भाउजूसँगको अनैतिक सम्बन्ध लुकाउन श्रीमतीलाई पेट्रोल खन्याएर हत्या गरेको खुलासा

 बैशाख २६, २०७६ बिहिबार २०:३१:५६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - धनुषाको सहिदनगर नगरपालिका १ की २० वर्षीया निर्मलाको हत्याकाे आराेपमा पति र जेठानीलाई प्रहरीले पक्राउ गरेको छ । पति २४ वर्षका मुकेश कुमार गोइत र जेठानी २५ की श्यामा देवी यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

गत वैशाख ५ गते विवादको क्रममा पति मुकेशले निर्मलालाई हातखुट्टा बाँधेर जिउमा पेट्रोल खन्याइ आगो लगाएका थिए । शरीरको ७० प्रतिशत भाग जलेर गम्भीर घाइते भएकी निर्मलाको वैशाख १६ गते काठमाण्डौको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको थियो । घटनापछि मुकेश फरार रहेका थिए ।

कमला नगरपालिका ५ बस्ने जयलाल भुसकुलियाकी छोरी निर्मलासँग गएकाे असार १८ गते मुकेशले विवाह गरेका थिए । फरार रहेका पति मुकेश र जेठानी श्यामादेवीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार सार्वजनिक गरेको हाे । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भाउजू श्यामादेवीसँग मुकेशकाे अबैध सम्बन्ध विवाह पूर्वदेखि नै रहेको खुलेको छ ।  

प्रहरीका अनुसार मुकेशको विवाहपश्चात समेत सम्वन्ध कायम रहेकाे श्रीमती निर्मलाले थाहा पाएकाे र त्यसै कारण पटक पटक दुवैबीच विवाद हुँदै आएको थियो । घटनाको दिनसमेत निर्मला र श्यामादेवीबिच झगडा भएको थियो । झगडापछि मुकेशले भाउजु श्यामादेवीकै सल्लाहमा श्रीमती निर्मलालाई कुटपिट गरी हातखुट्टा बाँधेर जिउमा पेट्रोल खन्याइ आगो लगाएको प्रहरीको भनाई छ ।

मुकेशले निर्मलालाई जलाउन भाउजू श्यामादेवीकै पसलबाट पेट्राेल ल्याएको अनुसन्धानबाट खुलेको छ । निर्मलालाई आगो लगाएपछि फरार रहेका मुकेशलाई सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको गड्डा चौकीबाट प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

भाउजू श्यमादेवीलाई मुकेशकाे बयानका आधारमा पक्राउ गरी दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार सार्वजनिक गरेको हाे ।

देवर र भाउजू दुवैमाथि कर्तव्य ज्यान मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अगाडि बढाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जनाकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया