घरमै धारा र पानी, फेरियो जिन्दगानी

 बैशाख २५, २०७६ बुधबार १०:४२:५३ | अर्जुन श्रेष्ठ
unn.prixa.net

धादिङ – भिरालो जमिन । बाक्लो बस्ती । सानो काठमाण्डौ उपनामले चिनिने तावल गाउँ । भूकम्पले ढलेका घर तथा अन्य संरचना पुन निर्माणपछिको तावल गाउँको मुहार फेरिएको छ । वर्षाैँदेखि खोनपानी समस्या झेल्दै आएका तावल गाउँका बासिन्दा घर घरमै धारा, धारामा कलकल पानी आएपछि खुशी बनेका हुन् । 

गंगाजमुना गाउँपालिका–२  तावल गाउँकी सुनमाया विक घर आँगनमा पानीको धारा झरेपछि दंग पर्नुभएको छ । वर्षाैँदेखि एक डेढ घण्टा लगाएर खोलाको पानी ल्याएर खानुपर्ने बाध्यता थियो । उहाँ भन्नुहुन्छ ‘राम्रोसँग आँखा देख्दिन । घरमा काम गर्न सक्ने पनि कोही छैन । शरीर कमजोर भयो भन्दैमा भोकै बस्न पनि सकिँदैन । डाँडाकाँडा धाएर पानी ल्याउनु पथ्र्याे । अहिले त चुलैमा धारा जोडेको छु । पानी लिन जाने समय अन्यत्र काममा प्रयोग गर्दा दैनिकी सहज भएको छ’ विकले हाँस्दै खुशी व्यक्त गर्नुभयो । 

करिब ३ सय ३० घर परिवार रहेको तावल गाउँमा ४ वटा मात्र धारा थियो । तावल गाउँका बासीन्दा सबैको पहुँचमा खानेपानी थिएन । धारामा पानी लिन जानेहरुले पनि लामो समय कुरेपछि एक गाग्री पानी थाप्न पाउँथे । तर अहिले गाउँको सबै घरमा धारा बनिसकेको छ । कति खेर खाना बनाउने ? पानीकै कारण गाँस दाउरा मेलापातमा उस्तै समस्या थियो । तावल गाउँकै नरसोङ तामाङ भन्नुहुन्छ ‘घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिइनँ । धारामा कञ्चन पानी आए जस्तै मन खुशी भएको छ । बिहान उठेदेखि रातमा सुत्ने समयसम्म पानीकै आवश्यक पर्ने । घरमै धारा र पानी आएपछि घाँस दाउरा, मेलापात, कृषि कर्म, दैनिक जीवनयापनमा आकाश पाताल फरक पर्ने रहेछ । सुखको सास फेर्न पाएका छौँ ।’

घरमा धारा नहुँदा पानी लिन जाँदा गृहकार्य गर्न नभ्याएको र विद्यालय जान नभ्याउदा शिक्षकको गाली सम्झँदै कक्षा ६ मा अध्ययनरत छात्रा नरिता तामाङ भन्नुहुन्छ, ‘घरमा धारा जोडेदेखि स्कुल छोडेको छैन ।’

उत्तरी धादिङको तावल गाउँ सदरमुकामदेखि मुस्किलैले एक दिनमा पुग्न सकिन्छ । पछिल्लो समय कच्ची सडक सञ्जाल पुगेको कारण हिउँदको समयमा केही सहज भएको छ । तर बाटो उस्तै जोखिम छ, वर्षातको समयमा सम्भव हुँदैन । तैपनि, विकासको क्षेत्रमा तावल गाउँ डोहोरिदैछ भन्न सकिन्छ । भूकम्पले ढलेका घर, स्वास्थ्य चौकी, विद्यालय जस्ता अधिकांश भौतिक संरचनाको पुनर्निर्माण भैसकेको छ । वर्षाैँदेखि खानेपानीको समस्या झैल्दै आएका उनीहरुले घर आँगन, चुलोमै अहिले खानेपानी पाएका छन् । 

युनाइटेड मिसन टु नेपाल (यू एम एन) को आर्थिक सहयोगमा सामुदायिक मुक्ति समाज (हिम्स नेपाल) ले विपद व्यवस्थापन कार्यक्रम अन्तर्गत तावल खानेपानी आयोजना सम्पन्न गरी ३ सय ३० घर धुरीलाई खानेपानी व्यवस्था गरेको हो । हिम्स नेपालका अध्यक्ष जीवन तामाङ भन्नुहुन्छ ‘हामी धादिङको विकट क्षेत्रहरुमा काम गरिरहेका छौँ । तावल गाउँमा पनि खानेपानीको अभाव छ भन्ने थाहा पाएपछि काम सुरु गरेका हौं । सरकारको एक घर एक धारा अवधारणा अनुरुप नै हामीले तावल खानेपानी आयोजना एक वर्षमा सम्पन्न गर्‍याैँ।’

बाक्लो बस्ती भएका कारण फोहोर पानी कटाउने ठाउँ नभएर नाला बनाएर व्यवस्थित गरेको तामाङले बताउनुभयो । उहाँले भन्नुभयो ‘७३ लाख ८३ हजार रुपैयाँ लागतमा यो आनेपानी आयोजना सम्पन्न गरेका हौँ जसमा ४ लाख २० हजार समुदायको अनुदान रहेको थियो । 

जिल्लामा हिमालय सामुदायिक मुक्ति समाज (हिम्स नेपाल) र यू एम एनले विद्यालय, स्वास्थ्य चौकी, खानेपानीको क्षेत्रमा भौतिक संरचना निर्माण, जिविकोपार्जन तथा जनचेतना जस्ता सामाजिक काम गर्दै आइरहेको छ । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया