चन्द्रजङ्ग बाजेको जाँगर : डोको–नाम्लो बुन्दा भुल्छ मन, आउँछ धन !

 बैशाख २६, २०७६ बिहिबार १३:१९:४८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – शिरमा कालो टोपी । फुलेका जुँगा । साना आँखा । पातलो ज्यान । चाउरिएका गाला । घट्दो उमेर । तर जोस–जाँगर बढ्दो । आफ्नै सुरमा घरको पिँढीमा बसी, निगालोको चोयाले डोको बुन्न व्यस्त हुनुहुन्छ, लमजुङ क्वहोलासोँथार गाउँपालिका–३, घलेगाउँका ७८ वर्षका चन्द्रजङ्ग गुरुङ ।

चन्द्रजङ्गले निगालोको चोयाबाट डोको, नाम्लो, थुन्से, स्याखु बनाउन थालेको वर्षाैं भइसकेको छ । उहाँले २५ वर्षकै उमेरमा आफ्नो बुवा र दाजुहरुबाट चोयाबाट विभिन्न घरेलु हस्तकलाका सामग्री बनाउन सिक्नुभएको हो । उहाँले चोयाबाट विभिन्न घरेलु हस्तकलाका सामग्री बनाइ आम्दानी पनि गर्दै आउनुभएको छ ।

फुर्सदको समयमा डोको-नाम्लो

यो उमेरमा पनि उहाँ खेतीपाती गर्नुहुन्छ । फुर्सदको समयमा चोयाबाट विभिन्न सामग्री तयार गर्नुहुन्छ । बेच्नुहुन्छ । र कमाइ पनि गर्नुहुन्छ ।  ‘खेतीपाती पनि गर्छु । फुर्सदको समयमा यसरी नै डोको, नाम्लो, थुन्से, स्याखु बनाउँछु’, उहाँले भन्नुभयो, ‘काम गर्दा मन पनि भुल्छ, धेरथोर कमाइ पनि हुन्छ ।’

निगालोको चोयाबाट डोको बुन्नमा व्यस्त लमजुङ घलेगाउँका ७८ वर्षका चन्द्रजङ्ग गुरुङ

घलेगाउँ पर्यटकीय गाउँ हो । गाउँमा दैनिक सयौँ देशी–विदेशी पर्यटक आउँछन् । त्यसैले चन्द्रजङ्गले बनाएका सामग्री पर्यटकसँगै स्थानीयले किन्छन् । ‘मैले बनाएका डोको, नाम्लो, थुन्से स्थानीयले किन्छन् । गाउँमा आउने पर्यटकले पनि घर फर्कँदा उपहारस्वरुप मैले बनाएका यी सामान किनेर लैजान्छन्’, उहाँले खुशी हुँदै भन्नुभयो । उहाँले अहिले प्रति डोको, थुन्से ३ सय ५० रुपैयाँ र नाम्लो १ सय ५० रुपैयाँमा बेच्दै आउनुभएको छ । 

‘दिनहुँ यसैमा खटिए त कमाइ राम्रै हुन्छ । फुर्सदमा काम गर्दा पनि मासिक ६–७ हजार कमाइ हुन्छ’, उहाँले भन्नुभयो । 

प्रयोग घट्दो 

पहिलेजस्तो अहिले बाँस, चोयाबाट बन्ने घरेलु हस्तकलाका सामग्रीको प्रयोग घट्दो रहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार विगतमा खेतीपाती गर्नेको संख्या धेरै हुन्थ्यो । 

मल बोक्न, दाउरा, पानी बोक्नका लागि डोको, थुन्सेको प्रयोग ज्यादा हुने गर्दथ्यो । अन्न राख्नका लागि भकारीको प्रयोग हुन्थ्यो । घामपानीमा ओढ्नका लागि स्याखुको प्रयोग गरिन्थ्यो । 

उहाँले अघि थप्नुभयो, ‘अहिले त गाउँघरमै खेतीपाती गर्नेको संख्या कम हुँदै गएको छ । त्यसैले पनि डोको, नाम्लो, थुन्से, भकारीजस्ता घरेलु हस्तकलाका सामग्रीको प्रयोग घट्दो छ ।’   

मौलिक संस्कृति हराउने चिन्ता 

बाँस, निगालोको चोयाबाट बनाइने सामानहरु चोखो–निधो कार्जेमा प्रयोग गरिने चलन छ, नेपाली समाजमा । डोको, नाम्लो, थुन्से, नाङ्लो, भकारी, स्याखुको प्रयोग नेपाली जनजीवनसँग जोडिएको मौलिक संस्कृति पनि हो । तर पछिल्लो समय यस्ता सामग्री बनाउने र प्रयोग गर्नेको संख्या घट्दो छ । 

‘अहिलेका पुस्ताले यस्तो काम सिक्दैनन् । केही पुराना पुस्ताले मात्रै यस्ता सामान बनाउँछन्’, चन्द्रजङ्गले भन्नुभयो, ‘चोयाबाट सामान बनाउने पनि खासै छैनन् । यस्ता सामानको प्रयोग पनि घट्दो छ ।’

नयाँ पुस्ताले पनि चासो दिएर लागेमा चोयाबाटै विभिन्न सामान बनाइ कमाइ गर्न सक्छन् ।  ‘सीप सिकेर बाँस, निगालोको चोयाबाट विभिन्न सामान बनाउन सके, यसैबाट राम्रो पैसा कमाउन सकिन्छ,’ उहाँले चिन्ता व्यक्त गर्नुभयो, ‘तर उनीहरुले यसप्रति खासै ध्यान दिदैँनन् । नयाँ पुस्ताले चासो नदिए यो संस्कृति हराउन पनि सक्छ ।’

‘अहिलेका पुस्ताले यस्तो काम सिक्दैनन् । केही पुराना पुस्ताले मात्रै यस्ता सामान बनाउँछन् । चोयाबाट सामान बनाउने पनि खासै छैनन् । यस्ता सामानको प्रयोग पनि घट्दो छ ।’

 

 

अन्तिम अपडेट: चैत ३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया