‘इजी ट्याक्सी नेपाल’ सेवा सञ्चालनमा अन्योल

 बैशाख २२, २०७६ आइतबार १८:४८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकाका यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै सञ्चालन गरिने भनिएको मोबाइल एप्समा आधारित ट्याक्सी सेवा ‘इजी ट्याक्सी नेपाल’ सञ्चालनमा अन्योल भएको छ ।

वैशाख दोस्रो हप्तादेखि परीक्षणको रुपमा सुरु गर्ने भनिएको मोबाइल एप्समा आधारित ट्याक्सी सेवाले तीन हप्ता बितिसक्दा पनि गति लिन सकेको छैन । 

विज्ञान र प्रविधिको युगमा ट्याक्सी सेवा पनि प्रविधिमैत्री र छिटोछरितो बनाउनुपर्छ भन्दै उपत्यका ट्याक्सी व्यवसायी संघ र चालक सेवा समाजले मोबाइलमा आधारित ट्याक्सी एप्स सेवा सञ्चालनमा ल्याउने बताएका थिए । तर सरकारी पक्ष र ट्याक्सी व्यवसायी संघबीच समन्वय हुन नसक्दा ट्याक्सी एप्स सेवा कहिले सञ्चालनमा आउँछ भन्ने टुंगो लागेको छैन । 

तोकिएकै समयमा एप्स सेवा सञ्चालनमा आउन नसक्नुको कारणबारे नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम भन्नुहुन्छ, ‘सरकारले कानुन विपरीत ट्याक्सी चालकमाथि शोषण गर्न खोजेको छ । सरकारले नीति र नियममा एउटा कुरा भने पनि व्यवहारमा अर्कै हुन्छ र यसको समस्या समाधान नभएसम्म एप्स सेवा सञ्चालन आउन सक्दैन ।’

‘सरकारले भाडाको गाडीलाई असर पर्ने गरी एप्स सेवा सञ्चालनमा ल्याउन लागेको छ र यो कदम कानुन विपरीत छ । सरकारले ट्याक्सी व्यवसायीको हितमा नसोचेसम्म वार्ताका लागि कुनै पहल हुनेछैन’ उहाँले बताउनुभयो । 

ट्याक्सी व्यवसायीहरुले वर्तमान ट्याक्सी भाडा दर वैज्ञानिक नभएको भन्दै ‘इजी ट्याक्सी नेपाल’ एप्स सञ्चालनमा ल्याउन लागेको बताएका थिए । यो एप्स सेवा सञ्चालनमा आएसँगै ट्याक्सी चालकहरु भनेको स्थानमा जान नमान्ने, धेरै भाडा माग्ने र मिटरमा दौडन नमान्नेजस्ता समस्या हट्ने विश्वास गरिएको थियो । तर अहिलेसम्म पनि इजी ट्याक्सी नेपाल एप्स सञ्चालनमा ल्याउने सम्बन्धित पक्ष तयार देखिंदैनन् । 

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वाछानेले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै छिट्टै प्रविधिमैत्री ट्याक्सी सेवा सञ्चालनमा आउने भने पनि अन्योल कायम नै छ । 

‘इजी ट्याक्सी नेपाल’ सेवा सञ्चालनमा आउँदा यात्रुहरुलाई निकै सहज हुनेछ । यात्रुले प्ले स्टोर र एप्पल स्टोरबाट एप्स डाउनलोड गरेर दर्ता गरेर पाँच मिनेटभित्र नै ट्याक्सीलाई घरसम्म नै बोलाउन सक्नेछन् । यो एप्स सेवासँग जोडिने ट्याक्सीले चालक सेवा समाजमा आबद्ध हुनुपर्छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया