आर्सनल यूईएफए युरोपा लिगको फाइनलमा

 बैशाख २७, २०७६ शुक्रबार ६:३७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

आर्सनल यूईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । स्पेनिस क्लब भ्यालेन्सियालाई समग्रमा सात तीन गोल अन्तरले हराउँदै आर्सनलले फाइनलमा स्थान बनायो ।

पहिलो लेगमा तीन एकको जित निकालेको आर्सनलले दोस्रो लेगमा बिहीबार राति चार दुईको जित निकाल्दै सहज रुपमा फाइनलको यात्रा तय गर्‍यो । दोस्रो लेगमा भ्यालेन्सिया विरुद्ध जित निकाल्न पिएरी अवामेयाङले ह्याट्रिक गरे ।

खेलको ११ औं मिनेटमा गामिरोकोे गोलमा भ्यालेन्सियाले अग्रता बनायो । तर १७ औं मिनेटमा आर्सनलका लागि पिएरीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसपछि ५० औं मिनेटमा लाकाजेटीले आर्सनलका लागि गोल गर्दै खेल दुई एकको अवस्थामा पुर्‍याए । ५८ औं मिनेटमा फेरि गामिरोले भ्यालेन्सियालाई बराबरीमा पुर्‍याए ।

६९ औं र ८८ औं मिनेटमा पिएरीले गोल गर्दै उनले ब्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमलाई चार दुईको जित दिलाए । जसका कारण आर्सनलले फाइनलमा स्थान बनायो । 

अब उसलाई अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन र युरोपा लिगको उपाधि उचाल्न चेल्सीको चुनौती पन्छाउनु पर्नेछ । आर्सनल सातौं पटक युरोपा लिगको फाइनलमा पुगेको हो । यसका साथै आर्सनलले स्पेनिस टिम विरुद्ध पछिल्ला ८ खेलमा पहिलो पटक जित निकालेको हो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया