स्पेनिस ला लिगा : बार्सिलोना र रियल सोसियडाड विजयी

 बैशाख ३०, २०७६ सोमबार ६:२९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगामा बार्सिलोनाले गेटाफेमाथि जित निकाल्दा रियल मड्रिड रियल सोसियडाडसँग ३–१ ले पराजित भएको छ ।

लिगको उपाधि जितिसकेको बार्सिलोनाले गेटाफेलाई २–० ले हरायो । बार्सिलोनाको जितमा अर्टुरो भिडलले एक गोल गरे भने अर्को एक गोल गेटाफेका खेलाडीले आत्मघाती गरेका थिए ।

३९औं मिनेटा भिडलको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ८९औं मिनेटमा डेन डाकोनामले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो ।

लिगमा बार्सिलोनाले ८६ अंक बनाएको छ । एक खेल खेल्न बाँकी रहँदा लिगको शीर्ष तीन स्थानको टुंगो लागिसकेको छ । ७५ अंक बनाउँदै एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।

३७औं चरणको खेलमा एट्लेटिको मड्रिड सेभियासँग बराबरीमा रोकियो । यो बराबरी सेभियाका लागि भने निकै महत्वपूर्ण रह्यो । उसले ५६ अंक बनाएको छ । शीर्ष चारमा रहेर अर्को सिजनको च्याम्पियन्स लिग खेल्नका लागि सेभियाको यो अंक महत्वपूर्ण बन्यो ।

एट्लेटिको मड्रिडका लागि कोकेले ३०औं मिनेटमा गोल गरेका थिए । ७०औं मिनेटमा सेभियाका लागि पाब्लो सारावियाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

रियल मड्रिडले भने रियल सोसियडाडसँग ३–१ को पराजय भोगेको छ । सोसियडाडको मैदानमा भएको खेलमा रियलले एक गोलको अग्रता जोगाउन सकेन ।

छैटौं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा मिकेल मेरिनोले सोसियडाडका लागि गोल गर्दै खेल बराबरीम पुर्‍याए ।

दोस्रो हाफमा रियल सोसियडाडले दुई गोल थप्दा रियल मड्रिड स्तब्ध बन्यो । ५७औं मिनेटमा जोसेबा जाल्डुआ र ६७औं मिनेटमा एन्डर बारेनेक्साले गोल गर्दै सोसियडाडलाई जित दिलाए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया