देशभर गर्मी बढ्यो, नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस

 बैशाख २७, २०७६ शुक्रबार ७:३८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालगञ्जको तापक्रम यो वर्षकै उच्च मापन गरिएको छ । बिहीबार दिउँसो नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको वर्ष नेपालगन्जमा वैशाख २६ गतेको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस थियो । पानी नपर्दा नेपालगञ्जसहित देशभरी कै तापक्रम बढेको हो । यस्तै बिहीबार धनगढीको तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियस, दिपायलको ४० दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको तापक्रम ३१ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

शुक्रबार पश्चिममा पश्चिमी वायु प्रवेश गर्ने भएकाले पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद्ले बताएका छन् । मौसम बदली भएसँगै बढ्दै गएको तापक्रम थोरै घट्ने मौसमविद् वरुण पौडेलको अनुमान छ ।

पश्चिमी वायुको प्रभावले अबको तीन दिन पहाडी क्षेत्रको एकदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पश्चिमी तराई बाहेक पूर्व र मध्य क्षेत्रको तराईमा भने मौसम सफा हुनेछ । शुक्रबार दिउँसो काठमाडौसहित मध्य र पूर्वी पहाडी भेगको एकदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद् पौडेलको अनुमान छ । तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको माैसमविद्काे भनाइ छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया