मिडिया काउन्सिल विधेयक प्रेसमैत्री बनाउन सञ्चारमन्त्रीसँग छलफल गर्छु : सभामुख महरा

 बैशाख ३०, २०७६ सोमबार ११:३३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्नका लागि सभामुखको ध्यानाकर्षण गराएको छ । 

महासंघको टोलीले सोमबार सभामुख कृष्णबहादुर महरालाई सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा भेटेर प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको विधेयक रोक्न ध्यानाकर्षण गराएका हुन् ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिलका पदाधिकारी नियुक्ति तथा पदच्युत, जरिवानाको व्यवस्था तथा काउन्सिललाई सरकारले निर्देशन दिन सक्ने जस्ता व्यवस्थाले काउन्सिललाई स्वायत्त नभई पूर्णरुपमा सरकारको नियन्त्रणमा राख्न खाेजेकाले ती व्यवस्था हटाउनुपर्ने माग गर्नुभयो ।  

उहाँले आफुहरुको आन्दोलन सरकार विरुद्ध र लोकतन्त्र विरुद्ध नभई प्रेस स्वतन्त्रताको पक्षमा भएको स्पष्ट पार्नुभयो ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडिया काउन्सिललाई सबै किसिमको नियन्त्रण गर्ने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै त्यस किसिमका व्यवस्था हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभयो ।  

महासंघको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख महराले विधेयकबारे आफूले संचारमन्त्रीसँग छलफल गर्ने भन्दै राष्ट्रियसभाका अध्यक्ष र विषयगत समितिका सभापतिलाई भेट्न सुझाव दिनुभयो ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै चरणवद्ध आन्दोलन घोषणा गरेको महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिँदै आएको छ ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया