दलित भएकैले कक्षामा बस्न नपाएका दियालीको संगीत मोह(भिडियो कथा)

 बैशाख २९, २०७६ आइतबार १६:४९:३ | सन्जिता देवकोटा

इलाम – ८१ वर्षका राम दियाली संगीत सिक्दै हुनुहुन्छ । उहाँसँग संगीतको सुमधुर कुरा गरिरहँदा आफ्नो बाल्यकाल सम्झनुभयो । ‘त्यो समय सम्झँदा त मलाई अहिले पनि बेकार जन्मिएछु भन्ने लाग्छ’ उहाँले पछुतो मानेझैं गरी भन्नुभयो ।पछुतो नहोस् पनि किन ! जुनबेला पढ्छु भन्दा पनि पढ्न पाइएन । उहाँको पढ्ने रहर ।

पढ्नका लागि हाईस्कुल पनि जानुभयो । तर कक्षा कोठामा बसेर पढ्न पाउनुभएन । ‘त्योबेला दलितका छोराछोरीले कक्षा कोठामा अरुसँगै बसेर पढ्न पाउँदैन थिएँ,’ राम त्यो क्षण सम्झँदै भन्नुहुन्छ, ‘बलेसीमा बसेर पढ्नु पर्ने, घाम लाग्दा त ठिकै हो पानी पर्दा शरीर मात्र हैन किताब पनि भिज्थ्यो, अनि मैले प्राइभेट पढ्न थालें ।’ 
बिहानको समयमा पढाइ हुन्थ्यो । दिनभरी फुर्सद । त्यहीबेला मिल्यो बासुरी बजाउने मौका । जब उहाँले प्राइभेट पढ्न थाल्नुभयो, तब उहाँको मन संगीतमा बस्यो ।

‘मेरो एक जना साथीलाई पनि खुब बाँसुरी बजाउन मन लाग्ने, अनि हामी बाँस खोपेर बजाउँथ्यौं, बाँसुरी किन्ने त पैसा थिएन’ रामले हाँस्दै त्योबेला सम्झनुभयो ।

बाँस खोपेर बनाएको बाँसुरी अन्दाजकै भरमा बजाउनुहुन्थ्यो । न सुर मिल्थ्यो, न ताल । दिदी दार्जीलिङबाट आएका बेला एउटा बाँसुरी ल्याइदिइन । अनि साथमा बाँसुरी भयो । 

‘छिट्टै दाँत झर्छ भनेर बाँसुरी बजाउन छाडिदिएँ’

इलाम बजारका एक प्रहरी हवल्दार बाँसुरी बजाउन सिपालु थिए । २००७ सालको क्रान्तिपछि उनी बजारमा खुब डुल्थे । बाँसुरी बजाउन सिपालु छन् भन्ने थाहा पाएदेखि राम प्रत्येक दिन हवल्दार बजार झर्ने बाटो कुर्नुहुन्थ्यो । र नमस्कार गर्नु हुन्थ्यो । 

‘म सधैं नमस्कार त गर्थें नै, त्यही भएर होला एकदिन उहाँले मलाई अलि पर लग्नुभयो र के चाहियो भन्ने हिसाबले सोध्नुभयो,’ राम सुनाउनुहुन्छ, ‘मैले बाँसुरी बजाउन सिकाइदिनुन भनें, उहाँले बजाउने तरिका सिकाइदिनुभयो, उहाँकै मेथड अनुसार मैले निकै राम्रो बाँसुरी बजाएँ ।’

निकै प्रयासपछि उहाँले राम्रो बाँसुरी बजाउन थाल्नुभएको थियो । राम्ररी बाँसुरी बजाउन जानेको झण्डै तीन वर्षजति भएको थियो । उहाँलाई कसैले सुनायो, ‘बाँसुरी बजाउने मानिस् छिट्टै मर्छ, दाँत पनि चाँडै झर्छ ।’

त्यो बेला भने रामको बाँसुरीको मोहलाई जीवनको मायाले जित्यो । रामलाई लाग्यो, ‘बाँसुरी बजाएकै कारण छिट्टै मरियो भने के गर्नु ? बल्ल पाएको जिन्दगी ।’ त्यो कुरा सुनेदेखि उहाँले बासुरी बजाउन छाडिदिनुभयो ।

बाँसुरीमा बसेको मन छिटो मरिने त्रासले मर्‍यो । तर संगीतप्रतिको मोह भने मरेन । रामले हारमोनियम बजाउन सिक्नुभयो । ‘मेरो एक जना साथीले हारमोनियम बजाउनुहुन्थ्यो, उहाँहरुले बजाएपछि मलाई पनि एकछिन यसो छुन दिने, त्यहीबाट हारमोनियम बजाउन सिकेको हुँ,’ राम हारमोनियम सिक्दाको क्षण सम्झनुहुन्छ । 
दिदीले किनेर ल्याइदिएको बाँसुरी थन्काएर रामले दार्जीलिङबाट हारमोनियम किनेर ल्याउनुभयो । बिहान प्राइभेट स्कुल पढ्यो, दिउँसो बुवालाई काममा सघायो, अनि साँझ खाना खाएपछि राति अबेरसम्म पनि हारमोनियम बजायो । बजाउने तौरतारिका थाहा थिएन । तर नबजाई सिकिंदैन भन्ने लाग्थ्यो रामलाई । त्यसैले औंलाहरु नगल्दासम्म बजाइरहनुहुन्थ्यो । 

‘हरेराम, ओम जयजगदिश्वरको लयमा बजाउन कोशिस गर्थें,’ राम भन्नुहुन्छ, ‘हातहरु पुरै बाउँडिन्थ्यो, जति बजाए पनि मेथड थाहा नहुँदासम्म बजाउनुको अर्थ नहुने रहेछ ।’

हारमोनियममा प्राण थियो रामको । निकै प्रयास गरेर बजाउन सिक्नुभयो । हारमोनियम मात्र हैन, उहाँले म्यान्डोलियन पनि बजाउन सिक्नुभयो । 

संगीतमा मन थियो । तर त्यसलाई उहाँले आफ्नो भविष्य बनाउन सक्नुभएन । बजाउन सिक्नुभयो । गीत पनि लेख्नुभयो । तर गाउन सक्नुभएन । ‘कसले गाउला र बजाउने, फेरि बाजा बजाएर मात्र पेट भरिनेवाला थिएन,’ रामको मन बिस्तारै मोडिन थाल्यो । 

मन र धन नमिल्दाको उतारचढाव

मनमा संगीतप्रतिको मोह गडेको थियो । तर मन मात्र भएर हैन जीवन चलाउन धन पनि चाहिन्छ । राम भन्नुहुन्छ, ‘हाइस्कुल पढ्न पाइएन, प्राइभेटमा त्यस्तै चार कक्षासम्म पढें अनि बुवाकै पेशालाई अघि बढाएँ ।’

बुवाको सुनचाँदी व्यवसाय थियो । रामले त्यही व्यवसायलाई सम्हालेर आफ्नो जीवन पनि अघि बढाउनुभयो । 

रामले जीवनमा अनेक उतारचढाव आयो । तीन वटा बिहे गर्नुभयो । पहिलो बाल बिवाह थियो । १४ वर्षको उमेरमा बुवाआमाले रहरमा छोराको बिहे गरिदिनुभयो । तर पहिलो बिहे असफल भयो । 

रामले २१ वर्षको उमेरमा प्रेम विवाह गर्नुभयो । बिहे भएको १२ वर्षसम्म पनि बालबच्चा भएनन् । त्यसपछि सालीसँग तेस्रो बिहे गर्नुभयो । तर सालीलाई घरमा भित्र्याएपछि भने दुवै श्रीमतीबाट बालबच्चा भए । रामको अहिले ६ जना छोराछोरी छन् ।

‘मैले सालीलाई भगाएर ल्याएँ,’ राम भन्नुहुन्छ, ‘त्यो मेरो बाध्यता थियो, तर प्रेम पनि थियो, प्रेम यस्तो चिज रहेछ, जहाँ बाँधिएपछि छुट्टिन गाह्रो ।’

रामलाई अहिले लाग्छ संगीतसँग पनि प्रेम थियो । त्यसैले पछ्याइरहनुभयो । जोडिइरहनुभयो । व्यवसाय र परिवारको जिम्मेवारी थियो । संगीत सिक्न र त्यसैलाई आफ्नो भविष्य बनाउन उहाँ घर बाहिर निस्कन पाउनुभएन । घरमै बसेर पनि उहाँले प्रयास भने गरिहनुभयो । 

औषधिजस्तै संगीत

संगीत रामको शोख थियो । सपना थियो । जीवनमा अनेक मोड आए, गए । तर उहाँको मनमा संगीतप्रतिको मोह अहिले पनि उस्तै छ । पहिले घर परिवारको जिम्मेवारी थियो । तर अहिले यी सबै जिम्मेवारी छैनन् । 

८१ वर्षीय राम हिजोआज फेरि संगीत सिक्न थाल्नुभएको छ । ‘बजाउन त धेरथोर जानेको हो तर त्यससँग सम्बन्धित ज्ञान पनि त चाहियो नि,’ संगीत सिक्नुको कारण बताउनुहुन्छ राम । 

जता गए पनि फुर्सद अहिले रामलाई । त्यसैले संगीत सिक्न उहाँ दार्जीलिङ धाइरहनुभएको छ । राम भन्नुहुन्छ, ‘पहिलो पो कामको कारणले संगीत सिक्न पाइनँ, अब बुढेशकालमा जे गरे पनि त भयो, घरमा बसिरहनुभन्दा यतै मन भुलाउन बेश ।’

दार्जीलिङमा राम म्याण्डोलियन सिक्नुहुन्छ । दार्जीलिङका जियोन प्रधानसँग उहाँ म्याडोलियनमा ‘नोटेसन’ सिक्दै हुनुहुन्छ । 

घरमा भएका बेला उहाँसँग कतिपय संगीत सिक्न आउँछन् । व्यवसायिक रुपमा त उहाँ सिकाउनुहुन्न । तर आफूले जानेको बाजा रामले समय मिलेका बेला सिकाइदिनुहुन्छ । 

संगीत रामका लागि औषधि हो । ‘घाम तापेर कति बस्नु, यसो बाजा बजायो, ज्यान पनि तन्दरुस्त हुन्छ, मन पनि चङ्गा हुन्छ, संगीतले त मलाई दवाईकै काम गरेको छ,’ राम हाँस्दै भन्नुहुन्छ, ‘पसिना खलखली आउँछ, पसिनासँगै हैरानी पनि बग्छ ।’

रामलाई सानो छँदा बुवाआमाले संगीत त दुखिया काम हो, नगर्नु भन्नुहुन्थ्यो,’ राम भन्नुहुन्छ, ‘मन बसेपछि त बसिगयो नि, यो त नशा हो ।’

स्कुल पढ्न नपाएपछि संगीततिर मोडिएका रामले हिजोआज भ्वाइलिन, म्यान्डोलिनयन, बाँसुरी, हार्मोनियम लगायतका बाजा बजाउनुहुन्छ । इलाम बजारमा हुने साँगीतिक कार्यक्रममा अवसर दिए यिनै बाजा बजादिनुहुन्छ । 

उमेरले ८१ लागे पनि राम उमेरजस्तो पाको देखिनुहुन्न । धेरैले रामको उमेर पत्याउँदैनन् । राम भने आफूलाई उमेरजस्तो पाको नदेखिनुको श्रेय पनि संगीतलाई नै दिनुहुन्छ । भन्नुहुन्छ, ‘चाहनालाई उमेरले नछेक्ने रहेछ, म त बाचुञ्जेल संगीतकै साधना गर्ने हो ।’
 

अन्तिम अपडेट: जेठ ३, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया