पेशेवर चोरका अनौठा शैली !

 बैशाख २४, २०७६ मंगलबार १४:१५:९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनमा चोरीको घटना बढ्दै गएपछि प्रहरीले रात्री गस्ती बढाएको छ । सादा पोसाकमा गस्ती गर्ने प्रहरीको संख्या बढाएर संवेदनशील क्षेत्रमा रातको समयमा प्रहरी गस्ती बढाएको हो । भरतपुर–नारायणगढ क्षेत्रमा दैनिकजसो हुने चोरीका घटनाले नागरिक पीडित छन् ।

प्रहरीले पाँच दिनको अवधिमा ४३ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउसमेत गरेको छ । अनुसन्धानपछि १९ जना चोरीमा संलग्न भएको प्रमाणित भएपछि कानुनी कारबाहीका लागि अगाडि बढाइएको प्रहरी बताएको छ । चोरीका घटना बढेपछि प्रहरीले नारायणगढ र भरतपुरबाट एकैदिनमा ३३ जनासम्मलाई  पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु पछिल्लो चोरीका घटनामा संलग्न भए/नभएकोबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताउनभयो । रातिको समयमा गस्ती बढाउँदा दिउँसोको समयमा चोरीको घटना बढेकोले प्रहरीको गस्ती दिउँसोमा पनि बढाएको उहाँले बताउनुभयो ।  

कतिपय घटनामा अनुसन्धान गर्दा पीडितहरुको पनि कमजोरी देखिएको प्रहरीको भनाइ छ । घरका झ्यालढोका राम्ररी बन्द नगर्नु, बन्द गरेर पनि चाबी त्यहीँ राखेर बाहिर निस्कनु, घर छाडेको छिमेकीलाई जानकारी नदिनु, घरमा अन्य सुरक्षा संयन्त्र नहुनुजस्ता कारणले चोरीका घटनाहरु बढ्ने गरेको प्रहरीको भनाइ छ । नागरिक आफै सचेत हुनुपर्ने प्रहरीको भनाइ छ ।

बास माग्दै लुट्दै 

यो वा त्यो बहानामा बास माग्ने र जुन घरमा बास बस्यो त्यही घरमा राति लुटेर हिँड्ने क्रम पनि बढेको छ । दिउँसोको समयमा भरतपुरको एउटा घरमा ३ जना शरण माग्दै पुगे । प्रहरीले खोजी गरेको छ हामीलाई जोगाइदिनुस भने । घरबेटीले एउटा कोठामा ३ जनालाई आश्रय दिए । चुकुल लगाएर भित्रै बसे उनीहरु । साँझ पर्दै गयो ।

उनीहरुले ‘यहाँबाट निस्किएपछि हामी प्रहरीको फन्दामा पर्छौं जोगाइदिनुस्’ भन्दै बिन्ती गरे । घरबेटीले सहमति जनाए । खाना पनि खुवाए । तर,रातको ११ बजेपछि बाहिरबाट २ जनालाई बोलाई घरभित्र प्रवेश गराई चक्कु छुरी देखाएर तिनै दयाभाव राखेका घरवेटीका सबै गरगहना र पैसा लुटेर राति नै भागे । 

योजनाकार चोर 

भरतपुरमै चोरीको क्रम बढेपछि प्रहरीले शंकास्पद धेरै व्यक्तिलाई समाउन थाल्यो । अनुसन्धानका क्रममा प्रहरीकै सहयोगीका रुपमा रहेका एक व्यक्ति नै चोरको नाइके भएको खुल्न आएको छ । केही दिनअघि भरतपुर–३, बाह्रघरेमा घरमा चोरी भयो । गाउँलेहरुकै शंकाका आधारमा विगत ४ महिनादेखि त्यसै क्षेत्रमा भाडामा बस्दै आएका सञ्जु रानामाथि खानतलासी भयो ।

खोजीको क्रममा उनको कोठाबाट चोरिएको सुन बरामद भयो । उनी एक वर्ष अघिसम्म प्रहरीकै सहयोगीका रुपमा कार्यरत रहेछन् । रानाले चोरी कार्यमा अरु सडक बालबालिकालाई परिचालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अटो चलाउँदै, खसी चोर्दै 

अटो रिक्सा चलाएर डुल्ने। यात्रु कुरेझैँ केही समय रोकिएर बस्ने र खसी बोका देख्नेबित्तिक्कै अटोमा च्यापेर भाग्ने चोर पनि छन् । चितवनमा पछिल्लो समय खसीबोका चोरको संख्या पनि बढेको छ । किसानका गोठ, खसी वजार र मासु पसलका लागि खरिद गरी ल्याइएका खसी बोका चोरेर हिँड्ने गिरोह पनि चितवनमा रहेको प्रहरी बताउँछ । खसी बोका चोर्नका लागि अटो रिक्सा धेरै प्रयोग भएका छन् । 

घुम्ती फोर्दै, चाउचाउमै रमाउँदै

केही चोरहरु घुम्ती फोर्ने मात्र हुन्छन । सामान्य चाउचाउ बिस्कुट चटपट र चिसो राखेर बिक्रीका लागि राखिएको घुम्ती फोर्ने चोर पनि सक्रिय भएको जिल्ला प्रहरी कार्यालय चितवनमा चोरी शाखा हेर्ने प्रहरी सहायक निरीक्षक ठाकुर पनेरुले बताउनुभयो । घुम्ती फोर्ने र खानेकुरा लिएर जंगलमा पुगी खाएर रमाइलो गर्ने क्रममा धेरै चोर समातिएको उहाँले बताउनुभयो । 

बिरामी कुरुवा बन्दै, सिरिन्ज चोर्दै 

अस्पतालमा बिरामी कुरुवाजस्तो बन्ने अनी फार्मेसीमा ढुकेर सिरिन्ज चोर्दै भाग्दै गर्ने चोरहरु पनि बढेकाछन् । बिरामी कुरुवाजस्तो भन्दै झुक्किएर मेडिकलमा छिरेको जस्तो गर्ने शैली यिनीहरुको हुन्छ ।

लागु औषध प्रयोग गर्नेहरुले अस्पताल, मेडिकल र औषधि पसलमा प्रवेश गरी सिरिन्ज मात्र चोरी गर्ने गरेको पाइएको पनेरुले बताउनुभयो । उनीहरुले अरु केही नचोर्ने तर सिरिन्ज मात्र चोरी गर्ने गरेको पाएको उहाँले बताउनुभयो । लागु औषधको लतमा परेकाहरु यस्ता चोरीमा सक्रिय हुने गरेका छन् । 

दिउँसो पहिचान, रातिमा चोरी 

सुन र पैसा चोरीमा लाग्नेहरुको चोरी गर्ने शैली अरुका भन्दा फरक रहेको पाइएको छ । दिउँसोको समयमा डुल्दै हिँड्ने कुन घरमा ताल्चा लगाएको छ । त्यो पहिचान गर्ने र रातको समयमा त्यही घरमा पुग्दा ताल्चा लगाइराखेको पाएमा ताला फोडेर चोरी गर्ने गरेको पाइएको पनेरुले बताउनुभयो । कुन टोलमा कुन घरमा चोरी गर्न सकिन्छ । दिउँसोमा पहिचान गर्ने र रातिको समयमा गएर त्यही घरको ढोका फोर्ने र चोर्ने चोरहरुको बिगबिगी पनि बढेको छ । 

बोरा बोक्ने, हार्डवेयर छिर्ने 

पुराना बोरा बोकेर हिँड्ने कसैले देखे फोहोर टिप्ने नदेखे सामानै चोरी हाल्ने चोरको पन बिगबिगी छ । कवाडी मात्र चोरी गर्ने चोरहरु पनि छन् । उनीहरु हार्डवेयर पसल,पानीका धारा,तारबार लगाएको स्थान, होटल र पुराना सामग्री राखिएका क्षेत्रमा बढी डुल्ने घुम्ने गरेको पाइएको प्रहरीले बताएको छ । हेर्दा सामान्य देखिने उनीहरु अटेरी स्वभावका देखिने गर्छन । बेवारिसे बालबालिकाहरु यस्तो चोरीमा सक्रिय देखिएका छन् । 

फोन गर्न मोबाइल माग्ने, टाप कस्ने 

बाटोमा यात्रा गरिरहँदा दयालु बनेर एकै छिन फोन गर्न मोबाइल माग्ने । मोबाइलमा कुरा गर्दागर्दै मोबाइलै लिएर भाग्ने चोरहरु धेरै भेटिएका छन् । सबैभन्दा धेरै गुनासो र चोरीमा संलग्नको तथ्याङ्क हेर्दा मोबाइल चोरीको संख्या धेरै देखिन्छ । मोबाइल पसलदेखि सामान्य अवस्थामा प्रयोगकर्ताहरुको साथबाटै मोबाइल चोर्छन् । 

चोरी गर्न ‘टूलबक्स’

प्रहरीले चोरी गर्ने गिरोह समायो । अनुसन्धान गर्दै जाँदा उनीहरुले चोर्न प्रयोग हुने ‘टूलबक्स’ नै तयार गरेका रहेछन् । खोज्दै जाँदा जंगलमा त्यस्ता ‘टूलबक्स’ राखिने पत्ता लाग्यो ।

चितवन प्रहरीले खोजेको चोरका ‘टूलबक्स’मा हथौडा, कैची, फलाम काट्ने रेती, चक्कु, खुकुरी, बेहोस् बनाउने औषधिलगायतका सामग्री राखेको बक्स नै फेला पार्यो । भरतपुरमा चोरी गर्ने चोरका यस्ता ‘टूलबक्स’ भरतपुर आसपासमा रहेका जंगलमा राखिने गरेको प्रहरीले पत्ता लगाएको छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया