फुटबल क्लबहरुलाई काठमाण्डाै महानगरपालिकाकाे आर्थिक सहयोग

 बैशाख २३, २०७६ सोमबार १९:१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले ‘बी’ र ‘सी’ डिभिजन क्लबलाई नगदसहित सम्मान गरेको छ । ए डिभिजन क्लबलाई भने यसअघि नै नगद उपलब्ध गराइसकेकाले अहिले सम्मान मात्रै गरिएकाे छ ।

राष्ट्रियसभा गृहमा सोमबार विशेष समारोहकाबीच क्लबहरुलाई सम्मान तथा नगद अनुदान उपलब्ध गराइएको हो ।

यसअघि महानगरपालिकाले शहीद स्मारक ए डिभिजन लिग सुरु हुनुपूर्व लिग खेल्ने काठमाण्डौ जिल्लाका विभिन्न ६ वटा टिमलाई ९ लाख ३० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । त्यतिबेला ‘ए’ डिभिजन क्लबलाई ५ लाख नगद र ४ लाख ३० हजार बराबरको खेल सामग्री हस्तान्तरण गरिएको थियो ।

ए डिभिजन लिगमा सहभागी भएका मनाङ मर्स्याङ्दी, संकटा क्लब, हिमालयन शेर्पा क्लब, सरस्वती क्लब, मछिन्द्र क्लब, काठमाण्डौ खेल मण्डल (एनआरटी)लाई कार्यक्रमकाबीच आज सम्मान पत्र प्रदान गरिएको थियो । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले क्लबलाई सम्मान पत्र प्रदान गर्नुभएकाे हाे ।  

यसैगरी मेयर शाक्यले बी डिभिजन लिग क्लबहरु ब्वाइज युनियन, अन्नपूर्ण, टुसाल, बाँसबारी, श्रीकुमारीलाई तीन तीन लाख प्रदान गर्नुभयाे । सी डिभिजन क्लबहरु सानो गौचरण, नयाँ बजार युवा क्लब, प्लानिङ ब्वाइज, स्वयम्भु, समाजिक युवा, महाबिर र मनोहरा युवा क्लबलाई दुई दुई लाख रुपैयाँ प्रदान गरिएको छ ।

कार्यक्रममा मेयर शाक्यले खेलकुदले नागरिकलाई एक आपसमा जोड्ने भएकाले महानगरपालिकाले फुटबल खेललाई थोरै भए पनि सहयोग गरेको बताउनुभयाे । उहाँले आगामी दिनमा पनि सहयोग निरन्तर हुने भन्दै अहिलेको भन्दा उत्कृष्ट नतिजा निकाल्न शुभकामना पनि दिनुभयाे ।

उहाँले काठमाण्डौ महानगरपालिकाले सहयोग गरेका ए डिभिजन क्लबहरुमध्ये मनाङ र संकटाले लिगको शीर्ष स्थानमा रहँदै उपाधि जितेकोमा बधाई पनि दिनुभयाे ।

कार्यक्रममा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महानगरपालिकाले युवा तथा खेलकुदको क्षेत्रमा विशेष काम गरिरहेको भन्दै आगामी दिनमा महिला खेलाडीहरुलाई पनि विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयाे ।

यसैगरी एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लबहरुको आर्थिक अवस्था सुदृढ नभइ व्यवसायिक फुटबलको परिकल्पना परको विषय भएकाले महानगरपालिकाको सहयोगले केही हदसम्म राहत पुग्ने उल्लेख गनुभयाे ।

यसैगरी महानगरपालिकाका कार्यकारी अधिकृत केदार न्यौपानेले खेलकुदको विकासका लागि महानगरले आगामी दिनमा थप सहयोग गर्ने बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया