काभ्रेमा काल्पनिक विमान दुर्घटना : यसरी भयाे उद्धार !

 बैशाख २५, २०७६ बुधबार १७:५९:५७ | कपिल कोइराला
unn.prixa.net

काभ्रेपलाञ्चाेक - यो काल्पनिक समाचार हो । विमान दुर्घटना भयो भने कसरी उद्धार गर्ने भनेर सिकाउन नेपालमै पहिलोपटक डेमोस्वरुप दुर्घटना गराइएको हो ।

नेपाल नागरिक उड्यन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थलबाट पहिलो पटक राष्ट्रिय रुपमा 'फूल डेमो' प्रर्दशन गरेको हो ।

दिउँसो मध्यान्न एक बजे संखुवासभाको तुम्लिङटार विमानस्थलबाट काठमाण्डौ आउँदै गरेको विमान दुर्घटना भएको छ । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

 

दिउँसो एक बजे त्रिभुवन विमानस्थल रेस्क्यू टिमबाट सञ्चार विच्छेद भएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जानकारी गराउँदै उद्धार समितिको बैठक बोलाउनुभएको थियो । 

प्रमुख जिल्ला अधिकारीले विमान हराइरहेकोले एम्बुलेन्स, दमकल, तथा अस्पताललाई हाई–अलर्टमा बस्न निर्देशन दिनुभएको थियो । उद्धार समितको बैठक बस्दै गर्दा दिउँसो एक बजेर ३० मिनेट जाँदा स्थानीयले प्रहरीको १०० नम्बरमा फोन गर्दै धुलिखेलको देवीस्थान डाँडामुनि विमान खसेको र आगलागी भैरहेको जानकारी गराए । 

तत्कालै प्रमुख जिल्ला अधिकारीको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो । उद्धारमा खटिएका प्रहरीको अनुसार, दुर्घटना पछि घाइतेहरु चिच्याइरहेका थिए ।

घाइतेमध्ये एक जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौ पठाइएको छ भने अन्यको धुलिखेलमा उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो ।

माथि भएको क्रियाकलाप साँचो भए पनि समाचार भने साँचो होइन । नेपालमै पहिलोपटक विमान दुर्घटना भयो भने कसरी उद्धार गर्ने भनेर सिकाउन डेमो स्वरुप दुर्घटना गराइएको हो । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्यन कार्यलयको उद्धार समन्वय समितिको सचिवालयको आयोजनामा वायु यान खोज तथा उद्धारसम्बन्धी पूर्णकालीन अभ्यासको सिलसिलामा कार्यक्रम आयोजना भएको कार्यक्रमका कोअर्डिनेटर तथा म्यानेजर राजन ढुंगेलले जानकारी दिनुभयो । 

 

उहाँको अनुसार, यस्तो खालको रेस्क्यू एक्सरसाइज नेपालमा पहिलोपटक भएको हो । हरेक दुई वर्षमा राष्ट्रिय स्तरमा हुने दुर्घटनाको डेमो रेस्क्यू एक्सरसाइजले विमान दुर्घटना हुँदा कसरी उद्धार गर्ने भन्ने कुरालाई अझ प्रष्ट पारेको प्रमुख जिल्ला अधिकारी कृष्णबहदुर राउतले जानकारी दिनुभयो । 

‘खासमा डेमो भनेकोले गर्नुपर्ने काम त संयोजनको हिसाबले मैले गरे, यदि साँच्चिकै हो भने त कति तनाव हुन्थ्यो होला’. उहाँले भन्नुभयो,‘डेमोमा जस्तो तनाव लिनु नपरोस् ।’

 

अन्तिम अपडेट: चैत १४, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया