धरौटीमा रिहा भएका विप्लव नेतृत्वकाे नेकपाका जिल्ला इञ्चार्ज र सेक्रेटरी फेरि पक्राउ

 बैशाख २७, २०७६ शुक्रबार १८:५१:३० | किरण लोहनी

गोरखा - जिल्ला अदालत गोरखाले धरौटीमा रिहा गर्ने आदेश दिएको विप्लव नेतृत्वकाे नेकपाका दुई नेतालाई फेरि पक्राउ गरेको छ । पार्टीका जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई अदालतले पाँच/पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको थियो । 

प्रहरीलाई घाइते बनाएको र बम विस्फोटसम्बन्धी दुई वटा मुद्दामा अनुसन्धानका लागि फेरि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी भोला रावलले बताउनुभयो ।

वैशाख २२ गते पालुङटारबाट नियन्त्रणमा लिने क्रममा सेक्रेटरी भट्टले धकेल्दा एक प्रहरी घाइते भएको उहाँले जानकारी दिनुभयो । धकेलाधकेलका क्रममा भट्ट पनि घाइते भएका थिए । 

यस्तै उनीहरुविरुद्ध बम विस्फोटसम्बन्धी उजुरी पनि दर्ता भएको एसपी रावलले बताउनुभयो । जिल्ला अदालतबाट पक्राऊ आदेश लिएरै भट्ट र कुमाललाई पक्राउ गरिएको उहाँको भनाइ छ । 

प्रहरीले छुट्टाछुट्टै मितिमा पक्राउ गरी राजद्रोहकै मुद्दा चलाइएका पार्टीका विष्णु रिजाल र अञ्जु कुमाल भने पाँच/पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । रिजाल विप्लव नेकपाका जिल्ला जनपरिषद प्रमुख र कुमाल जिल्ला कमिटी सदस्य हुन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया