विश्वकप लिग टू अन्तर्गतका केही खेलहरु नेपालमा हुने

 बैशाख २४, २०७६ मंगलबार १७:३२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एक दिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतका केही खेलहरु नेपालमा हुने भएको छ । 

क्यान निलम्बनमा परेका कारण नेपालले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न नपाएको लामो समय भइसकेको छ । यसअघि नेपालले सन् २०१७ मा केन्याविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेको थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगै नेपालले नामिबियालाई पनि घरेलु मैदानमा हजारौं समर्थकका माझ सत्कार गरेको थियो । 

नेपाली दर्शकले झण्डै तीन वर्षपछि पहिलो अन्तर्राष्ट्रिय खेल हेर्ने सौभाग्य पाउँदैछन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आज आईसीसी एक दिवशीय (पुरुष) विश्वकप लिग–२ को पहिलो आठ सिरिजको घोषणा गरेको छ । सन् २०२३ मा भारतमा हुने विश्वकपको छनोटका रुपमा रहेको लिग टू आगामी अगष्टदेखि सुरु हुनेछ । 

अहिले आईसीसीले सातवटा आयोजकको निश्चित गरेको छ । लिग टू अन्तर्गत फेब्रुअरी ५ देखि १२ सम्म त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । आईसीसीले तीन–तीन टिम राखेर कुल २१ वटा ट्राई सिरिजको घोषणा गरेको हो ।

यो प्रतियोगिताले एक दिवशीय मान्यता पाएका नेपाल र यूएईसँगै नयाँ देशहरु ओमान, अमेरिका, पपुवा न्यू गिनी, नामिबिया र स्कटल्याण्डलाई प्रतिस्पर्धात्मक क्रिकेटमा जान सहयोग पुग्ने अपेक्षा आईसीसीको छ । 

सन् २०२२ सम्म एक दिवसीय मान्यता पाएका यी टिमहरुले ३६ वटा एक दिवसीय म्याच खेल्नेछन् । 

कुल ३६ वटा खेल सकिएपछि शीर्ष स्थानमा रहने तीन टिमले आईसीसी विश्वकप छनोटमा सहभागिता जनाउनेछन् भने बाँकी चार टिम आईसीसी विश्वकप छनोटको प्लेअफमा प्रतिष्पर्धा गर्नेछन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया