इण्डियन प्रिमियर लिग : दिल्ली र हैदराबादकाे प्रतिस्पर्धा, सन्दीप खेल्ने सम्भावना कति ?

 बैशाख २५, २०७६ बुधबार ९:३९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग आईपीएलको इलिमिनेटर खेल अन्तर्गत सन्दीप लामिछाने सम्मिलित टोली दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादसँग बुधबार खेल्दैछ । 

यस खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएपछि चेन्नईले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नु परेको हो । 

लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि बिसाखापटनमस्थित डाक्टर राजाशेखारा क्रिकेट रंगशालामा हुनेछ ।

युवा खेलाडीले भरिएको दिल्ली टिम पहिलोपल्ट आईपीएलको फाइनलका लागि अग्रसर छ । रिक्की पोन्टिङ र सौरभ गांगुलीले दिल्लीका युवा खेलाडीलाई एउटा लय दिएका छन् । प्लेअफमा मुम्बई र चेन्नईसँगै समान १८ अंक भएर पनि दिल्ली रनरेटमा पछि रहँदै इलिमिनेटर खेल्नु परेको हो ।

डेभिड वार्नर प्रेरित हैदराबाद ब्याटिङ लाइन उत्कृष्ट छ । बलिङतर्फ राशिद खानले नेतृत्व लिनेछन् । दिल्लीका कप्तान श्रेयस अय्यर, ऋषभ पन्त लगायतका युवा खेलाडीमा उसको प्रदर्शन निर्भर हुनेछ ।

दक्षिण अफ्रिकाका कागिसो रबाडा विश्वकप तयारीका लागि स्वदेश फर्किएपछि दिल्लीले त्यसको मूल्य चुकाउनुपर्ने हुनसक्छ ।

नेपाली युवा स्पिनर सन्दीप लामिछाने पछिल्लो ३ खेलदेखि सुरुआती सेटमा स्थान बनाउन असफल छन् । विकेटको अवस्था अनुसार बुधबार उनी खेल्ने नखेल्ने निर्णय हुनेछ । सन्दीपले जारी आईपीएलमा ६ खेलमा ७ विकेट लिएका छन् । आईपीएलमा समग्रमा उनले १२ विकेट लिइसकेका छन् ।

लिग चरणमा भएका दुई खेलमा दिल्ली र हैदराबादले एक–एक खेल जितेका छन् । पहिलो खेल हैदराबादले दिल्लीको घरेलु मैदानमा ५ विकेटले जितेको थियो भने हैदराबादमा दिल्ली ३९ रनले विजयी भएको थियो ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया