खानेपानीकाे लागि पुर्ख्याैली बस्ती नै सार्नुपर्ने याे कस्ताे बाध्यता !

 बैशाख २२, २०७६ आइतबार २०:४०:४ | विमल बिष्ट
unn.prixa.net

डोटी – खानेपानीको समस्या भएपछि बसाइ सर्न थालेको कुरा सुन्दा अचम्म लाग्ला । तर गर्मी बढेसँगै डोटी जिल्लाको जोरायल गाउँपालिका वडान. ३ थली गाउँका बासिन्दा धमाधम बस्ती सार्न थालेका छन् । 

गाउँ नजिक भएका पानीका मुहानहरु एकपछि अर्को गर्दै सुक्न थालेपछि गाउँमा पानीको समस्या भएपछि उनीहरु बसाइ  सर्न थालेका हुन् । गाउँबाट करिब एक घण्टाको दुरीमा खोप्चे पानी र पूर्वेली मुहान भए पनि त्यहाँ पर्याप्त मात्रामा पानी आउँदैन । दश लिटर गाग्री भरिन पनि घण्टौँ लाग्छ ।

झिसमिसे बिहानैबाट स्थानीय मुहानबाट चुहिने पानी संकलन गरेर गुजारा गरिरहेका छन् । करिब ४५ परिवार भने पानीको समस्या झेल्न नसकेर बस्ती नै सरेर ठूलीगाड भन्ने ठाउँमा झरिसके ।

स्थानीय कृष्णा थापाले भन्नुभयो, ‘पानीको अभाव झेल्न नसकेर थली गाउँको बस्ती गर्मी याममा ठूलीगाडमा आउन थालेको चार दशक भइसक्यो ।’ पानीकै लागि बस्ती सारिनु एकदमै दुःख लाग्दो कुरा भएको उहाँले बताउनुभयो ।

थली गाउँका स्थानीयहरु पानीका लागि कैलालीको सिमाना नजिक बग्ने ठूलीगाडमा जाने गरेका छन् । यो वर्ष मात्रै १८÷२० परिवार अस्थाइ बसाइ सरेर त्यहाँ गएको स्थानीय रोज कलेलले बताउनुभयो ।

‘पानी अभावका कारण थली गाउँका स्थानीयहरु बसाइ नै सरेर ठूलीगाड आउन थालेको चार दशक हुन थालिसक्यो’, उहाँले भन्नुभयो, ‘खानेपानीका लागि थुप्रै निकायमा पहल गर्दा समेत अहिलेसम्म कुनै पनि योजना परेको छैन ।’

थली गाउँमा मगर समुदायको बसोबास छ । अहिले ३५ परिवारका २५० जनसंख्या अझै थलीमा छन् । बिसं ०५८ सालमा हेल्भेटास सँस्थाले वर्षातको पानी सँकलन गर्ने घैँटा बनाइ दिएको थियो । 

तर घैँटा चुहिने भएकाले वर्षात सकिएसँगै पानीको हाहाकार सुरु हुन्छ भने यसरी संकलित पानी पीउँदा अधिकांश गाउँलेमा जन्डिसजस्ता रोग देखिने गरको स्थानीय बताउँछन् । 

‘पानीका लागि कस्को खुट्टामा ढोगेनौं, कुन नेता कहाँ पुगेनौ’, अर्का स्थानीय ऐनबहादुर मगरले चित्त दुखाउँदै भन्नुभयो, ‘दशकौंदेखि हाम्रा समस्या उस्तै छन्, हाम्रो पुस्ता त दुःखमै बित्यो, अर्को पुस्ताले पनि पानीको कष्ट भोग्ने भयो ।’

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले थली गाउँमा पानीको निकै ठुलो समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पानीको मुहान टाढा छ,गाउँमा पानीको ठुलै समस्या भएकाले पानीको योजनाका लागि प्रदेश सरकार लगायतका सम्बन्धित निकायमा पहल सुरु गरेका छौँ ।’

गाउँमा पानी नहुँदा वस्तुभाउलाई पनि समस्या हुँदै आएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया