‘दिन बितेको थाहा हुन्छ, वर्ष बितेको चाहिँ थाहै नहुँदो रहेछ’ (भिडियो)

 बैशाख ३०, २०७६ सोमबार ७:२९:२३ | उज्यालो सहकर्मी

 

काठमाण्डाै - झट्ट हेर्दा उहाँलाई एकसय वर्ष त के, ८० वर्ष कटेको मान्छेजस्तै देखिंदैन । लौरो नटेकी ठमठम हिँड्नुहुन्छ । एकपटक देखेको मान्छेलाई प्रष्ट चिन्नुहुन्छ । चश्मा नलगाई पढ्न सक्नुहुन्छ । दाँत उस्तै बलिया छन् । पुराना कुरा कोट्याउनेबित्तिकै खरर त्यसबारे भन्न सक्नुहुन्छ । बोलाएको ठाउँमा पुग्नुहुन्छ र जोशिलो पारामा कुरा गर्नुहुन्छ । 

जोश, जाँगर र मनले अझै तन्नेरी वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी सोमबारदेखि सय वर्षमा पाइला टेक्नुभयो । ‘थाहै नपाई ख्यालख्यालमै वर्ष बिते, वर्ष बितेको थाहै नपाई सय वर्ष पो भैसकेछ’, आफ्नो जन्मदिनको प्रसंग कोट्याउँदा उहाँले भन्नुभयो, ‘म सय वर्षमा पुगेँ भन्दा आफैलाई आश्चर्य लाग्छ, मसँगैका कतिपय बितिसके ।’

उहाँ आफैलाई त आश्चर्य लाग्छ भने अरुलाई झन् आश्चर्य नलाग्ने कुरै भएन । सय वर्षको उमेरमा पनि उस्तै स्वस्थ, जोश, जाँगर कसरी भयो होला भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘सानो छँदा आमाको दुध धेरै खाएर होला ।’ मुस्कुराउँदै थप्नुभयो, ‘चिन्ता लिन्नँ, जे छ त्यसमै खुशी हुन्छु, त्यसैले पनि मलाई निरोगी र हट्टाकट्टा बनाएको होला ।’

नेपाली लोक संस्कृति, कला र साहित्यको योगदानमा महत्वपूर्ण भूमिका खेल्नुभएका जोशी आफैंमा जिउँदो इतिहास हुनुहुन्छ । तीन पटक मदन पुरस्कार पाउने उहाँ मात्रै एक्लो व्यक्ति हुनुहुन्छ । जागिरे छँदा तनहुँ र लमजुङ पुग्दा त्यहाँको लोक भाका र परिवेशले उहाँको जीवनमा नयाँ मोड ल्याइदिनुभयो ।

पंधेरा, मेलापात, देउराली, चौतारीमा दोहोरी गीत गाइरहेका र भजन चुड्का गाइरहेकाहरुको प्रेरणाले लोक संस्कृति खोज्न प्रेरित गर्यो । 

‘के खायो रेलिमाई, के लाग्यो होला ?
मेरो माया रेलिमाई जुरेली चरीले 
आजभोलि रेलिमाई किन हो किन ?
मेरो माया रेलिमाई जुरेली चरीले ।’

यही ठेट गीतले आफ्नो लोक संस्कृतिको यात्रा सुरु भएको उहाँले सम्झनुभयो । संकलित गीतहरु समावेश गरेर ‘हाम्रो लोक संस्कृति’ नामक ग्रन्थ तयार भयो । यही ग्रन्थले २०१३ सालमा मदन पुरस्कार प्राप्त गर्यो । दोस्रो पटक २०१७ सालमा ‘राष्ट्रिय मुद्रा’ नामक ग्रन्थ र तेस्रो पटक २०२८ सालमा ‘कर्णाली लोक संस्कृति’ नामक ग्रन्थले मदन पुरस्कार पाएको थियो ।

आफ्नो सय वर्षे जीवनका धेरै समय लोक संस्कृति, कला र साहित्यको साधनामा बिताउनुभएका जोशीलाई कर्णालीको सिन्जामा पुगेर गरेको खोज अनुसन्धान सबैभन्दा बढी प्रिय लाग्छ । ‘नेपाली भाषाको व्युत्पत्ति थलो सिन्जा खोला उपत्यका गएको र त्यहाँ गरेको कामको प्रभाव मेरो जीवनमा बढी परेको छ’ उहाँ सम्झनुहुन्छ ।

जोशीले नेवारी भाषामा पनि कला, साहित्य र संस्कृतिका क्षेत्रमा अविश्रान्त साधना गर्नु भएको छ ।  नेवारी भाषाको महाकाव्य ‘जयप्रकाश’ का लागि उहाँले ‘श्रेष्ठ सिरपा’ पुरस्कार प्राप्त गर्नु भएको छ । 

१०० वर्षे उमेरमा पनि जोशी कला साहित्य, भाषा र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनमा निरन्तर लागिरहनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया