डोजरवाला जनप्रतिनिधिले टेरेनन् सरकारलाई

 बैशाख २३, २०७६ सोमबार ६:२७:२४ | रासस
unn.prixa.net

पाल्पा – नेपाल सरकारले एक करोड रुपैयाँ भन्दा कम रकमका विकास निर्माणका योजनामा डोजर प्रयोग नगर्ने निर्णय गरेपनि पाल्पाको रैनादेवि छहरा गाउँपालिकामा भने यो निर्णय कार्यान्वयन भएको छैन ।

गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष नै डोजर मालिक भएकाले यो निर्णय कार्यान्वयन नभएको हो । सरकारले गत फागुन १ गतेदेखि कार्यान्वयन हुनेगरी निर्णय गरेको थियो ।

अहिले गाउँँपालिकाका वडा नं. ७ र ८ मा पर्ने चिसापानीदेखि हात्तिगौंडासम्म मोटरबाटो चौडा गराउने काम भइरहेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँको यो योजनाको काम जारी रहेको छ । यो योजनाका लागि १५ दिन अघिदेखि डोजर प्रयोग गरेर काम थालिएको छ ।

काम अन्तिम चरणमा पुगेको वडा नं. ८ का वडा अध्यक्ष थमान रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डोजर प्रयोग गर्ने नगर्नेबारे गाउँपालिकाले कुनै निर्णय गरेको छैन, यो बजेटको काम पनि गाउँपालिकामार्फत नै गरिएको हो ।” वडा नं. ७ मा पर्ने बल्ढेङ्गढीको खड्केनीपोखरामा पनि हाल रु सात लाख बजेटमा बाटो निर्माणमा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीकै डोजर चलिरहेको स्थानीयले बताएका छन् ।

बल्ढेङ्गढीकै गहतेमा पनि रु १२ लाख बजेटको बाटो अध्यक्ष कार्कीकै डोजर प्रयोग गरेर निर्माण काम गरिएको छ । दुईसाता अघि मात्र उक्त काम सकिएको छ । बल्ढेङ्गढीकै चिदीपानीमा दुई लाख रुपैयाँको बजेटमा पनि वडा अध्यक्ष देवेन्द्र पुनका भिनाजुको डोजर प्रयोग गरेर करिब एक किलोमिटर नयाँ बाटोको ट्रयाक खोलिएको छ । 

गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले भन्नुभयो, “काम गर्ने जनशक्ति नभएकाले होला त्यसो गरिएको, कहाँ के भइरहेको छ म बुझौंला ।” स्थानीयका अनुसार अध्यक्ष कार्की र उहाँका आफन्तका गरी आधा दर्जन डोेजरले  गाउँपालिकाभित्र काम पाएका छन् । आठ वडा रहेको गाउँपालिकाभित्र अध्यक्षसहित चार वडा अध्यक्षको डोजरमा लागानी रहेको स्थानिय भुवन रायमाझीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया