भोजपुरमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार

 बैशाख २३, २०७६ सोमबार १८:३१:२१ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – शिशुलाई जन्म दिएर लामो समयसम्म रक्तश्राव नरोकिएपछि एक महिलालाई हेलिकप्टरबाट उद्दार गरी विराटनगर लगिएको छ । 

रक्तश्रावले छट्पटिरहेकी रामप्रसाद राई गाउँपालिका वडा नं. ३ भुल्के घर भई हाल भोजपुर नगरपालिकाको भोटेपसल बस्दै आएकी ३० वर्षीया कल्पना राईको ज्यानको जोखिम बढेपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा रिफर गरेको हो । 

नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रमको आमा सुरक्षा कार्यक्रम अन्तर्गत ती सुत्केरी महिलाको ‘एयर लिफ्ट’ बाट उद्दार गरिएको हो । कल्पनालाई नेपाली सेनाको हेलिकप्टरबाट विराटनगरस्थित नोबेल अस्पतालमा उपचारार्थ लगिएको छ । ‘म धेरै आत्तिए अन्ततः मेरो श्रीमती बाच्ने भइन्, सरकार मेरा लागि भगवान नै बनेको छ’, श्रीमान किशोर राईले बताउनुभयो ।

कल्पनाको आज बिहान साढे ३ बजे घरमै डेलिभरी भएको थियो ।  सालनाल झरेपछि अचेत अवस्थामा रहेको र उल्टी हुन थालेपछि उहाँलाई जिल्ला अस्पताल भोजपुरमा लगिएको थियो । ‘गर्भाअवस्थामा उहाँले नियमित स्वास्थ्य जाँच नगराएकाले यो समस्या देखिएको हो’, उपचारमा संलग्न डाक्टर पवित्रा श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘अहिले पनि अस्पतालमा उपचार गर्न मान्नुभएन, हामीले जबरजस्ती नै अर्धचेत बनाएर उपचार गर्‍यौँ । तर रक्तश्राव रोकिएन । झन जोखिम बढेर गयो ।’ 

शिशुको स्वास्थ्य अवस्था भने राम्रो छ । कल्पनाको यो शिशुको जन्मसहित ४ सन्तान भए । यसअघि तेस्रो सन्तानको पनि जन्मिनेबित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया