बालिका बलात्कारको विषयलाई लिएर इलाका प्रहरी कार्यालयमा ढुंगामुढा, अवस्था तनावग्रस्त

 बैशाख २२, २०७६ आइतबार २०:०:२२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा– बलात्कारीलाई संरक्षण  र पीडित बालिकाको उपचारमा ध्यान नदिएको भन्दै स्थानीयहरुले इलाका प्रहरी कार्यालय स‌ंखुवा महेन्द्रनगरमा तोडफोड गरेका छन् ।

आइtबार अपराह्न जनकपुर ढल्केबर सडक खण्डमा अवराेध गर्दै प्रदर्शनको क्रममा उनीहरुले क्षिरेश्वरनाथ नगरपालिकाकाे इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा ढुंगामुढा प्रहार गरी तोडफोड गरेका हुन् । 

उनीहरुले सडकमा टायर बालेर अवराेध गर्दै प्रदर्शन गरिरहेका छन् । त्यहाँको अवस्था अहिले तनावग्रस्त छ । प्रहरी र प्रदर्शनकारी बीच ढुंगामुढाको क्रममा एकजना प्रहरी घाइते भएको इलाका पहरी कार्यालयका प्रहरी निरीक्षक अमिर दाहालले जनकारी दिनुभयो । 

गएकाे वैशाख १४ गते क्षिरेश्वरनाथ नगरपालिकाकी एक १४ वर्षीया बालिका आफ्नै घरमा पढिरहेको बेला काका नाता पर्ने ३३ वर्षीय राजकुमार साहले बलात्कार गरेका थिए ।

बलात्कारपछि घाइते भएकी बालिकाको जनकपुर अञ्चल अस्पतालमा उपचार र परीक्षण गरिएको थियो । गएकाे शुक्रबार बालिकाको मानसिक सन्तुलन समेत बिग्रेपछि उनलाई उपचारको लागि काठमाण्डौ लगिएको छ । 

केही पहुँचवाला र आफन्तहरुले पीडक राजकुमारलाई संरक्षण दिन खोजेको तथा कारबाहीमा प्रहरीले तत्परता नदेखाएको भन्दै आक्रोशित स्थानीयहरुले  शुक्रबार समेत सडक जाम गर्दै प्रर्दशन गरेका थिए । उनीहरुले आइतबार पनि ईलाका प्रहरी कार्यालय घेराउ गर्दै ढुंगामुढा र तोडफोड गरेका छन् । 

उपचारका लागि लगिएकी पीडित बालिकालाई त्यहाँ पनि उपचारमा ध्यान नदिएको स्थानीयहरुको आरोप छ । ढुंगामुढाले इलाका प्रहरी कार्यालयको केही झ्यालढोकाको सिसा फुटेको छ । स्थानीयहरुको चक्काजामको कारण जनकपुर ढल्केबर सडक खण्डमा यातायात चल्न सकेको छैन । 

प्रहरीले आरोपित साहलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । प्रहरी निरीक्षक दाहालले प्रहरीले गर्नुपर्ने सम्पूर्ण काम गरिसकेको बताउनुभयो । काठमाण्डौको पाटन अस्पतालमा उपचाररत बालिकालाई प्रहरीले सहयोग गर्न कुनै कसर बाँकी नराखेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया