अमेरिका-चीन व्यापार युद्ध झन् बढ्दो, चीन भन्छ- 'जवाफ दिन्छौं'

 बैशाख २७, २०७६ शुक्रबार २०:१८:४७ | एजेन्सी
unn.prixa.net

अमेरिका र चीनबीच जारी व्यापार युद्धले झन् नयाँ मोड लिएको छ । अमेरिकाले चीनमाथि दोहोरो मुश्किल परिस्थितिको अवस्था सिर्जना गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने दुई सय अर्ब डलरको वस्तुमा १० प्रतिशत शुल्क बढाएर २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन् । त्यस्तै अमेरिकाको संघीय सञ्चार आयोग (एफसीसी) ले चाइना मोबाइलको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ । 

चीनले पनि प्रत्युत्तरमा भनेको छ, ‘अमेरिकाको यो कदम दुई देश र नागरिकको हितमा छैन । अमेरिकाले आयात शुल्क बढाए चीन पनि जवाफी प्रहार गर्न बाध्य हुनेछ ।’

चाइना मोबाइल चीनको सरकारी दूरसञ्चार कम्पनी हो । एफसीसीका अध्यक्ष अजीत वरदराज पाईका अनुसार, राष्ट्रिय सुरक्षा र दुई देशबीच जारी व्यापार युद्धबाट जन्मिएको तनावलाई मध्यनजर गर्दै बिहीबार यसविरुद्ध मतदान भएको थियो । 

‘अध्यक्ष पाईका अनुसार, चीनले आफ्नो मोबाइलको माध्यमबाट अमेरिकाको सुरक्षालाई खतरा पुर्‍याउने कोसिस गर्न सक्छ । यसबाहेक यो अमेरिकाको अर्थव्यवस्थाको हितमा पनि छैन,’ न्यूयोर्क टाइम्सको रिपोर्टमा उल्लेख गरिएको छ । 

चीनको मोबाइल कम्पनीले अमेरिकामा प्रवेश पाउनेबित्तिकै संवेदनशील निकायको लागि यो असुरक्षाको विषय हुने पाईले बताएका छन् । 

चाइना मोबाइललाई अमेरिकामा प्रवेश प्रतिबन्ध पछि अब अमेरिकाले चीनको अन्य दुई कम्पनी चाइना टेलिकम र चाइना यूनिकनले पूर्वमा पाएको इजाजातमाथि पनि विचार गर्नेछ । 

अमेरिका चीनसँगको व्यापार घाटा कम गर्न चाहन्छ । अमेरिकाले आफूले उत्पादन गरेको चिनी बजारमा पुर्‍याउन र चीनमा अमेरिकी कम्पनीको स्थायित्वका लागि प्रयास गर्दै आइरहेको छ । यी दुई शक्तिबीचको तनावले विश्वको आर्थिक व्यवस्थामाथि नकारात्मक प्रभाव पर्ने निश्चित छ ।  
  
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया