथा कार्यक्रममा समेट्न नसकेको दावी समेत गर्नुभयो ।

उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रममा देशलाई विकास र समृद्धिको बाटोमा लैजाने ठोस कार्यक्रम नरहेको दावी पनि गर्नुभयो ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया