विप्लव नेतृत्वको नेकपा जिल्ला इञ्चार्जसहित चार जना पुर्पक्षका लागि कारागार चलान

 बैशाख २३, २०७६ सोमबार १३:३५:४९ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  (विप्लव समूह)का संखुवासभा इञ्चार्ज देव गुरुङसहित चार जना कार्यकर्ताहरु पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत संखुवासभाले जिल्ला इञ्चार्ज गुरुङसहित सुनिता राई, सुजन विश्वकर्मा, सञ्जय तामाङ र बुद्धिमान तामाङलाई कारागार चलान गरेको जिल्ला अदालतका सूचना अधिकारी गोविन्द कार्कीले बताउनुभयो । उनीहरुमाथि बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनामा विस्फोट गराएको, संगठित अपराध, सार्वजनिक सम्पत्तिमाथि आगजनी र अवैध हातहतियारसहितको मुद्धा दायर गरिएको छ ।

प्रहरीले संखुवासभा जिल्लाका साथै विभिन्न फरक–फरक स्थानबाट विप्लव समूहका ९ जना कार्यकर्ता पक्राउ गरेको थियो । जिल्ला इञ्चार्ज गुरुङ र सुनिता राईलाई काठमाण्डौबाट पक्राउ गरेको थियो भने अन्य कार्यकर्ताहरु विभिन्न समयमा फरक–फरक ठाउँबाट पक्राउ परेका थिए । 

पोलिटब्यूरो सदस्यलाई उच्च अदालत पठाइयो

नेत्रविक्रम चन्द नेकपा (विप्लव समूह)का पोलिब्यूरो सदस्य मोहन कार्की जीवन्त)लाई उच्च अदालत विराटनगर पठाएको छ । उहाँ केहीसमय अघि ललितपुर जिल्लाबाट पक्राउ पर्नु भएको थियो । त्यसका साथै विप्लव समूहका पाँचखपन नगरपालिका नगर इञ्चार्ज भीम राई (ज्वाला) केही समयअघि नै पुर्पक्ष कारागार चलान भइसक्नु भएको छ ।

उहाँ एक महिनाअघि पाँचखपन नगरपालिकाबाट नै पक्राउ पर्नुभएकाे थियो । नगर कमिटीका इञ्चार्ज राईले १० हजार धरौटी नबुझाएकाले कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया