बाढीको जानकारी लिन फोन गर्नुहोस्

 असार १८, २०७५ सोमबार ११:४६:३६ | उज्यालो सहकर्मी

काठमाडाै‌ - देशका धेरै ठाउँमा रातीदेखि लगातार पानी परेपछि खोला नदीमा बाढी आएको छ । कर्णाली, बबई, पश्चिम राप्ती र नारायणी नदीका बिभिन्न ठाउँमा ठूलो बाढी आएको छ ।

अरु नदीमा पनि बाढी आउन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । ११५५ नम्बरमा गरेर बाढी तथा पहिरोको जोखिमबारे थाहा पाउन सकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका महानिर्देशक डाक्टर ऋषिराम शर्माका अनुसार ११५५ मा फोन गरेर बाढी पहिरोको सूचना थाहा पाउन सकिन्छ । तर यो नम्बरमा फोन नलाग्ने र व्यस्त हुने समस्या छ ।

विभागले बाढी सम्भावित क्षेत्रका बासिन्दालाई एसएमएस गरेर पनि सतर्क रहन अनुरोध गर्ने गरेको छ । बिहान बबई, कर्णाली र पश्चिम राप्तीका बाढी सम्भावित क्षेत्रमा एसएमएसबाट सूचना पठाइएको र अरु ठाउँमा पनि यसैगरी पठाइने शर्माले जानकारी दिनुभयो ।

मनसुन देशभरी नै सक्रिय भएकाले दुई तीन दिन यसैगरी पानी पर्न सक्ने मौसमविदको भनाई छ । अहिले मध्य र पश्चिमी क्षेत्रमा ठूलो पानी परेको छ । दिउँसो सुदूरपश्चिमका धेरै ठाउँमा पनि पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया