आईपीएलको फाइनल आज : मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा, कसले जित्ला उपाधि ?

 बैशाख २९, २०७६ आइतबार ९:१६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईपीएल क्रिकेटको उपाधि भिडन्त आइतबार हुँदैछ । फाइनलमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्स र रोहित शर्माको मुम्बई इण्डियन्स प्रतिस्पर्धा गर्दैछन् ।

मुम्बईले चेन्नईलाई पहिलो क्वालिफायरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने चेन्नईले दोस्रो क्वालियफायरमा दिल्ली क्यापिटल्सलाई निराश बनाउँदै फाइनलमा पुनः मुम्बईसँगको भेट पक्का गरेको हो । 

यी दुवै टिम आईपीएल क्रिकेटका सबैभन्दा सफल टिम भएकाले आजको उपाधि भिडन्त रोमाञ्चक बन्ने अपेक्षा गरिएको हो । यी दुई टिम अहिलेसम्म तीन पटक उपाधि भिडन्त गर्दा दुई पटक मुम्बई इण्डियन्सले जितेको छ भने एक पटक मात्रै चेन्नईले हात पारेको छ । 

समग्रमा दुवै टिमले तीन तीन पटक उपाधिको स्वाद पनि चाखिसकेका छन् । चेन्नईले सर्वाधिक ८ पटक फाइनल खेल्दैछ भने मुम्बईले यस संस्करण सहित पाँचौ पटक फाइनल खेल्न लागेको हो । विगतको आंकडा हेर्दा चेन्नईको पक्षमा बलियो देखिए पनि जारी सिजनमा भने मुम्बईले नै चेन्नईलाई पछि पारेको छ । 

यस सिजनमा तीन पटक खेल्दा तिनै पटक नै मुम्बईले बाजी मारेको थियो । चेन्नईले २०१० र २०११ मा लगातार दुई पटक उपाधि जितेको थियो भने त्यसपछि उपाधि जित्न २०१८ कुर्नु परेको थियो । उता मुम्बईले पहिलो उपाधिको स्वाद भने पहिलो पटक २०१३ मा चाखेको थियो भने १५ र १७ मा गरि तेस्रो पटक उपाधि जितेको थियो ।

मुम्बईका रोहित शर्मा, हार्दिक पाण्ड्या, सूर्य कुमार यादव, क्वीन्टन डि कक, किरन पोलार्ड र जसप्रित बुमराह जारी प्रतियोगितामा फर्ममा रहेका छन् । यी खेलाडीको प्रदर्शनले उपाधि माथि प्रभाव पार्ने निश्चित जस्तै छ । मुम्बईमा युवा खेलाडीहरुको बाहुल्यता रहेकोमा चेन्नई भने अनुभवि खेलाडीको समिश्रणमा रहेको छ । 

जसमा भारतीय टिमका पूर्व कप्तान समेत रहेका धोनीको म्याच फिनिसरको भूमिका अविष्मरणीय हुने छ । यसैगरी सुरेश रैना, फाफ डू प्लेसिस, शेन वाट्सन, ड्वान ब्राभो, हरभजन सिंह, इमरान ताहिरले पनि जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । फाइनल खेल आइतबार राति पौने ८ बजे हैदराबादमा सुरु हुने छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया