मेरो सरकार भन्न त मन लाग्छ, तर ...

 बैशाख २३, २०७६ सोमबार १६:२२:३३ | गोपाल गुरागाईं
unn.prixa.net

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले यो पालि सरकारलाई ‘मेरो सरकार’ भन्नु भो । यो सरकारलाई राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा धेरैका कान बिझाए । पहिले राजाले मात्र सरकारलाई मेरो सरकार भन्थे । पञ्चायतकालमा राजा सर्वेसर्वा थिए । सरकार पनि राजाकै मात्र थियो ।

राजा संवैधानिक हुँदा पनि सरकार त श्री ५ कै थियो । श्री ५ ले आफ्नो सरकारलाई ‘मेरो सरकार’ भन्दा त्यो पनि जायजै मानियो । त्यसपछि संसदले चुनेका राष्ट्रपतिले सरकारलाई ‘मेरो सरकार’ भन्नै परेन, किनभने संक्रमण कालमा त्यसो गर्न ठूलै आँट र जोखिम चाहिन्थ्यो । त्यो जोखिम लिन न त्यतिबेलाका सरकार तयार थिए, न राष्ट्रपति ।

नेकपा संसदीय दलको नेता र अध्यक्षका नाताले प्रधानमन्त्रीले आँखा सामुन्ने भैरहेको लुटलाई यो के गरेको सम्म भनेको भए उहाँको सुशासन र भ्रष्टाचारका गफमा केही हदसम्म विश्वास गर्न सकिन्थ्यो । 

पछिल्लो चुनाव सकिएपछि ती सबै अवस्थाबाट नेपाल अघि बढ्यो । त्यसैले, सर्वसम्मतिमा निर्वाचित राष्ट्रपतिले प्रचण्ड बहुमतबाट निर्वाचित सरकारलाई यो पालि मेरो सरकार भन्नु भो । मेरो सरकार शब्दका कारण शुक्रबार दिउँसोदेखि फेसबुक र ट्विटरमा उठेको तुफान अझै थामिएको छैन । हुँदाहुँदा यो तुफान प्रतिपक्षी नेपाली कांग्रेसका लागि बरदान भयो भने सत्तारुढ नेकपाको संसदीय दलकै बैठकमा पनि मेरो सरकारका नाममा सानोतिनो आँधीहुरी पस्यो । 

अहिले अवस्था कस्तो छ भने नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘मेरो सरकार’बारे पानीमाथि अति ओभानो देखिइसकेका छन् । राष्ट्रपतिले बोलेका दुई शब्दको बचाउ गर्दा अर्का अध्यक्ष प्रधानमन्त्री के.पी. शर्मा ओलीको शनिबारको पुरै दिन हाँसो, ठट्टा र व्याख्यामा बितेको छ । त्यसपछिका हरेक भेटघाट र कार्यक्रममा प्रधानमन्त्रीले मेरो सरकारका नाममा कतै नागरिकलाई सम्झाइरहेको र कतै घोचपेच गरिरहेको देखिन्छ, सुनिन्छ ।

मेरो सरकार भन्ने दुई शब्दको बचाउमा प्रधानमन्त्री आफै आक्रामक हुँदा पनि सामाजिक सञ्जालमा आएको तुफान थामिएको छैन । संसदमा त यस विषयले बल्ल मात्र प्रवेश पाएको छ । त्यहाँ पनि अन्ततः यी दुई शब्दको बचाउमा प्रधानमन्त्रीले देशलाई नचाहेको मनोरञ्जन दिन कुनै कमी राख्नुहुने छैन भन्ने कुरा अनुमान गर्न सकिन्छ । 

मेरो सरकार भन्ने शब्दलाई लिएर यति ठूलो तरङ्ग उठनुपर्ने तथ्यगत, कानूनी, संवैधानिक र राजनीतिक कारण र आधार त केही पनि छैन । एउटा पार्टीबाट निर्वाचित राष्ट्रपतिले अर्को पार्टीको सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि मेरो सरकार भन्ने चलन संसारमा जताततै छ । नेपालको संविधान र कानुनले पनि मेरो सरकार भन्न राष्ट्रपतिलाई रोकेका छैनन् । राष्ट्रपतिले सरकारलाई मेरो सरकार भन्नु स्वाभाविक हो । 

त्यस्तै स्वाभाविक अर्को कुरा पनि छ । त्यो हो नेपालका हरेक नागरिकलाई आफूले चुनेको सरकारलाई मेरो सरकार भन्न मन लाग्छ  । आम नागरिकलाई त यो सरकारलाई पोहोरदेखि नै मेरो सरकार भन्न मन लागेको थियो ।

तर मनमा लागेर के गर्नु अहिलेसम्मका सरकारले नागरिकका लागि मेरो सरकार भन्नलायक कुनै काम गरेका छैनन् । नेकपाको सरकार बन्दा नेपालीका मनमा साँच्चै सुखी, शान्त र समृध्द नेपालको आशा जागेको थियो । यो सरकारले अहिलेसम्म बनेका कुनै पनि सरकारले गर्न सक्नेभन्दा धेरै गर्न सक्ने थियो । 

तर कम्तीमा पनि मन्त्रीले इन्धनमा दोहोरो सुविधा नलिएको भए, यो सरकारलाई मेरो सरकार भन्न सकिन्थ्यो होला । दोहोरो इन्धन सुविधा लिन प्रधानमन्त्रीले रोकेको भए कमसेकम मन्त्री खराब भए पनि प्रधानमन्त्रीको नियत सफा छ भन्न सकिन्थ्यो होला ।

नेकपाबाट निर्वाचित सभामुख र सांसदले घर हुँदाहुँदै घरभाडा नलिएको भए, अथवा श्रीमान र श्रीमती सांसद भएर एउटै घर भाडामा लिएर बस्दा दोहोरो घरभाडा नलिएको भए, कतिपय सांसदले स्वकीय सचिवका नाममा निकासा भएको तलब आफ्नो खातामा नतानेको भए, राष्ट्रिय सभाका अध्यक्षले भान्से र ड्राइभरको तलब आफ्नो निजी खातामा जम्मा नगरेको भए मात्रै पनि कमसेकम सत्तारुढ दलमा इमान बाँकी छ भनेर केही आश गर्न सकिन्थ्यो । अथवा नेकपा संसदीय दलको नेता र अध्यक्षका नाताले प्रधानमन्त्रीले आँखा सामुन्ने भैरहेको लुटलाई यो के गरेको सम्म भनेको भए उहाँको सुशासन र भ्रष्टाचारका गफमा केही हदसम्म विश्वास गर्न सकिन्थ्यो । 

यी काम गर्न कर्मचारीले रोकेका थिएनन् । व्यापारीले दबाब दिएका थिएनन् । कार्यकर्ताले यस्तो गर भनेका थिएनन् । तर गर्न सकिने साना काम पनि नगरी सरकारले देशमा रामराज्य आइसकेको भान पार्न खोजी रह्यो । 

सकिने काम नगर्ने, रुमानी सपनामा रमाउने र नागरिकको आवेग र संवेगलाई भड्काउन रमाउनेहरु सत्तामा हाबी हुँदा जताततै आक्रोशको निर्माण भैरेहेको छ । अनि त्यो आक्रोश संविधानले कुनै शक्ति नदिएको, सरकारले जे भन्यो त्यही मान्नुपर्ने राष्ट्रपतिमाथि खनिन थालेको छ । सरकारले आफ्नो नीति र कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिलाई मेरो सरकार भन्न लाउनु नेपाली नागरिकाको संवेदना र आवेगलाई जिस्क्याउने र नीति तथा कार्यक्रमबाट देशको ध्यान अन्त मोड्ने कोसिस हो भन्ने बुझ्न चाणक्य नीति पढिराख्नु पर्दैन । 

नेपाली राजनीति र समाजलाई नजिकबाट नियाल्ने हरेक मानिसलाई थाहा भएको कुरा हो –नेपाली नागरिक र नेपालका संस्थाहरुले कुनै कुराको विरोध र समर्थनका लागि तथ्यगत कारण र आधार खोज्दैनन् । नेपालका नागरिक र संस्थाहरु (सरकार, संसद, अदालत, संवैधानिक निकायहरु समेत) व्यक्तिका आवेग र संवेगबाट सञ्चालित र निर्देशित हुन्छन् ।

नेपालको राजनीतिलाई त झन् तथ्यगत तर्कले निर्देशित गर्दैगर्दैन, त्यसलाई प्रचण्ड, ओली र गगन थापाजस्ता नेताका संवेग र आवेग भरिएका भाषणले प्रभावित, निर्देशित र नियन्त्रित गर्छ । चाहे प्रधानमन्त्रीको सचिवालय होस् अथवा निर्वाचन आयोग, हाम्रो समाज र हाम्रा संस्थाहरु विधि र विधानबाट कम, आवेग - संवेगबाट बढी निर्देशित र सञ्चालित छन् । शक्तिशाली प्रधानमन्त्रीको पदमा के.पी. शर्मा ओली पदासिन भएपछि त्यस आवेग र संवेगमा काव्यका नौरस पनि घुलमिल भएका छन् ।

संवेगबाट नागरिक निर्देशित हुनु त्यति अस्वाभाविक होइन, तर देशको सत्ता सञ्चालनको आधार नै आवेग र संवेग हुँदै गएपछि त्यसको प्रभाव सञ्चार माध्यम, नागरिक समाज, दलका नेता, कार्यकर्ता र बुध्दिजीविमा पर्नु स्वाभाविकहो । मेरो सरकार शब्दका नाममा उठेको सार्वजनिक कृया र प्रतिकृया यही संवेगको उदाहरण हो । रामकुमारी झाँक्रीको विरोध होस् वा प्रचण्डको तटस्थता अनि गगन थापाको व्यङ्ग्य होस् वा ओलीको व्याख्या सबैका शब्दमा तर्कको अभाव छ ।

सबैजनाका विचार, शब्द र भावना आवेग र संवेगबाटै निर्देशित छन् । सत्ता, प्रतिपक्ष र मिडिया नै आवेग र संवेगबाट निर्देशित भएका बेला तथ्य र तर्कको न आवश्यकता रहन्छ न त त्यसको औचित्य । नेपालमा तथ्य र तर्क दुवैको आवश्यकता सकिँदै गएको छ ।    

अन्तिम अपडेट: चैत ६, २०८०

गोपाल गुरागाईं

गोपाल गुरागाईं  चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया