निम्छरो जर्‍याकजुरुक, ठालु र मुखालु लल्याकलुलुक !

 बैशाख २८, २०७६ शनिबार ९:३१:२१ | मिलन तिमिल्सिना
unn.prixa.net

बाघबाट एक्कासि बिरालो हुनुपर्दा उ खिस्रिक्क थियो । दुःखी थियो । चिन्तित थियो । भावुक थियो । घुँडामुनी टाउको लुकाएर बस्थ्यो । कसैसित शिर ठाडो गरेर कुरा गर्न सक्दैनथियो । किनकी उसलाई सबैले निम्छरो भनेर हेप्थे । केही न कामको लुते भनेर गिज्याउँथे । बसी खान, चल्न चलमलाउनै दिंदैनथिए । 

त्यसो त उ आफैं चलमलाउन पनि खोज्दैन थियो । सक्ने जति गर्न पनि अघि सर्दैन थियो । कसैले केही भन्ने हुन् कि भनेर लजाउँथ्यो । आफ्नो चाला देखेर आफैं दिक्क हुन्थ्यो । आफ्नै आसपास बस्नेहरुसँग रिसाउँथ्यो । पाखुरा सुर्कासुर्की गर्थ्याे । तर पनि उ निम्छरो थियो ।

आफ्नै कारणले हेपाईमा परेको निम्छरो केही दिनदेखि भने एकाएक जागा भएको छ । लल्याकलुलुक भैसकेको उसका हातखुट्टा जुर्मुराएका छन् । बोल्न नसक्ने ओठ फर्फराउन थालेका छन् । कुनामा कुचुक्क कोचिएर बसेको उ फर्‍याकफुरुक गर्दैछ । दायाँबायाँ कसैलाई भेट्नासाथ ढाड सोझिनेगरी गोद्न पाए हुन्थ्यो भनेर दाउ हेर्दैछ । हेर्दाहेर्दै निम्छरोको भाउ बढेको छ ।

बेलाबेला गाईजात्रे प्रहसन भैरहने बानेश्वर हलमा यसपाली जम्माभएका सम्माननीय र माननीयहरुले नै निम्छरोको भाउ बढाएका हुन् । निम्छरोलाई निम्छरो भनिरहन पर्दैन थियो । तर तीन ठूला सम्माननीयमध्ये एक सम्माननीयले निम्छरोलाई भाउ दिदै निम्छरोलाई निम्छरो मात्र भनेन्, सोझै निम्छरो भन्छ पनि भने ।

निम्छरोले केही दिन अघिदेखि ओठ चलाउन थालेको थियो । निम्छराले ओठ चलाएकोसमेत मन नपराएका बेला त्यसले योपालि मुखै चलाई दियो । ओठ चलेको मन नपर्ने सम्माननीयलाई निम्छरोको मुख चलेको सुन्नु पर्दा जङ चल्यो । त्यसैले निम्छरोले बोलेको वास्ता गर्दिनँ भने । वास्ता नगरे मात्र पुग्थ्यो, वास्ता गर्दिनँ भनेर भनिरहनै पर्दैन थियो । तर सम्माननीयले वास्ता गर्दिनँ भनीभनी निम्छरोको वास्ता गरे । भाउ दिन्नँ भन्दाभन्दै निम्छरोलाई भाउ दिए ।

बानेश्वरको बाटोमा माननीयहरुले मानमर्दन गर्लान् भन्ने डर । तर सम्माननीय र माननीयहरुलाई  तपाईं हाम्रो  वास्ता गर्ने फुर्सद कहाँ नै मिल्दो  रहेछ र ?

सम्माननीय आफैंले भाउ बढाएपछि निम्छरो यसै पनि छोइनसक्नुको हुनै नै भयो । ठालु सम्माननीयले निम्छरो भनेर चलाउनेबित्तिकै निम्छरो चलमलाउन थाल्यो । बुरुकबुरुक उफ्रन थाल्यो । निम्छरोलाई निम्छरो भनेर गाली गर्ने भनेर पाखुरा सुर्क्याे । उसै त निम्छरो, त्यसमाथि उस्ले पाखुरा सुर्कन र सास फेर्ने मुखबाट आगो फुक्न थालेपछि सम्माननीयको झन् पारो तात्यो । ‘ल आइज तँ ठूलो कि म ठूलो’ भन्ने पारामा उनी सम्माननीय बुरुकबुरुक गर्न थाले । 

अघिल्तिर बलियाबाँगा सम्मानीय बुरुकबुरुक, पछिल्तिर लल्याकलुलुक भैसकेका निम्छराहरु जर्‍याकजुरुक । जर्‍याकजुरुक हुन थालेका निम्छरोको अघिल्तिर बलियाबाँगा सम्माननीयको केहीजोर चलेन । प्रहसन देखाउने ठाउँका अर्का सम्माननीय झन् लल्याकलुलुक भए । एकजना सम्माननीयको मान राख्न खोज्दा थुप्रै निम्छरो माननीयहरुले अपमानित भएको महसुस गरे । 

निम्छरो माननीयको मान कसरी राख्नु ? ठालु सम्माननीयलाई कसरी अपमान गर्नु ? हेर्दाहेर्दै उनले तोरीको फूल देख्न थाले । अनि सम्माननीय र माननीयहरुलाई मान्य भन्न थाले । आफूले भनेको मान भनेर मान्य भनेका होलान्, तर कुनै मान्यहरुले भनेको मानेनन् । बलियाबाँगा सम्माननीय कुर्लंदै गए । निम्छरा माननीय पनि उफ्रँदै गए । बिचरा ठूलामुख लल्याकलुलुकभए ।

बेलाबेला पालैसँग लल्याकलुलुक, जर्‍याकजुरुक, फत्याकफुतुक र फर्‍याकफुरुक गरिरहने उनीहरु सबै माननीय र सम्माननीय । तपाईं हामीले मान्नै नपर्ने । त्यसै माननीय । त्यतिले मात्र नपुगेर सम्माननीय । यतै माननीय, उतै माननीय । यतै सम्माननीय, उतै सम्माननीय । बालुवाटार र शितलनिवास वरपर हिँड्दा सम्माननीयहरुले समाउलान् भन्ने डर ।

बानेश्वरको बाटोमा माननीयहरुले मानमर्दन गर्लान् भन्ने डर । तर सम्माननीय र माननीयहरुलाई  तपाईं हाम्रो  वास्ता गर्ने फुर्सद कहाँ नै मिल्दो  रहेछ र ? उनीहरु आफैं सम्माननीय र माननीयबाट खस्दै बेलाबेला अमान्य बन्ने काममा ब्यस्त छन् । पछिल्लोपटक देखिएको ठालु र निम्छरो व्यवहार र अभिव्यक्तिले मान्यहरु अमान्यजस्तै भएका छन् ।

पछिल्लो निम्छरो मसलाले बलियाबाँगा साइड इफेक्ट भएर लल्याकलुलुक भएका छन् । लल्याकलुलुक भैसकेको निम्छरोलाई जर्‍याकजुरुक बनाएको छ ।

हुन त निम्छरो पछिल्लोपटक आएको सु/दुर्गन्धित मसला मात्रै हो । बेलाबेला रमाइलोको लागि मान्यहरुले यस्ता मसला उत्पादन गर्दै आएका छन् । घर चलाउने भान्सेलाई तरकारीमा हाल्ने मसला पाउन गाह्रो होला । तर देश चलाउने भान्से र भान्से हुन नपाएर छटपटिएकाहरुलाई चाहिँ जताततै मसलै मसलाको असरल्ल छ । 

बेलाबेला उनीहरु थरिथरिका मसला बनाउँछन् । आफू मसलाको स्वाद लिन्छन् र अर्कोलाई गन्ध सुघाउँछन् । त्यही मसला एउटालाई सुगन्ध हुन्छ, अर्कोलाई दुर्गन्ध ।

पहिले नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ नामको मसला आयो । यसलाई सत्तापक्षका केहीले सुगन्ध ठाने, सत्तापक्षकै अरु र विपक्षीले दुर्गन्ध भने । यो मसलाको राग बाँकी नै थियो । फेरि संसदमा ‘निम्छरो’ नामको मसला भित्रियो । आफैसँग नाम मिलेकाले विपक्षी मान्यलाई यसले भतभत जलायो । हुँदाहुँदै ठालु र मुखालु दुवै सम्माननीयलाई पनि साइड इफेक्ट गर्यो ।

पछिल्लो निम्छरो मसलाले बलियाबाँगा साइड इफेक्ट भएर लल्याकलुलुक भएका छन् । लल्याकलुलुक भैसकेको निम्छरोलाई जर्‍याकजुरुक बनाएको छ । तर निम्छरो मसला पनि धेरै दिन टिक्दैन । फेरि लल्याकलुलुक भएकाहरु फर्‍याकफुरुक गर्न र जर्‍याकजुरुक हुने नयाँ मसलाको खोजीमा लागेका छन् । त्यो मसलाले काम गर्‍याे भने लल्याकलुलुकबाट जर्‍याकजुरुक भएको निम्छरो फेरि फत्याकफुतुक हुन सक्छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया