पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आर्मी र पुलिस

 बैशाख २५, २०७६ बुधबार १७:३६:१६ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ –  पाथिभरा राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधिका लागि २ विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्ने भएका छन । 

पुलिसले गण्डकी प्रदेशमाथि र आर्मीले एपीएफमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाए ।

ताप्लेजुङको नारायणी माविको खेल मैदानमा  भएको सेमिफाइनलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

एपीएफविरूद्ध चिरप्रतिद्वन्द्वी आर्मीले २५–२१, २५–२०,२०–२५ र २६–२४ को सेटमा पराजित गर्यो । ७ जना राष्ट्रिय टोलीका खेलाडीसहित उत्रिएको आर्मीले सुरूवातदेखि नै एपीएफलाइ दबाबमा राखेको थियो । अब उसले उपाधिका लागि साविकको विजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

पुलिसले गण्डकी प्रदेशलाई २५–१५, २६–२४ र २५–१७ को सेटमा हराउँदै फाइनलमा स्थान बनायो ।

प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ७६ हजार २ सय ५१ रूपैयाँ हात पार्नेछन ।

त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार पाउने छन् ।

 


 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया